Loading... आजः २० फाल्गुन २०७७, बिहीबार
पुस्तक चर्चा

साथीकै श्रीमानसँग अफेयर !

साथीकै श्रीमानसँग अफेयर !

नेपाली पढाउने अञ्जना म्यामले एक दिन मलाई सारै रिस उठाउनु भयो । त्यस्तो गल्ती मैले केही गरेकी थिइनँ । ट्वाइलेट गएर आउँदा एकछिन ढिला भएको मात्र थियो । त्यतिबेला मलाई मिन्स भएको थियो । प्याड फेर्दा एकछिन टाइम त लाग्ने भइहाल्यो । क्लासमा ढिलो आएको कुरालाई लिएर उहाँले मलाई नराम्रोसँग हप्काउनुभयो । सब साथीहरुका अगाडि बेइज्जत हुने गरी ।

कक्षामा एकपटक उहाँले भन्नुभएको थियो, ‘कसैको अपमान गर्नु छ भने सोचेर, तौलेर मात्र गर्नु । किनकि अपमानको बदला लिन मान्छे हरबखत मौकाको ताकमा हुन्छ ।’ तर यो कुरा उहाँ आफैँले ख्याल गर्नुभएन । म पनि के कम ? रिसले टाउको तात्तिएकै बेला कसम खाएँ, जुनसुकै मूल्य चुकाएर भए पनि यिनलाई सबक सिकाएरै छाड्छु । भनाइ नै छ, रिस उठेको बेला निर्णय नगर्नु । खुसी भएको बेला कसैलाई केही दिन्छु भनेर प्रमिस नगर्नु तर मैले निर्णय गरेँ ।

उहाँ अनम्यारिड हुनुहुन्थ्यो । ब्वाइज–कट कपाल तर बाक्लो । दसहरी आँपजस्तै सुलुत्त परेको लाम्चो अनुहार । खोपिल्टाभित्र गाडिएका जस्ता आँखा । आँखामा नलगाए पनि चस्मा टाउका सिउरी रहनुपर्ने । बेसनको पिठोजस्तै गोरी । डिल्लीबजारतिर घर भएकी खाँटी बाहुनकी छोरी । हाइट त्यति धेरै नभए पनि रुपमा निकै राम्री । तर बानी ब्यहोरामा चाँही साह्रै चाम्री । संयोग पनि कस्तो मीठो ! बदला लिने मौका जुरिहाल्यो । एक हप्ता पनि नबित्दै ।

साँच्चै भन्ने हो भने मनले चाहेको कुरा पाउने सवालमा म एकदमै भाग्यमानी छु । कहिल्यै कुनै कुरामा मैले आफ्नो इच्छालाई दबाउनुपरेको छैन । त्यतिबेला स्कुलले अभिभावहरुलाई निम्त्याएर तीन दिने ‘स्कुल फेस्ट’ आयोजना गर्न लागेको थियो । कार्यक्रममा साहित्यिक रुचि हुनेहरुले कथा, कविता सुनाउन पाउँथे । साइन्समा इन्ट्रेस्ट भएकाहरुले आफ्नो क्रिएसन सो गर्न पाउँथे । नाचगान गर्न मन हुनेहरुले पनि आफ्नो ट्यालेन्ट सो गर्न सक्थे । कार्यक्रम सुरू हुने अघिल्लो दिन तयारीका सिलसिलामा हामी टिचर्स रुममा गएका थियौँ ।

टिचर्स रुममा फेस्ट अर्गनाइजमा खटिने विद्यार्थीहरु थिए । कार्यक्रममा होस्ट गर्नेहरु पनि थिए । एक्सट्रा एक्टिभिटिज हेर्ने सरले हामीलाई सम्झाउँदै हुनुहुन्थ्यो । कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भनेर । त्यही बेला मेरा आँखा अञ्जना म्याममाथि पर्यो । उहाँ टेबलमा भएको ल्यापटप अन गर्दै हुनुहुन्थ्यो । ल्यापटपमा के गर्नुहुँदो रहेछ भनेर मलाई क्युरेसिटी भयो । कसैले थाहा नपाउने गरी अञ्जना म्यामको पछाडि म भित्तातिर गएर अडेस लागेँ । त्यहाँ अलिकति स्पेस खाली थियो । उहाँले मोजिल्ला फायर बक्सबाट फेसबुक खोल्न थाल्नुभयो ।

