Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार
अपराध

अपराधको ‘ट्रान्जिट’ बन्दै बाँके, स्वास्थ्यकर्मी नै वन्यजन्तु तस्करीमा

अपराधको ‘ट्रान्जिट’ बन्दै बाँके, स्वास्थ्यकर्मी नै वन्यजन्तु तस्करीमा

बाँके । लुम्बिनी प्रदेशको बाँके यतिबेला हरेक हिसाबले केन्द्रझैं बनिरहेको छ । यतिबेला बाँके जिल्ला लागुऔषध कारोबारीदेखि अवैद्य वन्यजन्तुको ओसारपसार, खरिद बिक्री हुँदै मानव बेचविखन लगायतका विभिन्न अपराधको ‘ट्रान्जिट’ बन्दै गएको छ ।

भारत लगायतका खाडी मुलुकमा यहाँको जमुनाह नाका हुँदै मानव तस्करी हुने गरेको छ भने सेवनकर्ता वा बिक्रेताले यहि नाका हुँदै लागुऔषध ल्याउने र कारोवार गर्ने गरेका छन् । यतिसम्मकी अवैद्य वन्यजन्तुका ओखेटोपहारको खरिद बिक्री तथा मुल्यको बार्गेनिङ्गका लागि पनि नेपालगन्ज, कोहलपुर क्षेत्र सुरक्षित र केन्द्र बनिरहेको एक अध्ययनले देखाएको छ ।

बाँके प्रहरी भने यसको रोकथाम, नियन्त्रण र खास कारोबारी पक्राउमा उदासीन छ । अहिलेसम्म प्रहरीमा पक्राउ परेकाको तथ्यांक हेर्दा भरिया र सेवनकर्ता बढी फेला परेको देखिन्छ । कर्णाली र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी जिल्लाबाट वन्यजन्तुको छाला ल्याएर नेपालगन्जमा विक्री हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

खास कारोवारी र मालिक त कहाँ छन् भन्नेमा प्रहरी अनुसन्धानले समेत पत्ता लगाएको छैन । बाँके प्रहरीले बाघ, चितुवा र अन्य जंगली जनावरको छालासहित ओसारपसारमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेपछि बाँके जिल्ला वन्यजन्तुका छाला ओसारपसार गर्ने ट्रान्जिट प्वाइन्टको रुपमा विकास भएको प्रष्ट हुन्छ ।

दैनिक करिब १० हजार नागरिकहरु जमुनाह नाका हुँदै नेपाल भारत आउजाउ गर्छन् । यसमा बालबालिकादेखि जेष्ठ नागरिक र युवक युवतीसमेत छन् । सीमामा मानव बेचविखनविरुद्ध क्रियाशिल संस्थालाई शंकाको भरमा आफूखुशी सोधपुछ गर्ने र बालबालिकादेखि उनीहरूका आफन्तलाई समेत मानसिक तनाव दिने काम हुँदै आएको सर्वसाधारण गुनासो छ ।

नेपाल भारत सिमा जमुनाहमा रहेका संस्थाले मासिक रूपमा ल्याएका उजुरीमध्ये ९७ प्रतिशत उजुरी असफल हुने गरेको बाँके प्रहरी बताउँछ । बाँके प्रहरी स्रोतका अनुसार मासिक सयको हाराहारीमा प्रहरीमा यी संस्थाले यो वा त्यो किसिमका उजुरी ल्याउँछन् । तर, अन्तिममा दुई तीन वटा मात्र उजुरीमाथि मुद्दा चल्ने गरेको देखिएको छ ।

यहि रेकर्डअनुसार पनि अहिलेसम्म मासिक रूपमा प्रहरीमा आएकामध्ये तीन प्रतिशत उजुरीमा मात्रै गैरसरकारी संस्थाले प्रगती प्राप्त गरेका छन् । बाँकेमा यतिबेला हुन थालेका यस्ता गतिविधि नियन्त्रण र रोकथामका लागि बाँके प्रहरीले सक्रिय अभियान थालेको बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना बताउँछन् ।

प्रहरीकै सक्रिय अभियानका कारण ६० लाखमा बिक्री हुन थालेको चितुवाको छालासहित तीन जना पक्राउ परेका हुन् । सल्यानको बाघचौर नगरपालिका–३ चौरपानीका ३१ वर्षिय जितबहादुर डिसी, कुमाख गाउँपालिका–७ जिमालीका २१ वर्षिय कमल डिसी र कुमाख गाउँपालिका–३ मर्म पोडीकाराका २४ बर्षीय हिमेन्द्र ओलीलाई २ थान चितुवाको छालासहित पक्राउ गरिएको छ ।

वन्यजन्तु तस्करीमा लागेको स्वास्थ्यकर्मी नै खुलेको छ । २४ बर्षीय हिमेन्द्र ओली हेल्थ असिष्टेन्ट पदमा कार्यरत रहेको र उनी वन्यजन्तुको अवैद्य कारोबारमा सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ । बाँके प्रहरीले ६० लाखमा अवैद्य चितुवाको छाला बिक्री गर्न लागेको अबस्थामा उनीसहित तीन जनालाई नियन्त्रणमा लिएपछि उक्त कुरा खुलेको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमबाट २ थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरेको बाँकेको प्रहरी प्रमुख एसपी राना बताउँछन् । एसपी रानाका अनुसार अनुसन्धानबाट पक्राउ परेकामध्ये जितबहादुर डिसी वन्यजन्तुका छाला र अंग खरिद विक्री गर्ने कारोबारी रहेको खुलेको छ ।

चितुवाको छाला नेपालगन्जमा बेच्ने भन्दै पूर्व योजनाअनुसार पक्राउ परेका तीनैजना नेपालगन्ज आउदैं गर्दा बाँके राप्तीसोनारी गाउँपालिका–१ कुसुम बजार पुगेपछि त्यहाँबाट चितुवाको छालासहितको झोला बोकी हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको १ लाख देखी २५ लाखसम्म जरिवाना र १ वर्ष देखी १० वर्ष सम्म कैद सजाय हुन सक्नेभन्दै बाँके प्रहरीले कारबाही र अनुसन्धान अघि बढाएको एसपी राना बताउँछन् ।