Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार
मौलाउँदै अनियमितता

बर्सेनि बढ्दै भ्रष्टाचार, निरिह अख्तियार

बर्सेनि बढ्दै भ्रष्टाचार, निरिह अख्तियार

बाँके । अख्तियार दुरूपयोग अनुसन्धान आयोग भ्रष्टाचार नियन्त्रणको लागि स्थापित अधिकार सम्पन्न एक संवैधानिक निकाय हो । संविधान २०१९ को दोश्रो संशोधन २०३२ को अनुरूप अख्तियार दुरुपयोग निवारण आयोगको रूपमा स्थापना भएको उक्त निकायले अहिले अनुसन्धान आयोगका रूपमा गतिविधी अघि बढाइरहेको छ ।

आयोगले कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियारले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ तथा विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था रहेको छ । तर, अख्तियारले अहिलेसम्म आर्थिक अनियमितताका वा अन्य उजुरीका खास मतियारलाई पक्राउ गर्ने र कानूनी दायरामा ल्याउनेतर्फ सक्रियता देखाएको पाइँदैन ।

अख्तियारले ठूलाठूला स्टिङ अप्रेसन गरेको दावी गर्दै आए पनि भ्रष्टाचारमा संलग्न खास मतियारलाई पक्राउ गर्न चासो नदेखाउनुले अख्तियारमाथि नै गम्भीर प्रश्न खडा भएको छ । आमनागरिक अख्तिायरलाई प्रश्न गर्छन्, कहिले समातिन्छन् मतियार ? अख्तियारले बाँकेमा यस्ता हरेक गतिविधिमा संलग्न खास मतियार वा दोषीलाई पक्राउ गरि कानूनी दायरामा ल्याएर आम नागरिकलाई यसको जवाफ दिनुपर्ने स्रोतको माग छ ।

‘अख्तियारले स्टिङ अप्रेसन भन्छ, तर भ्रष्टाचारमा संलग्न खास मतियारलाई पक्राउ गर्न चासो देखाउँदैन,’ एक जानकारले भने । भ्रष्टाचारमा संलग्न व्यक्ति वा संस्थालाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउन अख्तियार निरिह रहेको आरोप छ । राजनीतिक संरक्षणकै आधारमा अवैद्य काम गर्नेलाई छोड्ने कारवाहीबाट जोगाउने प्रवृत्तिले अख्तियारमाथि नै आशंका गर्नुपर्ने अवस्था आएको नागरिकको भनाई छ ।

नीतिनिर्माता, व्यापारी र ठेकेदारबीचको दूरी नजिक हुँदा भ्रष्टाचार मौलाउँदै गएको छ । भ्रष्टाचारका ठुला घटनामा अख्तियार सधैं निष्क्रिय देखिने गरेको छ । भ्रष्टाचारजन्य गतिविधिको निगरानी गर्ने निकाय निष्क्रिय हुँदा भ्रष्टाचार बढेको जानकारहरु बताउँछन् । उनीहरु भन्छन्, ‘जसले निगरानीको जिम्मेवारी पाएका छन् उनीहरू झिनामसिना कामलाई उपलब्धिको रूपमा अगाडि सार्दै बसे । ठूला भ्रष्टाचारी कारबाहीमा आएनन् ।’

अख्तियारको सक्रियता बढेको देखिन्छ तर सङ्ख्यामा । मुद्दाको सङ्ख्या बढेको छ । तर गतिला अनुसन्धान त देखिन्न । गतिला अनुसन्धान हुनुपर्ने विषय त्यसै राखिएको छ । ठुला अनुसन्धान भएको देखिँदैन । आयोग सानातिना मुद्दामै बढी केन्द्रित देखिन्छ । यसले भ्रष्टाचारविरुद्ध माहौल बनाउन सक्दैन । सङ्ख्या बढ्दैमा भ्रष्टाचार नियन्त्रण प्रभावकारी भयो भन्ने हुँदैन । भ्रष्टाचारका ठुला विषयका अनुसन्धान भएकै छैनन् ।

ठुला भ्रष्टाचारको मुद्दामा अनुसन्धान नहुँदासम्म नागरिकमा भ्रष्टाचार नियन्त्रण भएको आभास हुँदैन । अनुसन्धानको गुणस्तरीयता पनि हुनुपर्छ । अहिलेको अनुसन्धानमा गुणस्तरीयता देखिँदैन । ठुला मुद्दा बिचमै हराए, सेलाए, देखिएनन् । भ्रष्टाचार भएको भन्ने सुनिन्छ । तर, भ्रष्टाचार मुद्दा कता बेपत्ता पारिन्छन् पत्तो हुँदैन । अख्तियारले जति काम गर्नुपर्थ्यो त्यो गर्न नसकेकोमा सर्वत्र आलोचना भइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा पनि भ्रष्टाचारका उजुरीहरू बर्सेनि बढ्दै गएका छन् । आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षमा ५७५ वटा उजुरी परेकोमा चालू आर्थिक वर्षको सात महिनामा मात्रै ५८४ उजुरी परेको आयोगले जनाएको छ । ५७५ उजुरीमध्ये २५५ मात्र फस्र्योट भएका थिए । गत आर्थिक वर्षमा परेका अझै ३२० फस्र्योट हुन बाँकी छन् ।

जसमा हालसम्मको प्रगति ३१.९७ प्रतिशत छ । ती उजुरीमध्ये सबैभन्दा धेरै बाँकेका २४७, दाङका १६७ र बर्दियाका १२४ रहेका छन् । आयोगको नेपालगन्ज कार्यालयका प्रमुख भेषराज रिजालले उनले आयोगमा अहिले दरबन्दीअनुसारका कर्मचारी नहुँदा विषयगत र दक्ष अनुसन्धानकर्मीको अभावले अनुसन्धानमा समस्या खड्किएको बताए । नेपालगन्ज सम्पर्क कार्यालयको क्षेत्र बाँके, बर्दिया र दाङ जिल्ला रहेको छ ।

कार्यालयका अनुसार सबैभन्दा बढी स्थानीय तह, दोस्रोमा शिक्षा र तेस्रोमा भूमि प्रशासन सम्बन्धी अनियमितताका उजुरीहरू छन् । अघिल्लो आर्थिक वर्षमा ६ वटा स्टिङ अपरेसन गरेको नेपालगन्ज सम्पर्क कार्यालयले चालू आर्थिक वर्षमा तीनवटा स्टिङ अपरेसन मात्र गरेको कार्यालय प्रमुख रिजालले जानकारी दिएका छन् । उनका अनुसार त्यसमा बाँकेमा दुई र दाङमा एउटा अपरेसन गरिएको थियो । उक्त अपरेसनबाट सात जना पक्राउ परेका थिए ।