Loading... आजः २४ फाल्गुन २०७७, सोमबार
आज २६ औं जनयुद्ध दिवस

यसरी भयो जनयुद्धको पहिलो फौजी कारबाही

यसरी भयो जनयुद्धको पहिलो फौजी कारबाही

काठमाडौं । देशमा संवैधानिक राजतन्त्रात्मक व्यवस्था थियो । जनताबाट निर्वाचित सरकार रहेपनि दरबारको छाया सरकारमा पर्थ्यो । राजनीतिक दलहरु मुख्यतः नेपाली कांग्रेस र तत्कालिन एमालेबीच तनावको स्थिति बनिरहन्थ्यो । दरबार पनि राजनीतिक दलहरुलाई एक–आपसमा भिडाउन सक्रिय बन्ने गर्दथ्यो ।

राजनीतिक अस्थिरताकाबीच २०५२ माघ २२ गते तत्कालिन संयुक्त जनमोर्चाका नेता डा. बाबुराम भट्टराईले ४० बुँदे माग राख्दै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाए । १५ दिनको अल्टिमेट दिएर बुझाइएको ज्ञापनपत्रलाई त्यसबेलाका प्रधानमन्त्री देउवाले खासै वास्ता गरेनन् । त्यसैबेला जनयुद्धको सुरुवात भइसकेको थियो । यो गोप्य थिएन ।

नेकपा (माओवादी) र यसको वैधानिक मञ्च संयुक्त जनमोर्चा तथा जनवर्गीय संगठनहरूले संसदमा, सडक आन्दोलनमा, साना–ठूला आमसभाहरूमा र आफ्ना पत्रपत्रिकाहरूमा राजतन्त्रसहितको संसदीय व्यवस्थालाई सशस्त्र सङ्घर्षको माध्यमबाट ध्वंश गरेर नयाँ जनवादी व्यवस्था स्थापना गर्नुपर्छ भन्दै आएका थिए । सरकारले अल्टिमेटमलाई वास्ता नगरेपछि तत्कालिन माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध उद्घोष गर्यो ।

पहिलो फौजी कारवाही

२०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु भयो । एक महिनाको अवधिमा नै साना–ठूलो गरी झण्डै ६ हजार कारबाहीहरु भए । जनयुद्ध सुरुवातमा ६ वटा कारबाही भए । रुकुमको आठबीसकोट राडिज्यूला, रोल्पाको होलेरीमा रहेको प्रहरी चौकीमाथिको आक्रमण, सिन्धुलीको सिन्धुलीगढीस्थित प्रहरी चौकीमाथिको आक्रमण, गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकको साना किसान आयोजनाको कार्यालय सेबोटेज, काभ्रेको एक जनाबाट लाखौंका तमसुक तथा अन्न र सम्पत्ति (भाँडाकँुडा) कब्जा तथा काठमाडौंको पेप्सीकोला कारखानाको सेबोटेज पर्दछन् ।

रुकुमको आठबीसकोटको प्रहरी चौकीमा भएको कारवाही

रुकुम कारबाहीका कमिसार हेमन्तप्रकाश ओली (सुदर्शन) थिए र मुख्य कमान्डरमा गणेशमान पुन थिए । ३९ जनाको यस छापामार टोलीमा रुकुम, जाजरकोट, डोल्पा र सल्यानका लडाकु योद्धा थिए । यस टोलीलाई विभिन्न टिममा विभाजन गरिएको थियो । मुख्य एसल्ट टिमको कमान्डर दौलतविक्रम घर्ती थिए, उनी पछि शहीद भए । यो छापामार टोलीको जिम्मा चौकीको ढोका फोरेर भित्र पसी प्रहरीलाई आत्मसमर्पण गराउने र भएका हतियार र विस्फोटक पदार्थ कब्जा गर्ने थियो ।

अर्को रिजर्भ टिम थियो जसको जिम्मा बाहिरबाट चौकीलाई घेर्ने र आवश्यक परेमा एसल्ट टिमलाई सहयोग गर्ने थियो । अर्को उपचार टिम थियो जसको जिम्मा साथीहरू घाइते भएमा उपचार गर्नु थियो । अर्को सिज टिम थियो जसको जिम्मा सामानहरू कब्जा गर्नु थियो । यसमा तीनजना महिला छापामार पनि थिए जसमध्ये कमला रोका पछि मन्त्री भइन् । यी ३९ जनामध्ये करिब आधाजसो पछि शहीद भए ।

चौकी आक्रमण सबैतिर राति नै गर्ने निर्णयअनुसार अघिल्लो दिन राति नै राडिज्युला चौकीभन्दा करिब चार–पाँच घन्टा टाढाको एक गाउँमा सबै छापामार टिम जम्मा भएर खाना खाई सबै सदस्यहरूलाई आ–आफ्नो जिम्मा सम्झाएर कमिसार सुदर्शनले बिदा गरे । गणेशमान पुनको नेतृत्वमा गएको यस टोली करिब मध्यरात राडिज्युला पुग्यो । यो सानो बजार भएको गाउँ हो र जाजरकोट र रुकुमको सिमानामा खोलाको छेउमा अवस्थित छ ।

पुलको छेउमै प्रहरीचौकी थियो । चौकी नजिक सबै टिम पुगेपछि पुलमा बनाइएको पर्खाल चढेर कमान्डर गणेशमान पुनले आक्रमणको आदेश दिए । दौलत घर्ती नेतृत्वको टिमले चौकीका ढोकाहरू बन्चरोले फोड्न थाले । अरू टिमले चौकी घेर्यो । ढोका फोडेर भित्र पसी छापामारहरूले प्रहरीहरूलाई आत्मसमर्पण गर्न भने । जानकारी नै नभएका प्रहरीहरू त्रसित र आतंकित बने । उनीहरुले हात उठाएर आत्मसमर्पण गर्दै रुन थाले ।

त्यसपछि दौलतले जनयुद्ध सुरुवात गर्न आएको भन्दै छापामारहरूलाई सबै सामान कब्जा गर्न आदेश दिए । छापामारहरूले चौकीमा भएका बाटो बनाउन ल्याइएका विस्फोटक पदार्थ जिलेटिन र फ्युज वायर तथा डिटोनेटरहरू सबै कब्जा गरे । प्रहरी सबैलाई बाँधेर चौकीभित्रै सुताएर छोडे र बाहिर आई जनयुद्ध जिन्दावाद, नेकपा (माओवादी) जिन्दावाद, प्रतिक्रियावादी व्यवस्था मुर्दावाद, नयाँ जनवादी व्यवस्था जिन्दावाद, मालेमा वाद जिन्दावाद आदि नाराहरू लगाए ।

प्रत्येक महिना सदरमुकाममा रिपोर्ट गर्न चौकी इन्चार्ज आफ्नो एक हतियारसहित जाने कुरा छापामारहरूलाई थाहा भएन जसले गर्दा हतियार कब्जा भएन । कारबाही सफल भएपछि लडाकुहरु हौसिए र बजारमा रहेको एक कपडा पसल पनि कब्जा गरेर कपडा सबै कब्जा गरे । बोक्न सक्ने जति बोकेर फर्के र नसकेको कपडा खोलामा फालेर सबै टोली पहिला नै निश्चित गरिएको गाउँमा पुग्यो ।