Loading... आजः २८ बैशाख २०७८, मंगलवार
अपराध

बलात्कार र हत्याले उब्जिएको आशंका : कम उमेरका बालिका अपराधीको ‘टार्गेट’मा

बलात्कार र हत्यासम्म पुगेका घटनामा उमेरको फ्याक्टर प्रष्ट देखिन्छ ।
बलात्कार र हत्याले उब्जिएको आशंका : कम उमेरका बालिका अपराधीको ‘टार्गेट’मा

बाँके । धेरैजसो बलात्कारको घटनामा प्रहरीको अनुसन्धानमा प्रायः एउटै निष्कर्ष भेटिन्छ, ‘वान इच टू वान’ कमै सम्भव देखिन्छ । अर्थात् एक जना पुरुषले आफ्नै उमेरकी स्वस्थ अर्को महिलालाई सजिलै बलात्कार गर्न कठिन हुन्छ । बैतडीमा १७ वर्षीया किशोरीको बलात्कार र हत्यासँगै सुल्झिन नसकेको प्रश्न हो, हत्या अगाडि कि बलात्कार ? सामुहिक बलात्कार त होइन ?

उस्तै उमेर समूहको हो भने एकजना पुरुषको प्रयासलाई सहजै प्रतिकार गर्न सक्छन् महिलाले । तर, यदि डर त्रास, धम्की र अन्य नशालु पदार्थ दिइएको छ भने ‘वान इच टू वान’को निष्कर्षले काम गर्दैन । त्यसैगरी कम उमेरका बालिकाको हकमा पनि मिल्दैन । बलात्कार र हत्यासम्म पुगेका घटनामा उमेरको फ्याक्टर प्रष्ट देखिन्छ । पछिल्लो समय धेरैजसो कम उमेरका बालिका नै बलात्कारको सिकार हुनुको पछाडिको कारण यही हो ।

बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका–७ को जङ्गलमा मृत अवस्थामा १७ वर्षीय भागरथी भट्टको शव फेला पर्यो । शरीरको तल्लो भागको कपडा खोलिएको, सटको टाँक खोलिएका र शरीरमा दाँतले टोकेका दाग देखिन्थ्यो । योनीबाट रगत बगेको थियो । त्यसैले पनि हो, घटनास्थलमा पुगेका जो कोहीले पनि बलात्कारपछि हत्या भएको निष्कर्ष निकाले । जिल्ला अस्पताल बैतडीमा शनिवार शवको पोस्टमार्टम भएको छ ।

चिकित्सकले प्रहरीलाई पोस्टमार्टम रिपोर्टको ब्रिफिङ गरिसकेका छन् । घटनामा ‘रेप एन्ड मर्डर’ देखिएको छ । तर, रेप पहिला कि मर्डर पहिला भन्ने खुलिसकेको छैन । ‘हत्या भएको त सबैले भन्न सक्ने अवस्था छ । रेप पनि भएको देखियो । तर, कुन पहिला भन्ने अझै खुलेको छैन,’ एक उच्च प्रहरी अधिकृतले भने । यसरी मारिएकी किशोरीको उमेर १७ वर्ष थियो । घटना बुधवार नै भएको देखिएको छ ।

उनी विद्यालयबाट घर जान भनेर करिब साढे २ बजेतिर हिँडेकी थिइन् । उनको घर विद्यालयबाट करिब ५ किलोमिटरको दुरीमा पर्छ । जङ्गलको एकान्त ठाउँलाई छिचोलेपछि मात्र घर पुगिन्छ । तर उनी त्यो दिन घर नपुग्दै अपराधीको सिकार भइन् । उनी सधैँ हिँड्ने कच्ची सडकभन्दा करिब ७० मिटर तल उनको शव भेटियो । शव भएको ठाउँबाट केही पर झाडी माडिएको देखिएको छ । उनले त्यो स्थानमा आफूलाई बचाउन प्रतिकार गरेको जस्तो देखिन्छ ।

तर, प्राइमरी घटनास्थल पत्ता नलागेसम्म यही हो भन्न सकिँदैन । शरीरको कपडाको प्रकृति, अपराधको नेचर, घटनास्थलमा फेला परेको फुटेको मोबाइलको प्रकृतिले भने उनले आफूलाई बचाउन प्रतिकार गर्न खोजेको देखिएको छ । चौतर्फी प्रेसर परेपछि प्रहरीको ठूलै जत्थाले घटनाको अनुसन्धान गरिरहेको छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदी समेत घटनास्थलमा नै एक दिनदेखि छन् । बलात्कार पुष्टि भइसकेको छ ।

