Loading... आजः २८ बैशाख २०७८, मंगलवार
बैदेशिक रोजगारीको पीडा

स्वदेशबाट आमाको सन्देश, ‘छोरा फर्केर आइजा, पैसाले हाम्रो खुशी किन्न सक्दैन’

स्वदेशबाट आमाको सन्देश, ‘छोरा फर्केर आइजा, पैसाले हाम्रो खुशी किन्न सक्दैन’

म एक विपन्न परिवारको सदस्य । खाना लाउनलाई धौधौ छ । बाबा आमालाई छोराछोरीको भविष्यको चिन्ता । धन्न (गाउँका रामप्रसाद साहु भन्ने अंकलले मेरी जेठो दिदीलाई घरको काममा कामदारको रुपमा राखेको हुँदा मासिक तीन हजार तलब आउँदा घरको छाक टार्न र मेरो पढाईमा खर्च गर्न पनि भ्याउँदैन थियो । भ्याइनभ्याइ काम चलाउनु पर्दथ्यो । मेरो स्कुलको फि बढी हुँदा ओल्लोपल्लो घरको छिमेकीलाई सहयोग माग्दा पनि पत्याउदैन्थे । जीवन एकदमै दयनिय अवस्थामा गुज्रिरहेको थियो । स्कुलले भने कैले कतै राहत वितरण गरेको हुन्थ्यो, मेरो पढाईप्रतिको लगाव जेहेन्दार विधार्थीको रुपमा कहिले फि फ्री त कहिले पुरुस्कृत भने गर्थे ।

मैले सधैं पढाईमा राम्रो गरेको देख्दा गुरुहरुको पनि प्यारो नि थिए । पढाई पनि राम्रै थियो । बोकिरहेको थिए सपना सहरमा गएर राम्रो इन्जिनियरिङ्ग पढ्ने । जसोतसो गरेर लगभग पढाई पनि माध्यमिक तहको अन्तिम अन्तिमतिर थियो । यतिकैमा घरमा जटिल समस्या उत्पन्न भयो । दिदीले सुटुक्कै बिहे गरेर पराइ घर गइछन । अलिअलि दिदीले साहुको घरमा काम गरेर ल्याएको पैसाले घरको छाक र मेरो पढाइ त चलिरहेको थियो । अब यो पनि ठप्प भयो । कतैबाट आयस्रोतको बाटो नै रहेन । आमाले विकल्प खोज्नुभयो, आफुले गिट्टी फोडेर मलाई पढाउने निधो गरिन् । मैले माध्यमिक तहको परिक्षा दिए । परिक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण भएछु । आमाले खुशी हुदै भन्नुभयो । अब तेरो शहर गएर इन्जिनियरिङ्ग पढ्ने सपना पुरा भयो ।

म एकछिन निरास भएर सोच्न थाले । आमाले फेरी भन्नुभयो, के भो तलाई किन निराश ? मैले भने आमा हामीसँग त्यत्रो इन्जिनियरिङ्ग पढ्ने पैसा नै छैन कहाँबाट पढ्ने भनेर सोचेको । आमाले थप्दै भन्नुभयो, म अरु केही जान्दिन तैले शहर जानैपर्छ । बरु पैसाको लागि त्यो गोठमा भएको लैनो भैंसी बेचौंला । अनि मैले बिहे गर्दा माइतीपट्टीले दाइजोमा दिएका कासका थालकचौरा छन्, त्यही बेचौला र म गिट्टी फोड्ने काम पनि गर्दैछु । त्यहाँबाट पनि केही पैसा आइहाल्छ । आमालाई केही थाहा थिएन, शहरमा धेरै गाह्रो हुन्छ भन्ने छोरा बहर गएर पढे हुन्थ्यो मात्र सोच्नुभएको थियो । मैले आमाको कुरा नकार्न पनि सकिन किन कि मैले पनि सानैदेखि शहर गएर पढेर राम्रो इन्जिनियर बन्ने सपना देखेको थिए । मात्र पैसाको अभावमा दोधारमा थिए ।

