Loading... आजः २८ बैशाख २०७८, मंगलवार
वन्यजन्तु असुरक्षित

बस्ती निर्माण र वन फँडानी जैविक मार्ग जोखिममा

बस्ती निर्माण र वन फँडानी जैविक मार्ग जोखिममा
बर्दियास्थित खाता जैविक मार्गमा पर्ने हुलाकी सडक ।

बाँके । बढ्दै गएको बस्ती निर्माण र वन फँडानीका कारण बाँके र बर्दिया निकुञ्जका महत्वपूर्ण जैविक मार्ग जोखिममा परेका छन् । बाँके राष्ट्रिय निकुञ्ज र भारतीय सीमावर्ती सुहेलवा वाइल्ड लाइफ सेन्चुरी जोड्ने कम्दी जैविक मार्ग तथा बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेन्चुरी जोड्ने खाता जैविक मार्ग जोखिममा परेका हुन् ।

नेपाल–भारतका निकुञ्जका बाघ, हात्तीलगायत वन्यजन्तु ओहोरदोहोर गर्ने जैविक मार्गको संरक्षण थालिए पनि सफल हुन नसकेको पाइएको छ । वन डिभिजन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खड्काले मानव बस्ती निर्माण र वन फँडानीका कारण महत्वपूर्ण जैविक मार्ग सङ्कटमा परेको बताए ।

उनका अनुसार जैविक मार्गमै बस्ती बिस्तार हुँदै गएकाले वन्यजन्तुलाई सीमा वारिपारिका निकुञ्जमा आउजाउ गर्न समस्या हुँदै आएको छ । अतिक्रमणका कारण जोडिएका सामुदायिक तथा सरकारी वनहरू टुक्रिएपछि वन्यजन्तु आउजाउमा समस्या परेको सहायक वन अधिकृत खड्काले बताए ।

उनले जैविक मार्ग संरक्षणका लागि टुक्रिएका वनहरू जोड्न अतिक्रमण हटाउनुपर्ने चुनौती देखिएको पनि बताए । बाँके राष्ट्रिय निकुञ्जका अनुसार कम्दी जैविक मार्गले दक्षिणतर्फ भारतको सुहेलवा राष्ट्रिय निकुञ्ज, पूर्वतर्फको कपिलवस्तुको सरकारी वन, उत्तरमा रहेको बाँके राष्ट्रिय निकुञ्ज र बर्दियालाई जोडेको छ ।

जैविक मार्ग विभिन्न स्थानमा टुक्रिन गएका कारणले नै गत केही समययता आएर यो क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढेको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले मानव बस्ती नहुँदा जैविक मार्ग भएर वन्यजन्तु सहज रूपमा आउजाउ गर्दै आएकोमा ठाउँठाउँमा बस्ती निर्माणकै कारण आवागमनमा अवरोध भएपछि वन्यजन्तु गाउँमै पस्न थालेको बताए ।

वन्यजन्तुबाट मानवका लागि हुने जोखिम घटाउनका लागि जैविक मार्गमा कुनै पनि प्रकारको अवरोध हुन नपाउने व्यवस्था गर्नु आवश्यक रहेको उनको भनाइ छ । बाँके र बर्दियाका विभिन्न स्थानमा जैविक मार्ग टुक्रिएकै कारण वन्यजन्तु मानव बस्तीमा पस्ने गरेको वन डिभिजन कार्यालय बाँकेले जनाएको छ । सोही कारणले नै पछिल्लो समयमा आएर दुवै जिल्लाका निकुञ्ज वरिपरिका क्षेत्रमा सर्वसाधारणमाथि बाघको आक्रमण बढ्दै गएको छ ।