तर, प्रहरीले आधिकारिक रूपमा मुख खोलेको छैन । विगतका घटनाले सबक सिकाएको प्रहरी यस्ता घटना हतारो प्रतिक्रिया दिने पक्षमा पनि छैन । बलात्कार भएपछि प्रश्न जन्मिन्छ, सामूहिक कि एकल? एकल बलात्कार भए किशोरीको उमेरभन्दा बढी उमेर समूहको मानिसबाट भएको हुनसक्ने आँकलन गरिन्छ । प्रहरीले अहिले सबै पक्षका मानिसलाई बोलाएर अनुसन्धान गरिरहेको छ ।

‘मलाई एउटा घटना याद छ । एउटै उमेरको मानिसले खेतको कान्लामाथि तानेर बलात्कार गर्यो भनेर अदालतमा बयान दिएकै आधारमा पनि मुद्दा कमजोर भएको थियो । त्यसैले बलात्कारको केसमा दुई पक्षको उमेर, शारीरिक बलले पनि माने राख्दछ,’ पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीले भने । बिहीवार मृत भेटिएकी भट्ट १७ वर्षकी थिइन् । पछिल्लो समय प्रहरीको तथ्याङ्क केलाउने हो भने सबैभन्दा धेरै बलात्कारको सिकार बालिका नै हुने गरेका छन् ।

बालिका नै बलात्कारको सिकार

२०७५ साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भयो । दिउँसोको समयमा बाटोबाट करिब ७० मिटरभित्र उखुबारीमा हत्या गरिएको थियो । तर शव भेटिएको स्थानमा बलात्कार नभएर त्यही आसपास भएको प्रहरी अनुसन्धानले देखाउँदै आएको छ । १३ वर्षकी र कम तौल भएकी बालिकालाई एउटा वयस्क पुरुषले सहजै बोकेर एकान्तमा लगी बलात्कार गर्न सम्भव देखिएको थियो ।

पोस्टमार्टम रिपोर्टले पनि उनको सामूहिक बलात्कार नभएको देखाएको छ । प्रहरीको तथ्याङले दैनिक देशभर ३ जना बालबालिका बलात्कृत हुने गरेको देखाउँछ । गएको ६ महिनामा देशभर ८०४ जना बालिका बलात्कृत भएको देखाएको छ । आर्थिक वर्षको पुस महिनासम्म देशभर १ हजार २७२ वटा बलात्कारका घटना भएका थिए । जसमा ८०४ जना बालिका र ४६७ जना महिला रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

जसमा १० वर्षमुनिका बालिकाको सङ्ख्या १४९ जना रहेको छ । ११ देखि १६ वर्षसम्म ४८२ जना छन् । १७ देखि १८ जना १७३ जना रहेको प्रहरीले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा देशभर २ हजार १६७ वटा बलात्कार घटना भए । जसमा १ हजर ३९३ वटा घटनामा बालिका नै सिकार भएको देखिन्छ । महिलाको सङ्ख्या भने ७७१ छ । १० वर्षमुनिका बालिका बलात्कृत हुने सङ्ख्या २७३ रहेको छ ।

११ देखि १६ उमेर समूहमा ८०१ जना रहेको छ । १७ र १८ वर्ष उमेर समूहमा ३१९ जना रहेका छन् । आर्थिक वर्ष २०७५/०७६मा बलात्कारको घटना २ हजार २५४ वटा भएका छन् । बालिकाको सङ्ख्या १ हजार ४२० वटा रहेका छन् । धेरैजसो बलात्कारका घटनामा चिनेजानेका र आफन्तबाट नै हुने गरेको प्रहरीको तथ्यांक छ । बलात्कारपछि घटना खुल्ने डरमा हत्या गर्ने गरेको भेटिएको छ ।

‘बालिका बलतकृत हुनुको सङ्ख्या बढ्नुमा धेरै कुराले असर पार्छ । प्राविधिक पहुँच, शारीरिक लगायत धेरै कुराले गर्दा आपराधिक मानसिकतालाई जन्म दिएको देखिन्छ,’ पूर्व डीआइजी मल्लले भने, ‘अनुसन्धानले ८० प्रतिशत बलात्कारको घटना चिनिजानेकाबाट नै भएको देखिएको छ । अपराध खुल्ने डरले बलात्कारपछि हत्या गर्ने गरेका छन् ।’