Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार
मौलाउँदै तस्करी

अवैध रुपमा नेपालगन्जतर्फ ल्याउँदै गरेको दुई ट्रक जडिबुटी सल्लीबजारमा जफत

अवैध रुपमा नेपालगन्जतर्फ ल्याउँदै गरेको दुई ट्रक जडिबुटी सल्लीबजारमा जफत

सल्यान । सल्यान प्रहरीले भारी मात्रामा अवैध जडिबुटी नियन्त्रणमा लिएको छ । जाजरकोटबाट नेपालगन्ज जाँदै गरेका दुई ट्रकलाई सल्यान सल्लीबजारमा जाँच गर्दा ठूलो परिणामको जडिबुटी फेला परेको हो ।

ती ट्रकबाट ७ हजार ७५८ किलो जडीबुटी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा छुट पुर्जी नै नभएको जडिबुटी भेटिएको प्रहरीले जानकारी दिएको छ । छुट पुर्जी बेगरको सबै जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुगन्धवाला (समायो), विषफेज, अमला, काउलो र चुत्रोका बोक्रा गरी ७ हजार ७५८ किलो जडिबुटी अवैध तरिकाले पैठारी हुन थालेको अवस्थामा फेला पारेको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी मनोज शर्मा लम्सालले जानकारी दिए । जडिबुटी व्यापारी रामप्रसाद चौलागाईं सम्पर्कविहीन भएका छन् । ट्रकचालक तुलाराम थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।