Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार
१३ औं दिनमा प्रहरीलाई सफलता

भागरथी हत्याको नालीबेली : दिनेशले स्वीकारे अपराध, चाउचाउ खानै नपाई हत्या

कुकुर आउने भएपछि गोठालो गए दिनेश
भागरथी हत्याको नालीबेली : दिनेशले स्वीकारे अपराध, चाउचाउ खानै नपाई हत्या

काठमाडौं । गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले आफ्नो अपराध स्वीकार गरेका छन् ।

भागरथी हत्याको टाइमलाइन

माघ २१ गते

माघ २१ गते बिहान ९ बजे भागरथी भट्ट बिहान ९ बजे घरबाट स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा पढ्न हिँड्छिन् । उनी करिब १० बजे विद्यालय पुगिन् र प्राथना गरेर कक्षा कोठाभित्र छिर्छिन् । व्यवस्थापन शंकायमा ऐच्छिक लेखा विषय लिएर पढेकी भागरथीको अपरान्ह पौने २ बजे कक्षा सकिन्छ । त्यसपछि उनी घरतर्फ लाग्छिन् ।

भागरथीसँगै उनको घर नजिकैको भाइ भानदेव भट्टपनि सँगै निस्किन्छन्, जो भागरथीसँगै सोही विद्यालयमा पढ्थे । उनीसँगै कक्षा १२ मै पढ्ने केही विद्यार्थी र कक्षा ११ मा पढ्ने केही विद्यार्थी पनि क्लास बंक गरेर निस्किन्छन् । विद्यालयबाट खोचलेक बजारसम्मको दुरी करिब ५ मिनेटको पैदल यात्रामा पर्छ ।

त्यहाँ भानदेव, उनका एक साथी र कक्षा ११ मा पढ्ने दिनेश भट्ट लगायतका केही कपाल काट्न भन्दै रोकिन्छन् । भानदेवले भागरथीलाई ‘दिदी तपाईंहरु जानुस्, हामी कपाल काटेर आउछौँ,’ भन्छन् । त्यसपछि भानदेव लगायतका विद्यार्थीहरु बजारमा रोकिन्छन् भने भागरथी र उनका केही केटी साथीहरु बजारबाट छुट्टिन्छन् ।

बजारबाट भागरथीको घरतर्फ जाने क्रममा २ जना किशोरीहरु आफ्नो चप्पल सिलाउनका लागि जान्छन् । भागरथीकै घरतर्फ पर्ने बाटोमा जाने २ जना किशोरी बाँकी रहन्छन्, भागरथी र ममता भट्ट । तर ममता भट्टको घर काँकडा भन्ने स्थानमा भएकाले उनी भागरथीसँग केही मिनेटको यात्रापछि नै छुट्टिन्छिन् ।

बजारबाट करिब १० मिनेटको यात्रापछि पुगिने मन्दिरबाट भागरथीलाई हात हल्लाएर ‘बाई’ भन्दै ममता छुट्टिन्छिन् भने भागरथी आफ्नो घरतर्फ अगाडि बढ्छिन् । यता बजारमा कपाल काट्न लागेका किशोरहरुको समूहमा रहेकामध्ये एक किशोर त्यहाँबाट निस्कन्छ । ‘सँगै जाउँ’ भन्दा उनले छिट्टै घर जानुपर्नेछ भन्दै उनी निस्किन्छ भागरथीको पछिपछि लाग्छ ।

ती किशोर थिए, भागरथीकै घर नजिकैको १६ वर्षीय दिनेश भट्ट, जो भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा पढ्छन् । यता, भागरथी र ममता छुट्टिएपछि दिनेश भट्ट भागरथीभन्दा छिटोछिटो हिँडेर अगाडि जान्छ र लबलेक जङ्गलको खोँचमा गएर बाटो ढुक्न थाल्छ । भागरथी खोचलेक बजारबाट करिब १ बजेर ५० मिनेटमा निस्किएको अनुमान प्रहरीको छ ।

खोचलेक बजारबाट घटनास्थल अर्थात् लबलेक जङ्गलको घटनास्थल पुुग्न ढिलोमा ४० मिनेट लाग्छ । त्यो भनेको भागरथी घटनास्थल पुग्दा करिब २ बजेर ३० मिनेटको आसपास भएको छ । जब भागरथी लबलेक जङ्गलको अलिक खोल्सी परेको स्थानमा पुग्छिन्, दिनेशले भागरथीमाथि जबरजस्ती सुरु गर्छ । भागरथी सडकबाट भागेर ओरालो जमिनतर्फ अगाडि बढ्छिन् ।

