Loading... आजः २० फाल्गुन २०७७, बिहीबार
विचार

अहिले आयो तिमीलाई जनमुक्ति सेनाको याद ?

यिनै रामबहादुर थापा उर्फ बादल नेतृत्वको मन्त्रालयसामु घाइते सिपाहीले उपचार नपाएर विष सेवन गरेको हेर्न अभिशप्त मान्छे । तर, शरम लाग्नुपर्नेलाई नलागेपछि हामीले छिछि भनेर मात्र नहुने रहेछ ।
अहिले आयो तिमीलाई जनमुक्ति सेनाको याद ?

पछिल्लो साता झण्डै १५ वर्षपछि साथीहरु हालखबर सोध्न आए । भाइसाथीले के गर्ने भनेर सोधे, अग्रजले के गर्छौ नानी भने । मसला पिस्ने हातले बारुद पिस्नुपर्छ भनेर प्रशिक्षित गर्ने तत्कालीन कमाण्डर अर्जुनलाल श्रेष्ठ अहिले पनि बेपत्ताको सूचीमा छन् । अर्जुनलालसँगै म जीवनमा पहिलोपटक कम्मरमा बाँधेको टिएनटी ग्रिनेड सम्झन्छु, देब्रे काँध हुँदै दाहिने कम्मरमुनि झुण्ड्याएको भरुवा बन्दुक सम्झन्छु । पहिलोपटक पड्किएको बन्दुक र त्यसबाट निस्किएको बारुदको मीठो गन्ध सम्झन्छु ।

प्रमाणित छापामार भएपछि औषधिको झोला, बन्दुक, कलम र क्यामेरा बोकेर युद्धमोर्चामा निस्किएको कुराले अहिले पनि काउकुती लगाउँछ । शान्तिसम्झौतापछि लड्दालड्दैका सिपाही हामीलाई ७ मुख्य र २८ सहायक शिविरमा थन्क्याइयो । त्यसपछि शुरु भयो वर्ग परिवर्तन र उत्थानको अभ्यास । त्यसपछि शुरु भयो सर्वहाराबाट बुर्जुवाकरण । शान्ति र क्रान्तिका नाममा धोकाका श्रृंखला । परिवर्तनका नाममा सिपाही र जनतामाथि विश्वासघात । हाम्रा भावना र विचारमाथि अत्याचार । समग्रमा हामी बाटो गुमाएका बटुवा भयौं र अहिलेसम्म त्यही रूपमा छौं ।

अफसोच, शिविरबाट निकालिएका १८ हजार २३० जनमुक्ति सेनाको विवरण अहिलेसम्म छैन । त्यो कसैसँग छैन, माओवादी, माओवादी केन्द्र, नेकपा हुँदै अहिले सडकमा गाईजात्रा देखाइरहेका नेकपाका दुवै समूहसँग छैन र आफूलाई क्रान्तिको उत्तराधिकारी दाबी गर्ने तथाकथित कुनै दल वा समूहसँग पनि छैन । हामीसँग सबै विवरण छ भनेर आउने कोही छ माइका लाल ? यो महिना नेपालमा राजनीतिक जात्रा शुरु भयो । नामबाट बदनाम भएका हाम्रा कमाण्डर कालीबहादुर खाम लुसुक्क बालुवाटार छिरे र प्रधानमन्त्री केपी ओलीसँग मुख्य चारवटा माग राखेर पूर्वलडाकुलाई ओली क्याम्पतिर छिराउने अभियान थाले ।