मेरो उत्सुकता अरु जाग्यो । यूजर आइडी र पासवर्ड थाहा पाउन । किबोर्डमा उहाँले चलाएका औँलाबाट मैले थाहा पाइहालेँ । यूजर आइडी अन्जनाएटीवान थियो । पासवर्ड चाहिँ सुमित डी रहेछ । को होला त्यो सुमित डि भन्नेचाहिँ ? मलाई कत्तिखेर आफ्नो रुममा पुगेर उहाँको फेसबुक लगअन गरौँजस्तो भइहाल्यो । तीन बजेतिर रुममा पुगेर हतारहतार उहाँको फेसबुक लगअन गरेँ । थाहै नदिई अर्काको फेसबुक खोल्न पाउँदा बडो आनन्द आउँदो रहेछ । संसारै जितेजस्तो ।

उहाँको फोटाहरु हेरिसकेपछि मलाई उहाँको च्याट बक्स हेर्ने क्युरेसिटी जाग्यो । को–कोसँग के–के कुरा गर्नुहुँदो रहेछ भनेर थाहा पाउन । कलेज पढ्दाका तीन–चारजना केटी साथी, हाम्रो स्कुलमा प्राइमरी लेभलमा पढाउने प्रशान्त सर र सुमित ढुंगाना नामको एक जना केटासँग उहाँको बढी च्याट हुँदो रहेछ । सबैभन्दा पहिला मैले केटी साथीहरुसँग भएकै कुराकानी हेरेँ । पालैपालो । तीमध्ये दुई जना अनम्यारिड । तीन जना म्यारिड । त्यसमध्ये एउटी पिआरवाला केटा फेला पारेर अस्ट्रेलिया गइसकेकी ।

एउटीको चैँ बूढोसँग खटपट भएर डिभोर्सको स्थितिमा पुगेको । अञ्जना म्यामलाई सबै कुरा खोलेकी रहिछ शर्मिला नामकी त्यस साथीले । ब्रेडदेखि बेडसम्मका कुरा । बूढोले मलाई यसो भन्छ, रातिराति यसो गर्छ, घरमा म हुँदाहुँदै बाहिर तीनवटीसँग सल्किरैछ, सप्पै । अञ्जना म्यामले चैँ उसलाई सम्झाउनुहुँदो रहेछ । एक ठाउँमा उहाँले लेखेको देखेँ, ‘लोग्नेमान्छे सप्रिए भने आफ्नै भाग्यले भन्छन्, बिग्रिए भने दोष स्वास्नीमान्छेलाई आउँछ । त्यसैले तँ जतिसक्दो कूल भएर व्यवहार गर । सँगसँगै झगडा गर्न छाडेर कूल भइस् भने एक दिन आफैँ सुध्रिन्छ ।’

‘घरमा म हुँदाहुँदै बाहिर गर्लफ्रेन्ड राख्तै हिँड्छ, अनि कसरी सहनु ? त्यै पनि एउटी राखे त हुन्थ्यो नि…।’ ‘राख्छ भने राख्न दे न । कतिवटा राख्छ राखोस् । तेरो घरभित्र हुलेन भने भएन ?’ म्यामले सम्झाउनु हुँदोरहेछ । तर उहाँले लेखेको यस कुराले मेरो मन चसक्क भयो । शर्मिलाको लोग्नेका बारेमा थाहा पाउन मन लाग्यो । शर्मिलाको प्रोफाइल खोलेँ । विपिन विमली रहेछ त्यसको नाम । अञ्जना म्यामको पनि फेसबुक फ्रेन्ड रहेछ ऊ । विराटनगरको महेन्द्र मोरङमा पढेको । काठमाडौँमा ट्राभल बिजेनस गर्ने । मान्छे पनि निकै क्युट । अनमोल केसीजस्तो ।

खङरङ्ग भएँ म । खुट्टा चिप्लेर भीरबाट गुल्टिँदा जस्तै । अञ्जना म्यामले शर्मिलाको श्रीमान् विपिनसँग गरेका च्याटका कुरा पढेपछि । आइमाईको किलकिले हुँदैन भनेर त्यसै भनेर त्यसै भनेका रैनछन् मान्छेले । शर्मिलाले विश्वास गरेर भनेका सप्पै कुरा विपिनलाई सुनाइदिनुहुँदो रहेछ । उहाँहरुको च्याट कुराकानी पढेपछि अर्को रहस्य पनि खुल्यो । विपिनका तीनवटी गर्लफ्रेन्डमध्ये एउटीचाहिँ अञ्जना म्याम आफैँ हुनुहुँदो रहेछ । च्याट पूरै ननभेज थियो । थाहा भइहाल्यो ।