तर दिनेशले जबरजस्ती गर्न छाड्दैन र भागरथीको कपाल समात्छ । त्यो मुख्य सडकभन्दा करिब २० मिटर तल ओरालो बाटोमा भएको हुन्छ । दिनेशको हातमा भागरथीको कपाल र रबर बेण्ड आउँछ । भागरथीले अझै प्रतिकार गरेर भाग्ने प्रयत्न गर्छिन् । तर आक्रामक स्वभावका दिनेशले भागरथीमाथि आक्रमण गर्न छाड्दैन ।

सडकबाट ५० मिटर तल दिनेशले भागरथीलाई लडाउँछ । त्यसपछि फेरि भागरथी भाग्न कोशिश गर्छिन् । त्यहाँ भागरथीको चप्पल खुस्किन्छ । तर अग्लो र बलियो दिनेशको अगाडि भागरथीको केही लाग्दैन । त्यसपछि दिनेशले त्यो भन्दा केही तल बनमाराको छेल पारेर समथर भूभागमा भागरथीको मुख थुनेर जबरजस्ती गर्छ र पोल खुल्ने डरले घाँटी थिचेर हत्या गर्छ ।

यो समय करिब २ बजेर ४५ मिनेट हुँदाको हो । हत्यापछि उसले भागरथीको मोबाइलको ‘कल लग’ डिलिट गर्छ र ब्याट्री निकालेर मोबाइल केही तल फालिदिन्छ । दिनेशले कुन उद्देश्यका साथ भागरथीको मोबाइलको ब्याट्री झिक्यो भन्ने खुलेको छैन । दिनेश घटनास्थलबाट करिब ७० मिटर हल्का उकालो पर्ने माथितिर लाग्दैन ।

त्यहाँबाट बिस्तारै बनमारा झाडीको बाटो हुँदै करिब ८ सय मिटर उत्तरपूर्व अर्थात् खोचलेक बजारतर्फ नै फर्किन्छ । यो समय करिब ३ बजेको हो । त्यसपछि दिनेश केही समय त्यही वरिपरी अलमलिएको जस्तो देखिन्छ । अनि ऊ बिस्तारै घटनास्थलको बाटो हुँदै आफ्नो घरतर्फ अगाडि बढ्छ ।

घटनास्थलको केही माथि एक खेलमैदान बन्दैछ । त्यहाँ केही मानिसहरु काम गरिरहेका थिए । खेल मैदानको ठीक तल एक स्थानीयले दिनेशलाई भेट्छन्, जुन समय ३ बजेर २५ मिनेट जाँदाको समय हो । त्यसपछि ऊ अगाडि बढ्छ र घरमा पुग्छ र नियमित काम गर्छ ।

माघ २२ गते

घटनाको भोलिपल्ट अर्थात् माघ २२ गते अपरान्ह भागरथीकै साथीहरुले भागरथीको मृत शरीर देख्छन् । उनीहरु गाउँमा गएर घटनाबारे भन्छन् र सबै गाउँले घटनास्थल फर्कन्छन् । भोलिपल्ट विद्यालयका सबै विद्यार्थी र गाउँलेहरु घटनास्थल पुुछन् र अपराधीलाई फाँसीसम्मको माग गर्छन् ।

दिनेश पनि त्यही समूहमा नारा लगाइरहेको हुन्छ । तर माघ २२ गतेको आन्दोलनमा पनि दिनेश लामो समय घटनास्थलमा बस्दैन । विद्यालयबाट नारा लगाउँदै घटनास्थल पुगेको दिनेश करिब १० देखि १५ मिनेटमात्रै घटनास्थलमा बस्छ । अन्य सहपाठीहरु भागरथीलाई न्याय मागिरहँदा ऊ भने घर जान्छ ।

माघ २३ गते

अपराधस्थलमा अपराधीले कुनै सुराक छाडेको थिएन । तर पनि थप केही सुराक पाइन्छ कि भनेर प्रहरीले तालिमप्राप्त कुकुर ल्याउने बतायो । तालिमप्राप्त कुकुर ल्याउने भएपछि सुराक पनि खोज्ने र सुँघेरै अपराधी पत्ता लगाउने हल्ला बजारभरि छरिन्छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट डिआइजी उत्तमराज सुवेदी आफै कुकुर लिएर घटनास्थल आउने चर्चा चल्यो र कुकुर अत्यन्तै चलाख भएको सुुँघेरै अपराधी पत्ता लाग्ने हल्ला बजारभरि फैलिन्छ । डिआइजी आफै कुकुर लिएर घटनास्थल आइरहेको जानकारी खोचलेक, भागरथीको गाउँ चढेपानी लगायतमा फैलिन्छ ।

