Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार

सेयर बजारमा इन्फ्रास्ट्रक्चर बैंकद्वारा ऐतिहासिक रेकर्ड कायम

सेयर बजारमा इन्फ्रास्ट्रक्चर बैंकद्वारा ऐतिहासिक रेकर्ड कायम

काठमाडौं । नेपाली सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA)ले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बैंकले सबैभन्दा छिटो खर्बपति क्लबमा प्रवेश गर्ने रेकर्ड बनाएको हो । आइतबारदेखि कारोबार शुरू भएको बैंकले पाँच दिनमै बजार पूँजीकरण १ खर्ब बढी पु¥याएर नयाँ रेकर्ड बनाएको हो ।

इन्फ्रास्ट्रक्चर बैंक नेप्सेमा सूचीकृत कम्पनीमध्ये एक सातामै बजार पूँजीकरण १ खर्ब नाघ्ने पहिलो बैंक बनेको छ । यसअघि नेपाल पुनर्बीमा कम्पनीकोबजार पूँजीकरण पाँच महिनामा १ खर्ब रुपैयाँ नाघेको थियो । नेप्सेमा कूल २० करोड कित्ता सेयर सूचीकृत भएको इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ५ दिनमै २०५ रुपैयाँले बढेसँगै बजार पूँजीकरण १ खर्ब रुपैयाँ नाघेको हो ।

नेप्सेका अनुसार बिहीबार बैंकको पूँजीकरण १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । पहिलो दिन आइतबार प्रति कित्ता ३४० रुपैयाँमा कारोबार खुलेको बैंकको हरेक दिन सेयर मूल्यमा सकरात्मक सर्किट अर्थात् सेयर मूल्य दैनिक १० प्रतिशतले बढेको छ । आज बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५४६ रुपैयाँमा कारोबार भइरहेको छ ।

बैंकले १ महिना अघि आठ करोड कित्ता (८ अर्ब रुपैयाँ बराबरको) आइपीओ जारी गरेको थियो । हाल नेप्सेमा सूचीकृत २२५ बढी कम्पनीमध्ये बजार पूँजीकरण खर्ब बढी हुने कम्पनीको संख्या आठ रहेको छ । बैंक समग्रमा १ खर्ब बढी बजार पूँजीकरण हुने आठौं कम्पनी बनेको छ । भने बैंकिङ क्षेत्रमा चौथो बैंक बनेको छ ।