यो अभियानका अर्का अभियन्ता थिए रामबहादुर थापा बादल, जसलाई हिजो माओवादीका पूर्वलडाकुभन्दा छोराका लागि दीप बस्न्यातका पुत्रहरू साथी बनाउन प्रिय हुन्थे । तिनीहरू हठात् बौरिएर जमानाका माओवादी लडाकु खोज्न निस्किएका हुन् । १२ वर्षमा नफर्किएको खोलो १५ वर्षमा फर्कनु अनौठो थियो । अनि शुरु भयो सम्मोहनका वाणी । वीरताका गाथा । र जमुसेका भूमिका । बनावटी प्रशंसा । फुक्यो आश्वासनका पोका । अनि मागे साथ, समर्थन र सहयोग । हिसाब गर्दै ल्याउँछु, जसले सहादत प्राप्त गरे तिनका परिवार बिलखबन्द छन् । जो घाइते र अंगभंग भए तिनी पनि जीवनमरणको दोसाँधमा छन् ।

जो बेपत्ता भए तिनको कुनै खबर छैन । जो अयोग्य करार गरिए तिनलाई पनि कुनै सहानुभूति र सहयोग मिलेन । र, १५ वर्षपछि निर्जीव रूखमा पालुवा किन पलायो ? निर्जर बालुवामा सिँचाई कसरी भयो ? अचम्म लाग्छ, सत्तामा र सत्तावरिपरि हुँदा ऊ जमानाको जनमुक्ति सेनाको डेपुटी कमाण्डर भएको ब्याज खाइरहेकाहरूलाई अनायास कसरी स्मृति पलायो ? परम्परागत राज्यसत्ताबाट छाती, तौल, उचाइ नापेर बनेको तलबी सेना थिएन त्यो, विचार र सिद्धान्तबाट निर्देशित राता सिपाही थिए तिनीहरू । जसै तिनमाथि संकट मडारियो अनि थाले जनमुक्ति सेना खोज्न । पश्चिम पुगेर जनार्दन शर्माले मच्चाएको कोकोहोलो यही होइन ?

भनिदिने कोही छ भने हाम्रा तत्कालीन सुप्रिमोलाई भनिदिए हुन्छ, १२ वर्षअगाडि अनमिनले अयोग्यको ठप्पा लगाइदिएर, गोजीमा १० हजार हालिदिएर निकालिएका सिपाही आज फेरि तिम्रालागि कसरी योग्य हुन्छन् ? कलिलो उमेरमै वर्गशत्रु खत्तम गर्न भर्ना गरिएका तिम्रा २ हजार ९७३ सिपाही अहिले कहाँ–कहाँ के गर्दै छन् ? कहाँ छन् तिम्रा १८ हजार योग्य र ४ हजार अयोग्य सिपाही ? दुश्मनको शीर छेदन गर्दा योग्य हुने, तिमीलाई सत्तामा पुर्याउन योग्य हुने तर तिमी सत्तामा पुगेपछि अयोग्य हुने परिभाषामा बाँधिएका कहाँ छन् ती सिपाही ? ऊ बेला तिमीले भनेको दायित्व पूरा गर्यौं ? निभायौ आफ्नो कर्तव्य ?

खोई तिम्रा सीपमूलक कार्यक्रम ? होइन भने १० वर्ष (२०६८ असार)देखि आन्दोलनमा उत्रिएका तिम्रा पूर्वसिपाहीले के पाए ? कहाँ पुग्यो तिम्रा संक्रमणकालीन न्याय संयन्त्रका फोस्रा पोका ? हामीलाई एउटा ढोकाबाट निस्केर अर्को ढोकाबाट पस्ने भनी निकालिएको हो । खोई त्यो ढोका ? हाम्रा कमाण्डरहरू विलास र आम्दानीको ढोकामा छिरे तर कहिल्यै निस्किएनन् । आफ्ना सिपाहीहरूलाई चक्रब्यूहभित्र छिराउने अनि आफूहरू चैं रोग, भोक र शोकले अभिमन्युहरू मरेको तमाशामा रमाइरहने नेतृत्व पाएकोमा हामीलाई गर्व छ । किनकि, राजनीतिक महाभारतमा हार्दै हार्दै जाँदा तिनलाई फेरि प्रतिवद्ध सिपाहीको अभाव भएको छ ।