नभन्दै माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर र अनुसन्धान टोली घटनास्थल आइपुग्छ । कुकुरलाई घटनास्थलमा लगियो । तर विद्यालयका सबै विद्यार्थी, शिक्षक र गाउँलेहरु घटनास्थलमा बसेर यो सब दृश्य हेरिरहँदा आरोपित दिनेश भट्ट भने गोरु चराउन भन्दै गोठालो लाग्छन् । सबै सहपाठीहरु आन्दोलनमा होमिँदा दिनेश किन आएनन् भनेर कसैले हेक्का राख्दैन ।

प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतले दिनेशको अनुपस्थितिलाई गहन ढङ्गबाट अनुसन्धान गर्न थाल्छन् । कुकुरले सुँघेर पत्ता लगाउने भनेपछि कतै आँफैलाई सुँघ्न आइहाल्ने हो कि भन्ने त्रासले दिनेश घटनास्थल नआएर गोठालो गएको अनुसन्धान अधिकृतको दाबी छ । अनुसन्धान अधिकारीसमक्ष पनि दिनेशले कुकुर आएको थाहा पाएपछि आफूलाई संकेत गर्न सक्ने भन्दै घटनास्थल नआएको बयान दिएका छन् ।

प्रत्येक दिन केरकार

घटनापछि पहिलो चरणमा प्रहरीले सो क्षेत्रमा घर पर्ने, सोही विद्यालयमा पढ्ने, सोही बाटो भएर हिँड्ने धेरैलाई सोधपुछ गरेको थियो । तर दिनेशको टाइमललाइनमा गडबढ पाइएपछि अनुसन्धान अधिकृतले दिनेशलाई सुुक्ष्म निगरानीमा राखेको थियो र प्रत्येक दिन कहिले प्रहरी चौकीमा ल्याएर त कहिले घरमै पुगेर सोधपुछ गरेको थियो ।

यतिसम्म कि प्रहरीले दिनेशलाई उसकै कुल देवताको मन्दिरमा लगेर अपराधमा संलग्न हो वा होइन भनेर कसम खान लगाएको थियो । त्यतिबेला पनि दिनेशले घटनामा आफ्नो संलग्नता छैन भन्दै आएको थियो । तर प्रहरीलाई दिनेशमाथिको शंका बलियो हुनुको कारण उनको गडबढ टाइमलाइन र बलियो शरीर नै थियो ।

त्योबाहेक केही आक्रामक स्वभाव र छिटो रिसाउने बानीका कारण घटनामा संलग्नताको आशंका झन्–झन् बढ्दै थियो । तर घटनामा संलग्नताको आशंकामा अर्का व्यक्ति पक्राउ गरिसकेको र केही घटनाक्रमले अपराधमा ती शंकितको संलग्नताको छनक पनि पाएकाले प्रहरी केही सफ्ट बनेको थियो ।

तर महेन्द्रनगरबाट पक्राउ परेका शंकितले घटनामा आफ्नो संलग्नता नरहेको र डिएनए लगायतका परीक्षण गराउन सजिलै राजी हुँदै पुुष्टी गर्न चुनौति दिएपछि अनुसन्धान दिनेशमाथि नै केन्द्रीत हुन थाल्यो । यद्यपि ती व्यक्तिलाई कञ्चनपुरबाट बैतडी पुराइसकिएको थियो र अदालतबाट म्याद थप गरी अनुसन्धान गरिँदै थियो ।

फागुन ४ गते

प्रहरीले शंकितमध्येका एक दिनेशमाथि प्रत्येक दिन निगरानी राख्दै प्रत्येक दिन सोधपुछ गरिरहेको थियो । सुरुमा कन्फिडेन्स देखाएका दिनेश पछि बिस्तारै गल्दै गएका थिए । त्यसबाहेक दिनेशले बोलेका केही झुटले प्रहरीलाई दिनेशमाथि शंका गर्न थप मद्दत पनि पुग्यो ।

उसले भागरथीभन्दा पहिले नै आफू गएको, भागरथी जाँदा को–को गएका थिए भन्ने सम्बन्धमा पनि झुट बोलेको, उसले बजारबाट निस्के भनेको समय र बाटोलाई उसलाई देख्ने मान्छेले भेटेको समय आदि नमिलेपछि प्रहरीले बीचको समयको खोजी गरिरहेको थियो । दिनेशको बजारबाट घर जाने बाटोको समयमा करिब २५ मिनटेको मिसम्याच भएपछि प्रहरीले माघ ४ गते मंगलबार पुनः दिनेशलाई प्रहरी कार्यालयमा बोलायो ।