कसरी घात गर्न सक्या होला? त्यति आत्मीय साथीलाई पनि! कसरी भाँडिदिन सक्या होला आफ्नै साथीको घर? अहिले सम्झँदा पनि अचम्म लाग्छ मलाई । आइमाईले चाहे भने जे पनि गर्न सक्छन् भनेर त्यसै भनेका होइन रहेछन् मान्छेले । त्यस कुराले रन्थन्यायो मलाई निकै दिनसम्म । ‘इज्जत कमाउनलाई पैसा खर्च गर तर पैसा कमाउनलाई इज्जत खर्च नगर ।’ क्लासमा पढाउँदा बेलाबेला उहाँ हामीलाई भन्नुहुन्थ्यो, ‘इमेज बनाउन तिम्रो सिङ्गो जीवन खर्च हुन सक्छ तर बनेको इमेज गुमाउन छिनभर पनि लाग्दैन ।’

त्यही दिन थाहा पाएँ मैले । अरुका अगाडि आदर्श छाँट्नु र आफैँले व्यवहारमा लागू गर्नुबीच समुद्र र सगरमाथाजत्तिकै अन्तर रहेछ । एक दिन उहाँको च्याटबक्स खोल्दा सुमित देवकोटा नामको केटासँग लास्ट च्याट भएको देखेँ । खोलेर हेर्ने खसखस लागिहाल्यो । अचम्ममा परेँ म । म्यामको त त्यस केटासँग पनि अफेयर रै’छ ! एकैपटक कति जनासँग चल्या हो फेरि अफेयर पनि ! छक्कै परेँ म । एकछिन त होइन कि भन्ने पनि सोचेँ । स्कुलका हरेक रूल्स रेगुलेसनहरु पालन गर्ने, अरुहरुले पनि एकदमै जेन्टल भनेर प्रशंसा गरिएकी म्यामले पनि त्यसो गर्न सक्नुहोलाजस्तो लाग्दैन लागेन ।

मलाई रिस उठाउनु एउटा कुरा थियो । तर उहाँको चरित्र त्यस्तो हुनु अर्कै कुरा । यहाँ त लहरो तान्दा पहरो पो गर्जिरहेको थियो । एउटा सानो कारणले उठेको रिसको बदला लिन खोज्दा अर्कैअर्कै पाटाहरु देखिन थालेको थियो । मलाई आफैँलाई विश्वास गर्न गाह्रो भइरहेको थियो । तर आफूलाई विश्वास गर्न मुस्किल भएर के गर्नु ? उहाँले गरेका च्याटका कुराकानी मेरै सामुन्ने थिए । त्यसपछि सुमित देवकोटा भन्ने केटा को रैछ भनेर थाहा पाउन मन लाग्यो । किनकि उसले प्रोफाइल पिक्चरमा एउटा कार्टुन राखेको थियो ।

र त्यो प्रोफाइल पिक्चरले मात्र सबै कुरा थाहा पाउन सम्भव त थिएन । त्यसैले त्यो नाउँ गरेको आइडीको पूरै स्टर्किङ गर्न थालेँ । त्यो प्रोफाइल खोलेर हेर्दै गएपछि त निसास्सिएँ म । पूरै तिलमिलाएँ । पौडिन नजानेका बेला स्विमिङ पुलमा डुब्दाजस्तो हुन्छ नि त्यस्तै । हे भगवान् ! यस्तो पनि हुन्छ ? त्यो सुमित अरु कोही नभएर हाम्रै स्कुलको टेन क्लासको टपर स्टुडेन्ट थियो । अङ्ग्रेजी पढाउने गोविन्द सरको छोरो । हाम्रो गोविन्द सर पनि सारै सज्जन । उहाँले एकचोटि क्लासमा भन्नुभएको कुरो म अहिले पनि बिर्सन्न, ‘जमिनमा खडेरी पर्यो भने केही उम्रिँदैन । तर दिमागमा खडेरी पर्यो भने झारपात मात्रै उम्रन्छ ।’

०००

अञ्जना म्यामको फेसबुक आइडी फेला पारेपछि बिथोलियो केही समय मेरो पढाइ । अलिकति फुर्सत भयो कि रुममा पुगेर फेसबुक खोलिहाल्ने । आफ्नोभन्दा अञ्जना म्यामको फेसबुक खोल्न लालायित हुन थालेँ म । नयाँ कुराकानी के भएछ भनेर थाहा पाउनै हतार । क्लासमा पढ्न बसेका बेला पनि त्यही कुरा मात्रै याद आउने । आँखामा जतिखेरै पनि उहाँकै अनुहार छाउने । साथीहरुसँग घुलमिल हुन, खेल्न, उफ्रिन साह्रा काम बन्द गरेर मेरा ध्यान अञ्जना म्याममा केन्द्रित भइरहेको थियो ।

