Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

न्यायाधीशकी श्रीमतीको स्कुटरमा ब्राउनसुगर !

न्यायाधीशकी श्रीमतीको स्कुटरमा ब्राउनसुगर !

दाङ । प्रहरीले लागु औषधीसहित एक महिलालाई आइतबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीया तुलसा पोखरेललाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकी तुलसा न्यायाधीशकी श्रीमती भएको खुलेको छ ।

उनी उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती हुन् । तुलसाको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कीबाट २ दशमलव २२ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जानकारी दिएको छ । आफ्नै घरमा पार्किङ गरेर राखेको स्कुटरको डिकीमा ब्राउन सुगर भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए ।

लागुऔषध बरामद गर्दा उनी घरमा नै थिइन् । उनी लागु औषध प्रयोगकर्ता वा कारोबारी के हुन् भन्ने खुल्न सकेको छैन । उनले अहिलेसम्म लागुऔषध आफ्नो भएको स्वीकार गरिसकेकी छैनन् । तुलसाले प्रहरीले सोधेको कुरामा जवाफ नदिने बरु उल्टै ‘प्रहरीको हुर्मत’ लिने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला सदस्यसमेत हुन् ।