Loading... आजः २८ बैशाख २०७८, मंगलवार
बेतिथि र बेवास्ता

नेपालमा विकासे मोडेलको विकृति, ‘भ्युटावर र शालिकमा होडवाजी’

नेपालमा विकासे मोडेलको विकृति, ‘भ्युटावर र शालिकमा होडवाजी’

पहाडै–पहाड र डाँडाकाँडाले भरिभराउ नेपालमा अहिले जहाँ पनि पहाड डाँडाभन्दा अग्ला संरचना बनाउने होडमा भ्युटावर निर्माणमा प्रतिश्पर्धा सुरू भएको छ । नेताहरू आफ्नो सहर वा जिल्लामा भ्युटावर नभए त इज्जतै नरहेको ठान्न थालेका छन् । अबको पाँच वर्षमा जिल्ला जिल्लामा जहाँतहीँ अनेकौं भ्युटावर देख्न पाइने अवस्था बन्दैछ । नेपालमा पहिलेताका कुनै बेला नेताहरूको शालिकै शालिक, कुनै बेला शहिदद्वार निर्माण गर्ने फेसन चलेको थियो, अहिले भ्युटावरको युग आएको छ ।

राष्ट्रपतिको कार्यालय र निवासका निम्ति अत्याधुनिक भवन, उपराष्ट्रपतिका निम्ति अफिस र निवास, प्रधानमन्त्रीका लागि हाल साँघुरो बालुवाटारमा थप अत्याधुनिक भवन, सभामुख र राष्ट्रियसभा अध्यक्षका लागि अफिस तथा निवास भवन, संघीय २५ मन्त्रीहरूका निम्ति निवास, हरिहरभवनको हालको क्वाटरलाई बिदेशी पाहुनाहरू राख्न सुविधा सम्पन्न कम्लेक्स, सात जना मुख्यमन्त्रीहरूका लागि प्रदेश राजधानी र काठमाडौंमा निवास, प्रदेश मन्त्रीहरू करिब १०० जनालाई निवास, सात जना प्रदेश प्रमुखहरूलाई काठमाडौं र प्रदेश राजधानीमा निवास, ३३४ जना संघीय सांसदलाई निवास, ५५० प्रदेश सांसदलाई निवास, सात वटा प्रदेश संसद भवन, सात वटा मन्त्रिपरिषद परिसर (सिंहदरबारसरह) निर्माण हुनेछन् ।

दमकमा भ्युटावर निर्माणका लागि सहरी विकास मन्त्रालयको भवन विभागले रू एक अर्ब ५४ करोड ६० लाखको टेन्डर आह्वान गरेर काम गरिसकेकै छ । यसरी अबका दिनमा भवनै भवनको विकास त कति हुने हो कति ! त्यस्तै साढे चार अर्बको सुनधारामा धरहरा, डेढ अर्बको झापा दमकमा भ्युटावर, करोडौं लागतमा काँकडभित्तामा नेपालकै सबैभन्दा ठूलो बुद्धको शालिक, विराटनगरमा ३२ अर्बको मोनोरेल, चितवनमा तीन अर्बको रंगशाला, रिङ्गरोडमा एक खर्बको मोनोरेल बन्दैछ वा बनाउने जोरजाम हुँदैछ । जिल्लापिच्छे करोडौंका रङ्गशाला, सभागृह बनाउने होडबाजी चलिरेहको छ । कसले भन्छ नेपालमा ‘विकास’ भैरहेको छैन ?

अहिले नेपालको विकासको मोडेल, धमाधम भ्युटावर, रंगशाला, धरहरा, मोनोरेल, रेल, पानी जहाज बनाउने, ठडाउने हुन पुगेको छ । तर, रोजगारी, उत्पादन, निर्यात, विदेशी लगानी, अस्पताल, खानेपानी, फोहरमैला, चर्पी, ढल ब्यवस्थापन, पर्यावरण संरक्षण, प्राविधिक शिक्षा, गुणस्तरीय शिक्षा, अनुसन्धान, ईनोभेशन, समयसापेक्ष रोजगारीमूलक तालिम, स्वास्थ्य सुविधाजस्ता क्षेत्र बिचरो बन्दै गएका छन् । चुनाव जितेरमात्र विकास र समृद्धि आउने हैन । यसका लागि दिमाग, दिल र क्षमताको अधिकतम् उपयोग गर्ने र जनतालाई विकास क्रियाकलापमा साथसाथै होम्नुपर्छ । क्षमतावान ब्यक्तिहरू खोजेर त्यसको जिम्मा दिनुपर्छ । विज्ञान र प्रविधिसँग दोस्ती गाँस्नुपर्छ । उत्पादन बढाउँदै, रोजगारी दिँदै, निर्यात गरेर विदेशी पैसा कमाउनुपर्छ ।

धन कमाउने कुरा गफबाट सम्भव छैन, गफबाट एउटाको खल्तीको पैसा अर्कोको खल्तीमा सम्म जाला, त्यति हो । लगानी भित्र्याउनुपर्छ । उत्पादन र उत्पादकत्व बढाउनुपर्छ । त्यसका लागि सुशासन र कानुनी शासन कायम गर्नुपर्छ । दण्डहीनता निमिट्यान्न पार्नुपर्छ । छरछिमेकीसँग दह्रो ब्यापारिक सहुलियत, सुविधा आपसी सहकार्य र सहयोग आदानप्रदान गर्नुपर्छ । तर, देखिनेगरि प्रदेश र स्थानीय सरकारहरूले एकमात्र जनप्रिय काम भनेको भकाभक सार्वजनीक विदा घोषणा गर्ने काम हुँदै गएको छ र यसैमा सबैको प्रतिष्पर्धा पनि हुँदैछ । लहलहैको विकृत विकासको मोडेल नेताहरूको आदर्श बन्दै गएको छ ।