Loading... आजः २८ बैशाख २०७८, मंगलवार

विद्युत् भार कटौती हुन थालेपछि स्थानीयवासी आन्दोलित

विद्युत् भार कटौती हुन थालेपछि स्थानीयवासी आन्दोलित

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् ।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापर्वाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका हुन् ।

दिउँसो केही समय विद्युत् आपूर्ति भए पनि साँझ ४ बजेदेखि विद्युत् भार कटौती भएर राति १० बजेपछि मात्रै विद्युत् आउने हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीसहित अन्य विद्यार्थीको पठनपाठनमा समस्या निम्त्याएको भन्दै वडा नं ६ का महिला आक्रोशित भएका हुन् ।

विद्युत् समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या बनाएको सो वडाका महिला हंसकला रोकायाले बताए । महिलाहरूले सोमबारसम्म विद्युत् कार्यालयले भनेको समयमा आपूर्ति नगरे विद्युत् लाइन कटौती गर्नुका साथै आफ्नो जग्गामा गाडिएका पोल सोही कार्यालयमा निवेदन दिएर उखेलेर फ्याँक्ने चेतावनी दिएका छन् ।

लामो समयको लकडाउनपछि बल्लतल्ल विद्यालय जान पाएका विद्यार्थीलाई विद्युत् भार कटौतीको मारले विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न बाधा पुगेको स्थानीयवासी उमाकला रावतले गुनासो गरे । ‘चाहिने समयमा विद्युत् आउँदैन नचाहिने समयमा दिनभरि आउँछ,’ रोकायाले भने ।

दिउँसोदेखि राति १२ बजेसम्म विद्युत् भार कटौती हुँदा समस्या बनाएको अर्का स्थानीयवासी सुन्तला रावतले बताए । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको मुहानमा पानीको स्रोत कम भएपछि सेवाग्राहीले विद्युत् भार कटौतीको मार खेप्नुपरेको निमित्त कार्यालय प्रमुख राजकुमार बोहराले बताए । यहाँका स्थानीयवासीको माग सम्बोधन गर्ने तर विद्युत् भार कटौतीको अन्त्य भने नहुने उनको भनाइ थियो ।

चर्को विद्युत् भार कटौतीले जेठमा एसइई तयारी गर्नका लागि सदरमुकाम सिमकोट आसपासका गाउँबाट सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ । हेल्दुङ वितरण केन्द्र हुम्लाले बर्सेनि विभिन्न बहानामा मर्मतका लागि भन्दै लाखौँ रकम खर्च गर्ने गरेको छ । यता सेवाग्राही पुरानै सल्लाको दियालो बालेर दैनिकी चलाउन बाध्य छन् ।