यतिकैमा रात पर्छ म रातभर सोचिरहन्छु । हुन त आमाले ठिक भन्नुभयो, शहर गएर पार्टटाइम काम गरेर पनि पल्लोघरे अंकलको छारा पढिरहेको छ नि । मोरो मनमा पनि हिम्मत पलाउँछ, मैले पनि पार्टटाइम जब गर्छु सगै पढ्छु भनेर । दोस्रो दिन बिहानै शहर जानका लागि तयारी हुन्छु । र सहर जान्छु, पल्लोघरे अंकलको छोराको रोहवरमा कोठा लिन्छु, कलेज भर्ना गर्छु, शहरमा अलि ब्यवस्थित हुन्छु । यतिकैमा महिना बित्छ । अब घरबाट अलिअलि जम्मा गरेर ल्याएको पैसा खतम हुन थाल्छ । म भौतारिँदै कामको खोजीमा निस्कन्छु । निकै गाह्रो हुँदोरहेछ काम भेटाउन पनि । कतै काम नभेटाएपछि म निराश हुँदै कोठमा फर्कन्छु । पैसाको लागि घरमा फोन गरम भने कताबाट ल्याउछिन्, ति बुढी आमा सोच्थे । यता भने कलेजको फि तिर्ने बेला भैसक्यो अनि घरबेटीको घर भाडा तिर्न बेला भैसक्यो । आफु भने पार्टटाइम कामको भरमा शहर छिरेको । काम नभेटाएपछि मेरो दिमाग निकै तनावग्रस्त भएको हुन्छ ।

यतिकैमा मेरो आखाले टेबुलमा रहेको न्युज पेपर देख्छु अनि पढ्छु, लेखिएको हुन्छ बैदेशिक रोजगारी खुल्यो । म मनमनै मनन गर्छु, विदेश पलायन हुँदा केही जीवनमा परिवर्तन आउँछ कि ? निकै मनन् गरेपछि यो यस्तो जीवन जिउनुभन्दा विदेश गएर पैसा कमाउदा उत्तम होला । त्यसको भोलिपल्टै म्यानपावरमा गएर कुरा राख्छु । हुन्छ भोली नै आउ । तिमीसँग भएका कागजात पनि लिएर आउ भनेपछि मैले मापदण्ड अनुसार सबै प्रक्रिया मिलाएपछि पैसाको खाँचो थियो । तरसमस्या पैसाको रहेन किनकि विदेश जान्छुभन्दा जो कोहीले पनि पैसा पत्याउदा रहेछन् । गाउँकै साहु भनिने रामप्रसाद अंकलले नै वैदेशिक रोजगारी जानका लागि पैसालाई ब्याजमा पैसा दिनुभयो । उता घरमा भने आमालाई यो कुरा थाहै छैन । पैसा र कागजात बोकेर भोलिपल्ट म्यानपावरतिर जान्छु र म्यानपावरका कर्मचारीले भन्नु हुन्छ, ल ठिक छ तिम्रो भिषा पक्कै लाग्छ तर दुई तीन महिना प्रतिक्षा गर्नुहोस् । ल हुन्छ भन्दै म मुसुक्क हाँस्दै बाहिरिए । दिनहरु बित्दै जाँदा एकदिन म्यानपावरबाट फोन आउँछ ल बधाई छ है, भिषा आयो भोली नै उडान छ । तपाई तयारी भएर बस्नुहोस् । मैले खुशी हुँदै हस् भन्दै फोन राख्छु ।

