Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

सुन चाल्न छोडेर बंगुरपालनतिर बलबहादुर, भोकै बस्नुपर्ने दिन सकिए

सुन चाल्न छोडेर बंगुरपालनतिर बलबहादुर, भोकै बस्नुपर्ने दिन सकिए

बर्दिया । नदी किनारका छेउछाउमा बसोबास गर्ने, अनि त्यहि नदी किनारमै सुन खोज्ने, माछा मार्दै जीविकोपार्जन गर्ने सोनाहा जाति । सोनाहा जातिको पुर्ख्यौली पेशा नदी किनारमा बालुवा चालेर सुन खोज्ने र माछा मार्ने नै हो । तर अहिले गुजारा गर्ने तरिका फेरिँदैछ । मेहनत गरिरहेका सोनाहाहरूको जीवन गुजारा टार्नेभन्दा माथिल्लो तहमा उठेको छ, जीवन जिउने सोच र कर्म गर्ने तरिका पनि बदलिँदैछ ।

सोनाहाहरूले पुर्ख्यौली पेशा छोडेर बढी आम्दानी हुने आम पेशा अपनाउन थालेका छन् । परम्परागत पेशा नै अगाले पनि सुन र माछा खोज्न अचेल त्यति सहज छैन । स्थानीय सरकार र प्रशासनले बेला–कूबेला नदीमा माछा मार्न र सुन खोज्न दिँदैन । बर्दियाको राजापुर नगरपालिका–१ र गेरुवा गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ६ मा सोनाहा जातिको बसोबास रहेको छ ।

देशभर सोनाहा जातिको जनसंख्या झण्डै १२ सय हाराहारीमा रहेको यो समुदायका अगुवाहरू बताउँछन् । राजापुर नगरपालिका–१, मुर्गाैवा गाउँका बलबहादुर सोनाहाले नदीमा माछा मार्ने र बगरमा बालुवा चालेर सुन खोज्न छाडिसकेका छन् । उनी अहिले व्यवसायिक ढंगले बंगुरपालन गरिरहेका छन् । बर्दियाको राजापुर मुर्गाैवा र कैलालीको घोडाघोडी दुबैतर्फ उनको बसोबास छ । बलबहादुरकी श्रीमती राधा सोनाहा देशभरमै सोनाहा समुदायबाट पहिलो जनप्रतिनिधि हुन् ।

उनी कैलालीको घोडाघोडी नगरपालिकाकी कार्यपालिका सदस्य चुनिएकी छिन् । राजापुर नगरपालिका–१, मुर्गौवाका ४९ वर्षीय बलबहादुर सोनाहाले बंगुरपालन गरेर उदाहरणीय काम गरेका छन् । राजापुर नगरपालिका–१, हिमालीपुर गाउँमा उनको ठूलो सोनाहा बंगुर फर्म छ । बलबहादुरले ७ वर्षअघि पोखराका एकजना साथीसँग १ लाख १७ हजार रुपैयाँ सापटी लिई सोही लगानीबाट ६ वटा बंगुरका बच्चा खरिद गरी ६ कोठे खोर निर्माण गरे ।

त्यसरी शुरू गरेको बंगुरपालनबाट अहिले राम्रो आम्दानी भइरहेको उनी बताउँछन् । २ वर्षअघि उनले ७ लाख रुपैयाँ खर्च गरी खोरलाई २७ कोठे बनाएका थिए । अहिलेसम्म खोरमा मात्रै १६ लाख रुपैयाँ लगानी भइसकेको उनले जानकारी दिए । बलबहादुरको सोनाहा बंगुर फर्ममा बंगुरका पाठापाठी लिन आउनेको भीड लाग्ने गर्छ । उनले भने, ‘पहिले कैलालीबाट लिन आउँथे, अहिले कैलाली र बर्दियाका विभिन्न ठाउँबाट बंगुरका पाठापाठी लिन फर्ममा आउँछन् ।’

उनले पाठापाठी उत्पादनका लागि ३१ वटा विभिन्न जातका बंगुर पालन गरिरहेका छन् । बंगुरले १५ महिनामा ३ पटकसम्म पाठापाठी जन्माउँछ । एउटा बंगुरले १५ देखि २० वटासम्म बच्चा जन्माउँछ । बंगुरको एउटा बच्चा ५ हजार रुपैयाँमा बिक्री हुन्छ । २ महिनाअघि मात्रै ८२ वटा पाठापाठी बिक्री गरेको उनले बताए । ‘बंगुर पालनमा भएको सम्पुर्ण खर्च कटाएर मासिक १ लाखदेखि १ लाख ५० हजारसम्म रुपैयाँ आम्दानी हुन्छ,’ उनले भने ।

व्यवसायिक रूपमा थालेको बंगुर पालनबाट वार्षिक १५ लाख रुपैयाँ आम्दानी भएरहेको र छोरालाई ओभरसियर र दुई छोरीलाई उच्चशिक्षा पढाइरहेको बलबहादुरले बताए । व्यवसायिक रूपमा बंगुर पालन गरेमा कृषि कार्यालय अथवा स्थानीय तहको कृषी शाखाबाट अनुदान पाइने सुनेपनि अहिलेसम्म कतैबाट पनि आफूले अनुदान नपाएको उनको गुनासो छ । बंगुरपालन व्यवसायनबाट घर खर्च चलाउन मात्रै होइन, मेहनत गर्दा सरकारी जागिरबाट आउने तलब भन्दा पनि बढी आम्दानी गरेर आफ्ना आवश्यक पर्ने खर्च जुटाउन सकिन्छ भन्ने उदाहरण बलबहादुर सोनाहाले दिइरहेका छन् ।