Loading... आजः २३ फाल्गुन २०७७, आइतवार
दबावमा ओली

रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्ने तयारी

रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्ने तयारी

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तिव्र दबावपछि प्रतिनिधिसभा सदस्य तथा आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गर्ने तयारी गरेको छ । राष्ट्रपति भण्डारीविरुद्ध बोलेको आरोपमा नेतृ झाँक्रीलाई पक्राउ गर्न लागिएको प्रहरीले स्रोतले जनाएको छ ।

पछिल्लो समयमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीले राष्ट्रपति जस्तो सम्माननीय संस्थाको गरिमा बचाउन नसकेको भन्दै राष्ट्रपतिको चर्को आलोचना गरेकी थिइन् । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले आफूले संस्थाको होइन संस्थाको गरिमा बचाउन नसक्ने भण्डारीको विरोध गरेको बताएकी थिइन् ।

स्रोतका अनुसार झाँक्रीलाई पक्राउ गर्नका लागि प्रहरीलाई प्रधानमन्त्री ओलीले तिव्र दबाब दिएका छन् । सोधपुछका लागि पक्राउ गर्न लागिएको एक प्रहरी उच्च अधिकृतले बताए । बुधबार झाँक्रीले आफूहरूले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहेको बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावादका विरुद्ध बोल्न पाइन्छ । संविधानको चीरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ । संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइन्छ ।’

झाँक्रीले राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको असिस्टेन्टजस्तै भएर हरेक निर्णयमा सहीछाप गरेको भन्दै राष्ट्रपति पदमाथि नभएर भण्डारीको प्रवृत्तिमाथि आफू बोलेको र बोल्न पाइने जिकिर गरेकी थिइन् । राष्ट्रपतिका विषयमा झाँक्रीले दिएको अभिव्यक्तिले महिला अस्मिता मिचिएको भन्दै ओली पक्षको अखिल नेपाल महिला संघले उनलाई कारबाही गर्न माग गरेको थियो ।

उनले संविधानविरोधी काम गर्ने खलपात्रविरुद्ध बोल्दा होइन, भागरथी भट्ट र निर्मला पन्तहरूको बलात्कार र हत्या हुँदा महिला अस्मिता मिचिएको बताएकी थिइन् । अखिल नेपाल महिला संघलाई राष्ट्रपति भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको दाबी गरेको थिइन् । राष्ट्रपतिको बचाउमा उत्रिने महिला संघ बलात्कृत भागरथी भट्ट, निर्मला पन्तहरुको बारेमा नबोलेको बताइन् ।

उनले सोधिन् ‘महिला अस्मिता त्यहाँ बलात्कृत भएको छ जहाँ भागरथी भट्ट, निर्मला पन्त जस्तै कलिला किशोरी बलात्कृत भएका छन् त्यहाँ महिला अस्मिता मिचिएको छ । मलाई जन्न मन छ, भागरथीहरुका हत्याराहरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् ?’ राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिंसा भएको भन्दै भन्नेहरुलाई सोधेकी थिइन्, ‘तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न कसरी आयो ?’

नेतृ झाँक्रीले प्रधानमन्त्री ओली कागजको बादशाह भएको र उनी ढलिसकेको अन्तिम घोषणा गर्नमात्र बाँकी रहेको बताएको थिइन् । भनेको थिइन्, ‘आजको मानवसागरले भन्छ खड्गप्रसाद ओली कागजको बादशाह हुन् । ती ढलिसक । अब अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाह वा तानाशाहले आफ्नो कदलाई घटाउँदै राज्य सत्ताको दुरुपयोग गरेर कागजका अग्ला अग्ला प्रतिमा बनाउँछन् । ओलीले त्यहि गरेका छन् । यो अधोगति हो ।’