अब आमालाई कल गरौं भन्दै कल गरे र भने आमा मलाई माफ गर्नुहोस् है मेरोसँगै तपाईको सपना साकार पार्न सकिन । राम्रो इन्जिनियरिङ्ग पढ्न सकेन शहरमा ब्यवस्थित हुन निकै न गाह्रो हुँदोरहेछ आमा । त्यसैले म भोलि नै विदेश जाँदैछु आमा । आमाले रुदै जवाफ दिनुभयो यतिठुलो निर्णय तैले एक्लै कसरी गरिस् । आमा माफ गर्नुहोस्, तपाईलाई सुनाउने सामर्थ्य मसँग भएन । ठिकै छ आमा, हाम्रो गरिबीले इन्जिनियरिङ्ग पढ्न त सकिँन । बस, अब तपाईले मेरै लागि बेचेको लैनो भैसी र कासका थालकचौरा किन्न सक्ने र तपाईको च्यातिएको चोली फेर्न सकु । च्यातिएका चप्पल फेर्न सकु, बस यही चाहना छ, आमा मलाइ आशीर्वाद दिनुहोस् । आमाले रुदै भन्नुभयो, यो सब ठिक त गरिनस् आफ्नै देशमा केही गरेको भए राम्रो हुन्थ्यो । हामीलाई चाहिँदैन थियो पैसा, हलो जोतेरै खाए नि ठिक थियो । तर रहर गरिछस् ठिकै छ राम्रोसँग जानु आफ्नो स्वास्थ्यको ख्याल राख्नु भन्दै फोन काटियो । अब भोलि नै उडान हुनुपर्ने तयारी गर्न थाले । अनि आजको रात यतिकै जान्छ । बिहान एयरपोर्ट पुग्छु र जहाज चढ्छु । केहीछिनमा धर्ति छोड्दै जहाजले आकाशको गति लिन्छ । आकासमा उडानको लामो समयपछि विदेशी भूमिमा अवतरण हुन्छ ।

एयरपोर्टमा मलाई लिनका लागि तल्लाघरे अंकलको छोरा प्रताप आइसकेको हुन्छ । प्रताप भएकै कारण मलाई त्यहाँ केही अप्ठ्यारो भएन । त्यहाँबाट कोठातिर लाग्यौं । केहीबेरमा खाना खायौं र अलि गफ गर्दै थियौ । भोली नै काममा जानुपर्ने भएकोले र लामो समयसम्म उडानपछि थकान लागेको हुँदा मलाई निन्द्रा लागिहाल्यो । म सुते छु । भोलिपल्ट बिहान भैसकेछ । प्रतापले खाना पनि बनाइसकेछ । डिउटीको टाइम पनि भएछ । अलि थकानका कारण घरको भन्दा अलि बढी नै सुतेछु । प्रतापले मलाइ ब्युझाउँदै भन्यो उठ् न कति सुतिराको डिउटी टाइम भैसक्यो । म हतार मा उठे खाना खायौ डिउटी गयौ । दिनचर्या यस्तै बित्दै गए । दिन बिते, हप्ता बिते, महिना बिते, तर पनि घरमा एक कल फोन गरेको छैन । गर्न मन त थियो तर मसँग पैसा थिएन कम्पनीले पनि महिनौं हुँदा पनि ज्याला दिएको छैन । ८ घण्टा भनेर काम सुरु गरेकोमा कम्पनीले १४ घण्टासम्म काम लगाउँदो रहेछ । यस्तै बित्दै जान्छन् । दिनहरु आज विदेश आएको पनि ६–७ महिना भैसकेछ । कम्पनीले न तलब दिएको छ, न म्यानपावरसँग सम्पर्क गर्न दिएको छ । दिनहरु बित्दै गए ।