दिनभर कार्यालयमा राखेर साँझ ७ बजेबाट अनुसन्धान टोलीले दिनेशमाथि थप केरकार गर्न थाल्यो । २ घण्टाको लगातार केरकारपछि बल्ल दिनेशले घटनामा आफ्नो संलग्नता स्वीकार गर्यो । आफू बाटो ढुकेर बसेको र भागरथी त्यहाँ पुुगेपछि जबरजस्ती गरेको उसले स्वीकार गरेको छ । अनुसन्धान अधिकारीसमक्ष बयान दिँदा दिनेशले कुकुर आएको थाहा पाएपछि डर लागेकाले त्यहाँ नआएर गोठालो गएको बयान दिएको छ ।

 

दिनेशलाई अभियुक्त दाबी गर्ने प्रहरीका ‘आइ विटनेस’सहितका चार प्रमाण

प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरेको छ । आज दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो। सुदुरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले पत्रकार सम्मेलन गर्दै दिनेश भट्टले घटना घटनाएको जानकारी दिए ।

प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने दिनेश भट्ट पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ । भट्टले हत्या गरेको स्वीकार गरिसकेको समेत डीआइजी सुवेदीले बताए । प्रहरीलाई दिनेशले १ बजेर ४५ मिनेटमा कक्षाबाट निस्किएर भागरथीलाई हत्या गर्ने योजना अनुसार घटनास्थलतर्फ गएको बताएका छन् ।

उनी विद्यालयबाट बजारसम्म अन्य साथीहरुसँग गए पनि नजिकै रहेको बजारबाट भने एक्लै निस्किएको देखिएको छ । त्यसपछि भट्टले भागरथी आएपछि सडकबाट धकेल्दिएर दुई हातले घाटी घिचेर हत्या गरेको डीआइजी सुवेदीले जानकारी दिए । पत्रकार सम्मेलनमा डीआइजी सुवेदी भट्टलाई अभियुक्त दाबी गर्नुका केही कारणसमेत प्रस्तुत गरेका थिए ।

घटना भएको सम्बन्धमा अभियुक्तको घटनास्थलमा उपस्थितसँग सोधपुछका क्रममा देखिएका शंकास्पद आधार, टेक्निकल पक्ष, अभियुक्तको साविती बयानलाई पक्राउको आधार बनाइएको छ । ‘आइ विटनेसले पनि त्यही एरियामा देखिनु, निजले पनि स्वीकार गर्नु, त्यहाँ भन्दा के आधार चाहिन्छ ? दोषी कुनै पनि हालतमा उम्कन नपाउने गरी प्रमाणहरु प्रस्तुत गरेका छौं । केही कारणहरु खोज्दैछौं,’ डीआइजी सुवेदीले भने ।

किटानी जाहेरी पनि दर्ता

घटना भएको तीन दिनदेखि निगरानीमा रहेका युवक नै अन्ततः प्रहरीको निसानामा परेका छन् । बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्तलाई १३ दिनमा प्रहरीले पक्राउ गरे पनि त्यसको १० दिन अघिदेखि नै सर्भिलेन्समा राखेको थियो । प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने दिनेश भट्ट पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ ।

प्रहरीको भनाई अनुसार भट्टले हत्या गरेको स्वीकार गरिसकेका छन् । साथै, भागरथीका दाजुले आज पक्राउ परेका युवक विरुद्ध किटानी जाहेरी नै दिएका छन् । दिनेशले हत्या गरेको स्वीकारेको प्रहरीको दावी छ । तर, बलात्कार गरेको चाहिँ स्वीकारेका छैनन् । भागरथीको घटनाको अनुसन्धान गर्न पुगेको प्रहरी टोली फर्किन थालिसकेको छ ।

सुदुरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदी आफैं घटनाको अनुसन्धानमा खटिएका थिए । उनी पनि फर्किने तयारीमा छन् । सुरुमा अनुसन्धानका लागि पुगेका एसएसपी जनकराज पाण्डे फर्किँदैछन् । पाण्डे शव भेटिएको पर्सिपल्ट नै बैतडी पुगेका थिए । भट्ट भागरथीका चिनेजानेका मात्र होइन, नाता जोडिएकै व्यक्ति हुन् । भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् ।

