Loading... आजः २४ फाल्गुन २०७७, सोमबार
गुजारा चलाउनै समस्या

शिक्षकको मासिक तलब छ हजार !

शिक्षकको मासिक तलब छ हजार !
फाइल तस्वीर

बाँके । बाँकेको कोहलपुर क्षेत्रका बालविकास केन्द्रमा पढाउँदै आएका शिक्षकहरूले आफ्नो न्यून तलबबाट जीविका चलाउन नसकिने जनाउँदै तलब बढाउन माग गरेका छन् । ती शिक्षकहरुले सामूहिकरूपमा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतसमक्ष आफ्नो तलब बढाउन गत साता माग गरेका हुन् । कोहलपुर–१३, सिम्रीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको बालविकास केन्द्रमा पढाउँदै आएकी शिक्षक तारा चन्दले लामो समयदेखि आफूहरूले छ हजार रुपयाँमात्र मासिक तलबमा पढाइरहेको बताइन् ।

उनले जति दुःख गरे पनि छ हजार रुपैयाँमात्रै मासिक पाउने भएकाले आफू लगायत सबै शिक्षकहरू न्यून तलबबाट जीवन गुजारा चलाउनै समस्या परेकाले ध्यान दिन आग्रह गरिन् । कोहलपुर नगरपालिका अन्तरगतको शिक्षा शाखाले पहिलो पटक बालविकास केन्द्रका शिक्षकका लागि आयोजना गरेको तालिममा सहभागी भएका शिक्षकहरूले नगरप्रमुख रावतसमक्ष आफ्नो गुनासो राखेका हुन् । नेपाल बालविकास शिक्षक समितिका केन्द्रीय अध्यक्षसमेत रहेकी शिक्षक कृष्णाकुमारी थापाले स्थानीयदेखि केन्द्रसम्म पटकपटक तलब बढाउने माग गर्दा पनि सुनुवाई नभएको गुनासो गरिन् ।

अध्यक्ष थापाले भनिन्, ‘मेयर ज्यू, हाम्रा दुःख धेरै छन् । न्यून पारिश्रमिकमा काम गरिरहेका छौं । लामो समयदेखि छ हजार रुपैयाँमा काम गरिरहेका छौं । यस विषयमा हाम्रो सुनुवाई कहिले होला ?’ उनले देशभरका छ हजारभन्दा बढी बालविकास शिक्षकहरू तलवकै लागि अहिले पनि आन्दोलनमा रहेको बताइन् । विद्यालय उमेरभन्दा अघिका बालबालिकालाई राम्रो विद्यार्थीका रूपमा तयार गर्नका लागि निकै मिहिनेतका साथ आफूहरू लागिपरेको शिक्षकहरु बताउँछन् ।

कोहलपुर नगरपालिकाका प्रमुख रावतले शिक्षकहरुको समस्याबाट आफू अवगत रहेका जनाउँदै माघ महिनादेखि लागु हुनेगरी प्रतिव्यक्ति एक हजार रुपैयाँ तलब थपेर दिने प्रतिवद्धता व्यक्त गरे । उनले बालबालिकाको भविष्यका लागि राम्ररी ध्यान दिएर पढाउन आग्रह गर्दै स्थानीय सरकारले आफ्नो तर्फबाट गर्न सक्ने सबै सुविधा प्रदान गरिने बताए । कोहलपुरमा अहिले बालबिकास केन्द्रमा ८१ जना शिक्षक रहेका छन् । कोहलपुर नगरपालिका अन्तरगत शिक्षा शाखाले पहिलो पटक विभिन्न चरणमा गरी ६० जनालाई आधारभूत तालिम प्रदान गरेका जनाएको छ । शिक्षा शाखाले थप २१ जनालाई पनि तालिम उपलब्ध गराउने जनाएको छ ।