Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार
नेपाल प्रहरीको ‘पुलिसिङ’मै प्रश्न

ड्युटीका प्रहरी ‘मदिरामा लठ्ठ’, नागरिकसँगको व्यवहार ‘त्रासदीपूर्ण’

ड्युटीका प्रहरी ‘मदिरामा लठ्ठ’, नागरिकसँगको व्यवहार ‘त्रासदीपूर्ण’
नेपालगन्जको पुष्पलाल चौक । फाइल तस्वीर

बाँके । नेपालगन्जमा साँझ करिब ११ बजेसम्म चलहपहल कायमै रहन्छ । यहाँका प्रत्येक चोकमा प्रहरी बिट राखिएका छन् । ती प्रहरी बिट कुनै खाली हुन्छन् भने कुनैमा मात्र प्रहरीले ड्युटी गरिरहेको देखिन्छ । साँझपख प्रहरी बिट आसपास ड्युटीमा खटिएका प्रहरीको व्यवहार भने नागरिकमैत्री देखिँदैन ।

बुधबार साँझ डुयुटीमा रहेका प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ मोटरसाइकलमा हिँडिरहेका पत्रकार काशीराम शर्मालाई बिनाकारण अपसब्द प्रयोग गर्दै ‘आमागाली’ गरे । त्यहाँ न चेकजाँच चलिरहेको थियो, न त चालकले कहीँकतै अवरोध गरेका थिए । उनी आफ्नै सुरमा घरतर्फ फर्किरहेका थिए ।

पोशाकमै रहेका प्रहरीले एकाएक अपशब्द प्रयोग गर्दै गाली गरेपछि उनको मोटरसाइकल रोकियो । तर, ती प्रहरी गाली गरेर नजिकै रहेको प्रहरी व्यायमशालातिर अघि बढे । उनको पहिचान हुन सकेन । पुष्पलाल चौकमा वडा प्रहरी कार्यालय मातहत रहेको क्षेत्रीय विद्युत प्राधिकरणमा रहेको प्रहरी पोष्टबाट ड्युडीमा खटाइँदै आएको छ ।

त्यस विषयमा बाँकेका प्रहरी प्रमूख ओमबहादुर रानालाई तुरुन्तै जानकारी गराए पनि उनले बुझेर खबर गर्ने बताए पनि त्यसपछि प्रहरी प्रमूखले फोन उठाउन छाडे । नेपाल प्रहरीले केही वर्ष अघिमात्र ‘मुस्कानसहितको सेवा’ र ‘प्रहरी मेरो साथी’जस्ता अभियान चलाए पनि प्रहरीको व्यवहार नागरिकमैत्री नभएर ‘त्रासदीपूर्ण’ रहेको छ ।

‘प्रहरी मेरो साथी’ र ‘मुस्कानसहितको प्रहरी सेवा’ले प्रहरी संगठनभित्रको व्यवहारमा कुनै सुधार आएको छैन । अझ पोशाकमै मदिरा सेवन गरी नेपालगन्जका विभिन्न स्थानमा रहेका बिटमा प्रहरी ड्युटी बस्ने गरेका छन् । प्रहरीले ड्युटीका बेला प्रहरी पोशाकमै रक्सी सेवन गर्दै अपशब्द प्रयोग गर्दा सिंगो प्रहरी संगठनकै बदनाम भएको छ ।

पुष्पलाल चौकमा ड्युटीमा रहेका प्रहरीको अभद्र व्यवहार आसपासका व्यवसायीहरुले समेत पटकपटक भोग्दै आएको नाम नबताउने सर्तमा पुष्पलाल चौक नजिकै व्यापार गर्दै आएका एक जना व्यवयासीले जानकारी दिए । उनले भने, ‘रिचार्ज कार्ड नदिँदा धेरै पटक अभद्र व्यवहार भोगेको छु, बर्दीको प्रहरीसँग निहुँ खोज्न डर लाग्छ । एक दुई सयको रिचार्ज दियो आनन्द ।’

सर्वसाधारणले रक्सी सेवन गरी सवारी साधन चलाए उसलाई प्रहरीले कारबाही गर्छ । तर प्रहरीले उल्टै ड्युटीको समयमा रक्सी खाएर मात्तिँदा चाहिँ के हुन्छ ? सर्वसाधारणको प्रश्न छ । वडा प्रहरी कार्यालय नेपालगन्ज मातहतका प्रहरी बर्दीमै मदिरा सेवन गरी ड्युटी गर्ने गरेको भए पनि यसविरुद्ध आफुहरू बोल्न नसकेको पुष्पलाल चौकका व्यवसायीको दुखेसो गर्छन् ।

यस विषयमा वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक डिल्ली खड्कासँग बुझ्न खोज्दा उनको मोवाइलमा सम्पर्क हुन सकेन । जनताको सेवामा खटिने वडा प्रहरी कार्यालयका प्रहरीहरूबाट उल्टै जनतालाई दुख दिने गरेको नेपालगन्ज उपमहानगरपालिका–४, बसपार्क निवासी प्रमोद भण्डारी बताउँछन् ।

ड्युटीमै प्रहरी पोसाकमा रक्सी खाँदै हिँड्ने प्रहरीलाई कडा कारवाही हुनुपर्ने माग गर्दै भण्डारीले नगरक्षेत्रमा खटिएका प्रहरीबाट विभिन्न बहानामा सर्वसाधारणहरुले दुख भोग्नुपरेको बताए । उनले भने, नागरिकको करबाट पालिएको प्रहरी नागरिककै सेवामा समर्पित हुनुपर्छ । रक्सी खाएर बर्दीको रवाफ देखाउने प्रहरीले पूरै सङ्गठन बदनाम गरिरहका छन् ।’

प्रहरीलाई तालिम र प्रशिक्षणका नाममा नेपालमा बर्सेनि करौडौं रकम खर्चिने गरिन्छ, तर नेपाल प्रहरीको ‘पुलिसिङ’प्रति बारम्बार प्रश्न उठ्ने गरेकै छ । नेपाल प्रहरीले केही वर्ष अघिमात्र ‘मुस्कानसहितको सेवा’ र ‘प्रहरी मेरो साथी’ नामक अभियान चलाएको थियो । शायद कुनै दातृ निकायको परियोजना थियो, त्यो ।

जिल्लाहरूमा आकर्षक ब्यानरका साथ प्रभातफेरीदेखि लिएर सदरमुकामका विभिन्न होेटलमा कार्यक्र चल्ने शिलशिला जारी थियो । अचेल त्यस्ता प्रभातफेरी र कार्यक्रमहरू भएको देखिँदैन । ‘प्रहरी मेरो साथी’ र ‘मुस्कानसहितको प्रहरी सेवा’ले प्रहरी संगठनभित्रको व्यवहारमा कुनै सुधार आएको छैन ।

प्रहरीले थर्काउने, हप्काउने र गाली गर्नेजस्ता व्यवहारले प्रहरीको मुस्कानसहितको सेवा ‘त्रासदीपूर्ण’ छ । ‘प्रहरी नागरिकमैत्री छैन, हप्कीदप्की दिएरै आफ्नो रवाफ देखाउन खोज्छ । प्रहरीको यस्तो व्यवहारप्रति नागरिक पीडित छन्,’ नेपालगन्जका एक जना व्यवसायीले भने, ‘प्रहरीले बिनाकारण गाली गर्ने व्यवहारले नेपालगन्जबासी आजित छन् ।’