Loading... आजः २८ बैशाख २०७८, मंगलवार

मोडल रुविना भन्छिन्, ‘बिवाहभन्दा सेक्सको प्रस्ताब बढी आउँछ’

मोडल रुविना भन्छिन्, ‘बिवाहभन्दा सेक्सको प्रस्ताब बढी आउँछ’

काठमाडौं । पछिल्लो समय स्टेज तताउने नृत्य कलाकार तथा मोडल हुन्, रुविना अधिकारी । नेपालगन्ज धम्बोझीकी रुविनाले महजोडी लगायतका कलाकारसँग ‘नेपाल टुर’ गरिसकेकी छन् । पाँच सयभन्दा बढी स्टेज कार्यक्रम गरेकी उनले २०७० सालमा बर्दिया बाँसगढी महोत्सवमा नृत्य गरेर कला यात्रा थालेकी हुन् ।

सरिता खनाल र टंक तिमिल्सिनाको ‘तिम्रो मन चोर्नैपर्ने भो’बाट मोडलिङ थालेकी उनले अहिलेसम्म ६० भन्दा बढी भिडियो गरिसकेकी छन् । टिका तारामी मगर र चन्द्र शर्माको ‘बाच्छीले धान खायो,’ अनिता चलाउनेको ‘एन्ट्री मार्यो मायाले,’ जय देवकोटाको ‘रुँदो हो मन,’ हरि विष्टको ‘माइतीको देश,’ भागीरथ चलाउनेको ‘जाउँला बरी लै’जस्ता भिडियोमा उनी देखिइसकेकी छन् । यिनै मोडलसँग गरिएको संवाद :

स्टेजमा चर्चित भएर पनि नायिकाको प्रस्ताव आएको छैन र ?

– आएको छ । तर, राम्रो ब्यानरबाट छैन । त्यस्तो ब्यानबाट आएको खण्डमा ‘डेब्यु’ तयारी गर्नेछु ।

त्यसो भए फिल्ममा तत्काल नआउने ?

– अहिले म्युजिक भिडियोमै राम्रो गरिरहेकी छु । स्टेज कार्यक्रममा भ्याइनभ्याइ छ । अर्को वर्षबाट मास्टर डिग्री सुरु गर्छु । त्यसपछि अभिनय सिकेर फिल्ममा आउने चाहना छ ।

स्टेज कार्यक्रम किन बढी ?

– स्टेजमा सुरुदेखि नै रमाएँ । सजिलो पनि हुन्छ । पैसा पनि हातमा आउँछ । कलेजबाट बिदा लिएर महोत्सवमा जाने गरेकी छु ।

कति आउछ एउटा कार्यक्रममा ?

– मेला महोत्सवमा जाँदा स्टेज कार्यक्रमबाट ३०–३५ हजार पाइन्छ । १० मिनेट नाचेर ३० हजार पाउनु राम्रो कमाइ हो । यो रकम लिन एउटा अफिसरले एक महिना जागिर खानुपर्छ ।

अहिले त कोरोना भाइरसले स्टेज कार्यक्रम पनि सुक्यो होला है ?

– गत बर्ष पुसदेखि फागुनसम्म १७ वटा गरें । फागुन दोस्रो साताबाट कोरोना त्रास फैलिएपछि बाँकी ७ वटा कार्यक्रम रद्द भएका थिए । अहिले फेरि व्यवस्तता बढेको छ ।

मोडलिङ यात्रा कस्तो चल्दै छ ?

– ठिकै छ । मासिक तीन–चार वटा भिडियो गरिरहेकी छु । पढाइमा पनि व्यस्त भएकाले त्योभन्दा बढीमा काम गर्न सक्ने अवस्था छैन । फेरि स्टेज कार्यक्रम पनि भ्याउनै पर्यो ।

शोषण हुन्छ भन्ने गुनासो छ त ?

– कस्तो शोषण भन्ने ? आर्थिक शोषण हुन्छ । त्यसो त, हरेक फिल्डमा शोषण हुन्छ । त्यसलाई मान्छेले कसरी हेर्छ भन्ने हो । म अहिलेसम्म त्यस्तो शोषणमा परेकी छैन ।

आश्वासन त दिन्छन् नि ?

– त्यो त कुरै नगरौं, मसँग सम्बन्धमा बस । तिमीलाई म रातारात हिट बनाउँछु, फिल्ममा स्टार बनाउँछु भन्छन् । तर, उनीहरूले विवाह गर्छु भन्दैनन् । यौनसम्बन्धका लागि मात्र प्रस्ताव गर्छन् ।

त्यस्तो बेला के जवाफ हुन्छ ?

– मबाट त्यस्तो गलत काम हुँदैन भन्छु । किनकि, नियमित म्युजिक भिडियो गर्नेबाट यस्तो प्रस्ताव आउँदैन । नयाँ मान्छेले यस्तो प्रस्ताव राख्ने हुन् । उनीहरूलाई म वास्ता गर्दिन । आफैं टाढा बस्छु ।

कसैको प्रेममा परिएको छ ?

– थियो । तीन वर्ष प्रेममा रहें । विचार नमिलेर टुट्यो । अहिले एकल छु ।

प्रेम त टुट्यो, अब के हुन्छ त ?

– अब फेरि प्रेममा फसिँदैन । अब पढ्ने, स्टेज कार्यक्रम गर्ने र पाँच वर्षपछि विवाह गर्ने सोचमा छु । विवाह गर्ने सोच बनाएपछि परिवारले पक्कै मागी विवाह गरिदिनुहुन्छ ।