पुरानो रिसइबीले माघ २१ गते किशोरले भागरथीलाई भीरबाट लडाएर बोहोस भएपछि घाँटी घिचेर हत्या गरेको बयान दिएका छन् । हत्यापछि किशोरले बलात्कारको प्रयास समेत गरेको देखिएको प्रहरीको दावी छ । भागरथी घटनाको अनुसन्धानमा धेरै मानिस प्रहरीको क्लोज सर्कलमा थिए । त्यसमध्येका एक थिए दिनेश । हत्या र बलात्कार जोडिएकाले प्रहरीले चिनेजानेका मानिसबाट नै घटना भएको हुनसक्ने आशंकामा अनुसन्धान गरेको थियो ।

‘भागीरथीका बुबाले मेरा आफन्तलाई बलात्कार गरेका थिए’

भागरथी हत्या आरोपमा पक्राउ परेका किशोरले अपराध स्वीकार गर्दै १८ वर्षीय दिनेश भट्टले बदला लिन आफूले भागरथीको हत्या गरेको बताएका छन् । भागरथीका बुबाले आफ्नो नजिकको नातेदार बलात्कार गरेको र त्यसको बदला लिन आफूले त्यस्तो गरेको भनेर दिनेशले बयान दिएको अनुसन्धानमा संलग्न अधिकारीले बताए ।

एक वर्षअघि त्यो घटना गाउँमै मिलाइएको दिनेशको दाबी छ । भागरथीका बुबाको भने मृत्यु भइसकेको छ । पक्राउ परेका किशोरलाई प्रहरीले बैतडी सदरमुकाम लगेको छ । घटनाको १३ औँ दिन मंगलबार उनलाई प्रहरीले पक्राउ गरेको थियो । विद्यालयबाट निस्किएर जंगलमा ढुकेर बसेका उनले भागरथीलाई हुत्याएर खोल्सामा लडाएको बयान दिएका छन् ।

अनुसन्धान टोलीलाई स्थानीयको सम्मान

भागरथी हत्या प्रकरणको अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीसहितको टोलीलाई स्थानीयवासीले सम्मान गरेका छन् । प्रहरी चौकी, खोचलेकमा बसेर दुई सातासम्म निरन्तर अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयले सुवेदीसहित प्रहरी अधिकारीहरुलाई सम्मान गरेका हुन् ।

सम्मान पाउनेहरुमा प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु लगायत रहेका छन् । सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत हुन् । घटनाको संवेदनशीलतालाई ध्यान दिँदै उनी आफैं अनुसन्धानमा खटिएका थिए ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले प्रकरणको सफल अनुसन्धान भएको खुशी व्यक्त गर्दै स्वतः स्फूर्तरुपमा फूलमालाले सम्मान गरिएको बताए । उनले भने, ‘यो घटनाले नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल छ भन्ने पुनः एकपटक प्रमाणित भएको छ ।’ डीएसपी सुवेदीसहितको टोली अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय, बैतडी आएको छ ।

चाउचाउ खानै नपाई भागरथीको हत्या

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढघण्टा पहिल्यै निस्किएको र पहिल्यै बाटोमा कुरेर बसेको खुलेका हो ।

दिनेश र भागरथी दिदीभाइ हुन् । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा पढ्थे । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा । तर, माघ २१ गते दिनेश २ कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरू बताउँछन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो ।

उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । मेडिकल रिपोर्टमा भने उनको बलात्कारपछि हत्या भएको प्रहरीले बताउँदै आएको छ । तर, हत्या स्वीकार गरेका दिनेशले आफूले बलात्कार नगरेको बयान दिएको स्रोत बताउँछ । घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको बताइएको छ ।

अनुसन्धानकै क्रममा प्रहरीले दिनेशलाई पक्राउ गरेको हो । पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।’

उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरीले स्रोतले जानकारी दिएको छ । हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको दिनेशले बताएका छन् । त्यसपछि उनी नियमितरुपमा विद्यालयसमेत गइरहेका थिए ।

आरोपित नाबालक भए सुधार गृह पठाइने

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा १७ वर्षीय दिनेश भट्ट घटना भएको १३औँ दिनमा प्रहरीले पक्राउ पर । दिनेश र भागरथीबीच नाता पर्छ । नातामा उनी भागरथीको भाइ हुन् । उनी भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थी हुन् । प्रहरीले विद्यालयबाट उनको उमेर प्रमाणित गर्ने जनाएको छ ।

‘उनले आफ्नो उमेर १७ वर्ष बताएका छन् । विद्यालय खुलेपछि हामी उमेर यकिन गर्छौं,’ बैतडीमै रहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले भने, ‘पक्राउ परेका किशोर नाबालक भए र उनीमाथि बलात्कारपछि हत्याको आरोप प्रमाणित भए उनलाई सुधार गृहमा पठाइनेछ ।’ प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको बताइएको छ ।