Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार
अनुसन्धान

बाघ समात्न निकुञ्जमा राँगो छोडियो

बाघ समात्न निकुञ्जमा राँगो छोडियो
फाइल तस्वीर

बारा । सडक पार गर्दा देखाउने व्यवहार र क्रियाकलाप जान्न पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका बाघमा अनुसन्धान शुरू गरिँदैछ । पुष १८ गते पथलैया सडक खण्डमा एक वयस्क स्वस्थ्य पोथी बाघको दुर्घटनामा मृत्यु भएपछि पहिलोपटक पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका बाघमा अनुसन्धान शुरू गर्न लागिएको हो ।

तराई–काठमाडौं जोड्ने द्रुतमार्ग, हुलाकी राजमार्ग, विस्तार हुँदै गरेको ४ लेनको पूर्व(पश्चिम राजमार्ग, रेलमार्ग, प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थल र वन क्षेत्रभित्र राखिएका हाइटेन्सन (११ हजार भोल्ट विद्युत प्रसारण लाइन) लगायत विस्तारित सडक पूर्वाधारका कारण बाघ र अन्य वन्यजन्तुको बासस्थान क्षेत्रहरू टुक्रिँदै र साँघुरिदै गएको छ ।

निकुञ्ज र बाघको बासस्थान क्षेत्र वरपर सवारीसाधन आवागमनका संरचना बिस्तार हुँदै गएपछि सडकमा निस्केको बाघले दुर्घटनामा ज्यान गुमाउन थालेको भन्दै यो अनुसन्धान शुरू गरिएको निकुञ्जले जनाएको छ । ‘वन्यजन्तुलाई लिएर हामी असाध्यै चिन्तित छौँ, बाघसम्बन्धी अध्ययन–अनुसन्धान पर्सा राष्ट्रिय निकुञ्जमा हुनु असाध्यै सुखद अवसर हो,’ प्रमुख संरक्षण अधिकृत मनोज साहले भने ।

प्रमुख संरक्षण अधिकृत साहका अनुसार यो अनुसन्धानबाट वन्यजन्तुहरू राजमार्गका हिँड्दा उनीहरूको प्रतिक्रिया कस्तो हुन्छ, श्वासप्रश्वासको गति ढिलो वा छिटो के हुन्छ भन्ने विषय जान्न सकिन्छ, यसले हामीलाई भोलिका दिनमा वन्यजन्तुहरूको व्यवस्थापन गर्न सजिलो हुन्छ । पथलैया–अम्लेखगन्ज र पथलैया–तामागढी सडक खण्डको १७ किलोमिटर भूभाग पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

‘सडक वरपर क्षेत्रमा बाघको आउजाउ हुँदा अवस्था कस्तो हुन्छ, कसरी बाघलाई असर गरेको छ, बाघको कारणले यात्रुहरूलाई कस्तो किसिमको असर परेको छ भन्ने जानकारी अध्ययनपछि थाहा लाग्छ,’ प्रमुख संरक्षण अधिकृत साहले थपे । यसअघि २०७६ चैतमा सडक पूर्वाधारसँग जोडेर बाघको अनुसन्धान शुरू गर्ने भनिए पनि कोरोना महामारीका कारण काम अघि बढेको थिएन ।

वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई अनुसन्धानका लागि निर्देशन दिइसकेकोले प्रारम्भिक काम शुरू भइसकेको जनाइएको छ । अहिले बाघको गतिविधि हेर्ने काम भइरहेको प्रमुख संरक्षण अधिकृत साहले जानकारी दिए । पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भएपनि आवश्यक बासस्थान भने साँघुरिएको छ ।

माउसँग छुट्टिएका बाघहरूले नयाँनयाँ क्षेत्रको खोजी गर्ने जाने क्रममा सडकसम्म पुग्ने र दुर्घटनामा ज्यान गुमाउँछन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका निमित्त प्रमुख तथा अनुसन्धान अधिकृत बाबुराम लामिछानेले एउटा पोथी बाघलाई १५ देखि ४० वर्गकिलोमिटर भाले बाघलाई २५ देखि ६० वर्गकिलोमिटर क्षेत्रफल आवश्यक पर्ने बताए । हाल पर्सा निकुञ्जको करिब १६ हजार हेक्टर क्षेत्रफलमा पाटेबाघ पाइन्छ ।

यसरी गरिन्छ बाघको अनुसन्धान

निकुञ्जका अनुसार अनुसन्धानको पहिलो चरणमा बाघको गतिविधि थाहा पाउन निकुञ्ज क्षेत्रभित्र ठाउँठाउँमा क्यामरा जडान गरिनेछ । संरक्षण अधिकृत साहका अनुसार त्यसपछि बाघको बासस्थान क्षेत्र पत्ता लगाएर सो क्षेत्रमा राँगो छोडिन्छ । बाघले राँगोको शिकार गरेपछि केही दिनसम्म निगरानी गरिन्छ । बाघले शिकारलाई झाडी तिर लगेपछि सो क्षेत्रमा चारैतिरबाट सेतो कपडाले घेरी हात्तीको माध्यमबाट घेरा हालेर एक कुनामा बाघलाई लगिन्छ ।

अनुसन्धान शुरू गर्नुपूर्व बाघलाई नियन्त्रणमा लिने उपायबारे सुनाउँदै साहले भने, ‘हात्तीले घेरा हालेको विपरित दिशामा बाघलाई डार्ट (रसायनको प्रयोगबाट बेहोस बनाउने काम) गर्ने टोलीले डार्ट गर्छ ।’ निकुञ्जले पहिलो चरणमा स्वस्थ्य ५ वटा बाघ मध्येबाट एउटा बाघमा डार्ट गरेर १५ दिन देखि १ महिना अध्ययन गर्ने जनाएको छ । विज्ञ र प्राविधिक टोलीले अध्ययनको लागि नियन्त्रणमा लिएको बाघको शरीरमा आधुनिक प्रविधिको रेडियोकलर जडान गरेर, जीपीएस लोकेशनसहित जंगलमा छोडिने र सो बाघको गतिविधि अध्ययन गरिने जनाएको छ ।

‘यस्तो कामका लागि प्रर्याप्त जनशक्ती पनि चाहिन्छ, केही जोखिम पनि हुनसक्छ, डार्ट गरेको पहिलो बाघलाई रसायनले कुनै असर गरेको छ कि छैन्, जुन साईडमा डार्ट गनुपर्ने हो त्योभन्दा अन्यत्र भयो भने बाघको मृत्यु हुनसक्छ त्यसैले यो जोखिमपूर्ण काम हो,’ साहले भने । डार्ट गर्ने टोलीलाई अनुगमन गर्ने काम राष्ट्रिय निकुञ्जले गर्दछ । सन् २०१८ को तथ्याकं अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा दुर्लभ पाटेबाघ छन् । अगामी वर्ष (सन् २०२२) मा हुने बाघको गणनामा यो संख्या २३ पुगेको अनुमान गरिएको छ ।