Loading... आजः २८ बैशाख २०७८, मंगलवार

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि (बिहीबार) बस्ने भएको छ।  बुधबार बैठकमा पेश भएका प्रस्ताव माथि छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ।

महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि चार प्रस्ताव पेश गरेका छन्।  संविधान अनुसार प्राप्त ६ महिना थप्न पाउने व्यवस्था अनुसार सभापति शेरबहादुर देउवाको कार्यसमितिको अवधि भदाैसम्म थप्नेगरी प्रस्ताव ल्याइएको छ। पार्टी विधानले दिएको एक वर्ष यही फागुनमा सकिएसँगै संविधानको व्यवस्था अनुसार ६ महिना थप्ने प्रस्ताव अघि सारिएको हो।

भदौ ७ देखि १० सम्म १४औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बैठकमा पेश भएको छ। गाउँ/नगर/वडा अधिवेशन असार २० मा, गाउँ/नगरपालिका अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते गर्ने गरी नयाँ कार्यतालिका ल्याइएको छ।

एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ र एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते गरिने भएको छ। प्रदेश अधिवेशन साउन ६ गते गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ।

क्रियाशील सदस्यता वितरण र नवीकरण यसै महिनाको २८ गतेभित्र बुझाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने प्रस्ताव पेश भएको छ। माघ मसान्तसम्म उपलब्ध गराइएको अवधिमा क्रियाशील सदस्यतको सूचि प्राप्त नभएपछि पुनः समयावधि बढाइएको छ।

संस्थापन इतरले प्रतिनिधि सभा विघटन विरुद्ध संसद पुर्नबहालीको माग गर्दै सडकमा जानुपर्ने दबाब दिइरहेका छन्। सभापति शेरबहादुर देउवा पक्ष आन्दोलनको पक्षमा देखिएको छैन।