आफ्नै साथीको श्रीमान् पट्याउनुका पछाडि त ईष्र्याको मनोविज्ञानले काम गर्या होला । तर आफैँले पढाएको विद्यार्थीसँग चैँ कसरी अफेयर गर्न सक्या होला ? त्यो पनि झन्नै नौ वर्ष कान्छो उमेरको । मलाई खपीनसक्नु भएर आयो । के गर्ने, के नगर्ने सोच्नै सकिनँ । झन्नै एक सातासम्म यही कुराले मात्र दिमाग ओगटिरह्यो । अचानक एक दिन एउटा आइडिया आयो । त्यो पनि उहाँकै क्लासमा बसेका बेला । स्कुल छुट्टी भएपछि हतारहतार होमवर्क सकेँ । अनि आन्टीसँग गएर ल्यापटप मागेँ । प्रोजेक्ट वर्क गर्नु छ भनेर । आदित्य अङ्कलसँग मागेकी हुन्थेँ भने यहीँ बसेर गर भन्नुहुन्थ्यो होला । तर आन्टीले रुममा लिएरै जान दिनुभयो ।

त्यसअघि पनि मागेकी थिएँ मैले उहाँसँग ल्यापटप । प्रोजेक्ट वर्ककै लागि । शङ्का गर्ने कुरै भएन । अनि सरासर रुममा गएर उहाँको फेसबुक खोलेँ । अनि अञ्जना म्यामले विपिन विमली, शर्मिला र सुमित देवकोटासँग गरेका च्याटका कुराकानीलाई स्क्रिनसट गरेर आफ्नै जिमेलमा सेभ गरेँ । मैले डेक्सटपमा भएको फाइल डिलिट गरेँ । अनि ल्यापटप लगेर म्यामलाई बुझाएँ । बेलुका साढे आठ बजेतिर अङ्कलले बोलाउनुभएको खबर लिएर आया दिदी आइन् । किन होला भन्ने सोच्दै उहाँको बैठक रुममा गएँ ।

अचम्म ! मैले डिलिट गरेको भनेको स्क्रिनसट उहाँले फेला पार्नुभएछ । रिसाइकल बिनमा कुन्नि के खोज्ने हुँदा । म पनि कस्तो हुस्सु ! डेस्कटपबाट मेट्ने बुद्धि हुनेलाई रिसाइकल बिनबाट पनि मेट्नुपर्छ भन्ने ज्ञान कस्तो नभएको । उहाँले सोध्नुभयो, ‘खास के हो यो ? अञ्जना म्यामको फेसबुकको पासवर्क कसरी ह्याक गर्यौ ?’ त्यसबेला आन्टी पनि सँगै हुनुहुन्थ्यो । उहाँले पनि सबै पढिसक्नुभएको रहेछ । लुकाउनुपर्ने के थियो र ? मैले सबै कुरा बताइदिएँ । एकरत्ती पनि नढाँटी ।

‘उफ्…!’ उहाँले लामो श्वास फेर्नुभयो । अनुहारमा चिन्ताका धर्सैधर्सा देखिए । अङ्कलले भन्नुभयो, ‘सोझी होलिन् भनेको अञ्जना त गरेर नसकिने मान्छे पो रैछिन् ! के गर्ने होला अब यिनलाई ?’ उहाँलाई शर्मिलाको श्रीमानसँग अफेयर गरेको कुराले भन्दा पनि आफ्नै स्कुलको अब्बल विद्यार्थी सुमितसँग अफेयर गरेको देखेर कन्पारो तातेको थियो । ‘के गर्ने नि ? भोलि आफ्नो अफिसमा बोलाउने अनि तपाईँको सेवा आवश्यक परेन भनेर बिदा गर्ने ।’ आन्टी पनि निकै रिसाउनुभएको थियो ।

‘लास्ट टर्मिनलको इक्जाम आउन लागेको छ । भन्नेबित्तिकै अर्को राम्रो टिचर पाइँदैन ।’ अङ्कलले भन्नुभयो, ‘एकैचोटि आवेशमा आएर निर्णय लिएर कहाँ हुन्छ ?’ ‘ठिकै छ नि त । एक–दुई दिन सोचौँ ।’ आन्टीले पनि सहमति जनाउनुभयो, ‘त्यतिन्जेलसम्ममा केही न केही उपाय निस्केला नि ।’ अङ्कल आन्टीले मलाई बिदा दिनुभयो । उहाँहरुको रुमबाट निस्केपछि खुसीले तीन फुट माथि उफ्रिउँजस्तो भो मलाई । मेरो केटाकेटी बुद्धि ! कोठामा आएपछि डान्स गर्न थालेँ । ‘बल्ल पर्यौ च्याखुरी आफ्नै फन्दामा…’ भन्दै । त्यसको तीन दिनपछि देखि अञ्जना म्यामलाई स्कुलमा देख्न परेन । (अजम्बरी पब्लिकेशनले यसै साता बजारमा ल्याएको पुस्तक अफेयरबाट)