एक दिन काम गर्दागर्दै एक्कासी चक्कर आउँछ म बेहोश हुन्छु । र अस्पताल लिएर जान्छन् । एकदमै छाती दुखिरहेको छ, भेन्टिलेटरबाट आइसोलेशनमा सारेको पनि हप्तौं भैसकेछ । बिरानो मुलुकमा आफनो भन्ने छैन । प्रताप थियो, उसले एक दिन काम नगर्दा पछिल्लो दिन काम छोड्नुपर्थ्यो । त्यसैले उसको पनि फुर्सद नै छैन । मेरो आफ्नै देश ठिक थियो । केही गरौंला आफ्नै देशमा भन्ने इच्छा नै रह्यो । बाँच्ने सानो मनमा आशाका साथ प्रतापलाई थोरै पैसा सापटी माग्दै आमालाइ फोन गरे । आमा ढोग गरे, मेरो छोरा यतिका दिनसम्म किन फोन गरिनस् । त त बुढेसकालको सहारा होस् बाबु । म त पागल भैसके छोरा नेपाल राम्रो छ नजा भन्दा मानिनस् तेरो कोठाको भित्तामा रहेको फोटो निहाल्दै रुदै बस्छु बाबु । यति भन्दै आमा बेहोश हुन्छिन् पल्लाघरे आन्टीले मोवाइल समात्दै भन्नुभो । छोरा तेरो आमाले हरदिन तेरैमात्र नाम लिन्छिन् । घरमा मिठो परिकार पाकेको दिन तेरो आमा भोकै बस्छिन्, बाबु तिम्रै लागि । कोही तयार भएर स्कुल गएको हेर्नै सक्दिनन् । तेरो यादले त गएको ६ महिनादेखि हजारौं पटक तेरै फोटो हेरेर बस्छिन् । त्यही फोटो हेरेर भन्छिन्, सानो थियो, हिँड्न जान्दैन्थ्यो, आज ठुलो भएछ, काम गर्न आउदैन्थ्यो, कसरी काम गरिरहेको होला भन्दै रुदै बस्छिन् । तँ तेरो आमाको मुटुको टुक्रा नै रहेछस् ।

यति भन्दै फेरी आमा बोल्नुभयो, तेरो खुबै न्यास्रो लाग्छ बाबु आइजा छोरा फर्केर त्यो पैसाले हाम्रो खुशी किन्न सक्दैन । यति सुनिसक्दा मलाई स्वास फेर्न गाह्रो भैसकेको थियो, मैले फोट काटिदिए डाक्टरहरुले मलाई अक्सिजनको पाइप जोड्न थाले, मनले भन्न थाल्यो, हे भगवान ! नेपालमै भएको भए मेरी आमासँगै हुन्थे । यहाँ आएर थाहा भयो, निमोनियाले ग्रस्त बनाएछ । ६–७ महिनाअघि नेपालमा चेक गराउँदा त ठिकै त थिए । कसरी निमोनिया भयो ? म आफैं अन्योलमा परे । हे भगवान ! अब धेरै बाँच्नु छैन केही महिना भए पुग्छ, मेरी आमासँग माया साट्न पाए पुग्छ, आमाले पकाएको खाना खान पाए पुग्छ । आमासँग भेट गराइदेउ भगवान । आँखा लोलाउँदैछन्, सबैलाई बाइ गरेको देखिरहेको छु मनमा प्रश्न उब्जिरहेका छन् । पहिलो पटक हवाइजाहज चढ्दै गरिबबाट मुक्ति पायौ भन्दै झुटो खुशीले छिरेको देशबाट साँच्चै खुशीका साथ मेरो देश भित्रिन सक्छु त ? निकै समयले नेटो काट्दैछ । आमाले अंकमाल गरेर बाई गरेको देखिरहेको छु । मुटुको चाल एकदमै सुस्त भैसक्यो । मनमा आमाको माया र देशको माया बटुल्दै सधाका लागि मेरा आँखा बन्द हुन्छन् । मुटुको गतिमा ब्रेक लाग्छ । यो संसार छोडेर विदा हुन्छु, आमाको काखबाट । (कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ ।)

 

दिपक बिक
मष्टा गाउँपलिका–२ खिकाला, बझाङ
हाल : भारत बैङ्लोर