Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार

आफ्नै मृत्यु दर्ता प्रमाणपत्र लिएर कार्यालय धाउँदैछन् तामाङ

आफ्नै मृत्यु दर्ता प्रमाणपत्र लिएर कार्यालय धाउँदैछन् तामाङ

मोरङ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्वरोजगार बनाउन यहाँका विभिन्न तहका सरकारले विभिन्न किसिमका तालिम र सहुलियतका योजना ल्याएका छन् । वैदेशिक रोजगारीबाट अपाङ्गता भएर फर्किएका भए पनि मोरङको बेलबारी नगरपालिका–११, लक्ष्मीमार्गका ३९ वर्षीय सुभाष तामाङले यस्ता अवसर प्राप्त गर्न सकेका छैनन् ।

यसका लागि बाधक बनेको छ तामाङले जीवित अवस्थामै प्राप्त गरेको मृत्यु दर्ता प्रमाणपत्र । आफू जीवितै भएको प्रमाण जुटाउन उनले धेरै पटक सरकारी कार्यालय धाइसकेका छन् तर विदेश (साउदी अरब)मा मृत्यु भएर लास झिकाउन उनकै नाममा बनाइएको मृत्यु दर्ता प्रमाणपत्रले उनले सजिलै जीवित भएको प्रमाणपत्र बनाउन सकेका छैनन् ।

तामाङका अनुसार २०७२ को असार २४ गते उनी साउदी अरबमा दुर्घटनामा परे । कम्पनीबाट आफूले प्राप्त गर्ने तलब लिन बैङ्क जाने क्रममा उनीसँगै अरू चार जना नेपाली पनि दुर्घटनामा परे । चारमध्ये तीन जना नेपालीको घटनास्थल मै मृत्यु भयो । कम्पनीले बाँचेका एक जनाको सघन उपचार कक्षमा राखेर छ महिना उपचार गर्यो ।

शव क्षत विक्षत भएकाले साउदी अरबको हुन्डाइ कम्पनीले त्यहाँको अस्पताललाई गलत सूचना दियो । मृतकको पहिचान नगरीकन अस्पतालले शव कम्पनीलाई बुझायो । सोहीअनुसार सुभाष तामाङको मृत्यु भएको भन्दै कम्पनीले लाश बुझेर नेपाल पठाउने प्रक्रिया सुरु गर्यो । कम्पनीले सुभाषको परिवारलाई मृत्युको खबर गर्यो ।

सुभाषका आफन्तले मृत्यु दर्ता गरेर दूतावासमा पत्राचार गरे। सम्पूर्ण प्रक्रिया पूरा भएपछि सुभाष तामाङको शव नेपाल ल्याइयो र बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरियो । शव चिन्नै नसकिने गरी क्षत विक्षत भएकाले सुभाषकै श्रीमतीले समेत उक्त शव सुभाषको हो वा होइन भन्ने कुरा ठम्याउन सकिनन् ।

अस्पतालमा ७५ दिनको उपचारपछि घाइते व्यक्तिको होस खुल्यो र होस खुलेको बिरामीले आफू सुभाष तामाङ भएको बताएपछि मात्र कपिलवस्तुका टेकेन्द्र भण्डारीको शवलाई मोरङको बेलबारी–११ क सुभाष तामाङ भनेर अन्त्येष्टि गरिएको थाहा भयो । उता कपिलवस्तुका टेकेन्द्र भण्डारीका परिवारले अन्त्येष्टि गरेको स्थानको माटो लगेर अन्तिम कार्य गरे । यता सुभाष तामाङ परिवारमा भने खुसी छायो ।

यद्यपि उनको जन्मस्थान भोजपुरको कुदाकाउलेमा सुभाषलाई पुनर्जन्मको विधि गराइयो । अहिले सुभाषको शरीरभरि चोटै चोट छ । दुई घण्टाअघि देखेको व्यक्तिलाई दुई घण्टापछि चिन्न सक्नुहुन्न । परिवारलाई सुखी बनाउने लक्ष्य लिएर विदेशिएका सुभाषलाई थप पीडा थपिएको छ । आफ्नो पीडा सुनाउँदै सुभाष भन्छन्, ‘न कम्पनीबाट क्षति पूर्ति पाएँ न त आफ्नो देशको सरकारले दिने सेवा सुविधा नै लिन पाएको छु ।’ गोरखापत्रमा समाचार प्रकाशित छ ।