विदेशीले गोर्खा सैनिक यसै मन पराएका होइनन् । गोर्खा अर्थात् नेपाली सेना इमान र प्रतिबद्धतामा चुक्दैनन् । भलै भूपी शेरचनको वीर र बुद्धुको सूत्र लागू होस्, हाम्रा मान्छेको डिएनए नै त्यस्तै रहेछ जस्तो लाग्छ । हामी सस्तैमा किनिने, सस्तैमा बेचिने र सस्तैमा मर्ने जीव रहेछौं र त हामीप्रति हाम्रा र पराया शासकको आशक्ति हुने रहेछ । निःसन्देह अहिले पनि जनमुक्ति सेना नेतृत्वविहीन छन् । न तिनको कुनै संगठन छ न भए पनि कुनै प्रभावकारिता । प्रचण्ड, बैद्य, बाबुराम, बादल, किराँती, बिष्ट, आहुती सबका आफ्नै मण्डलीमात्र छन् । त्यस्ता मण्डली जो समग्रमा होइन अंशमा मात्र जनमुक्ति सेनाको आदर्श बोक्छन् । र, तिनलाई अहिले जनयुद्ध दिवशमा अनुपस्थित हुने नेकपा अध्यक्ष केपी ओलीले साखुल्ले पल्टेर तान्न खोज्दैछन् ।

अहिले बजारमा उनीहरूको लिलामी शुरु भएको छ । बोलकबोल लागेको छ । यसमा पनि दुईथरी डम्फु बज्न थालेको छ । एउटा पूर्वजनमुक्ति सेनालाई अनेक प्रलोभन देखाएर अलगथलग गर्न चाहन्छ । त्यसैले घाइते, अपांगको निःशुल्क उपचार र प्रमाणपत्र, थप एक दुई लाखको हड्डी फालिएको छ । अर्को पुरानो बिरासतको व्यापार गर्न चाहन्छ । केरुङबाट ल्याएर धुन्चे, त्रिशूली, ककनी हुँदै बालाजुमा मैजारो गरिएका च्यांग्रासरह खरिद, बेचबिखन गरिएका लडाकुलाई भावनात्मक सौदाबाजी गर्न उद्यत छ । म नैनबहादुर तामाङ, क.मुनाल, क.अजयहरू कुहिएर, उपचार नपाएर सडकबाट जीवन याचना मागेको हेर्न अभिशप्त मान्छे ।

यिनै रामबहादुर थापा उर्फ बादल नेतृत्वको मन्त्रालयसामु घाइते सिपाहीले उपचार नपाएर विष सेवन गरेको हेर्न अभिशप्त मान्छे । तर, शरम लाग्नुपर्नेलाई नलागेपछि हामीले छिछि भनेर मात्र नहुने रहेछ । कमरेड ! नैनबहादुर तामाङको नाममा उपचार खर्चबापत ५ लाख निकासा गरेर ३ लाख घाइतेलाई दिई २ लाखले आफ्नो गोजी भर्ने को हो ? हाम्रा कति कमाण्डरले यसरी गोजी भरे होलान् ? चितवनमा चप्पल पड्काउने कमाण्डर काठमाडौंमा पर्सनल भेहिकलको मालिक कसरी भए एउटा हातको औंला गन्ने वर्षमा ? विचारले लैस सिपाही बेचेपछि दौलतले लडिने लडाइँ लडे भएन र ? लड्नुस्, हाम्रो शुभकामना छ र रहन्छ ।

पार्टी एकताको नाममा भएको स्वार्थ एकता भाँडिएपछि चाहिने हो पिएलए ? राजनीतिक वेश्यावृत्ति गर्नेहरूको अड्कोपड्को फुकाउन मात्र चाहिने हो पिएलए ? राजनीतिक सौदाबाजी नमिल्दा मात्र चाहिने हो पिएलए ? शहीद, घाइते, बेपत्ता परिवार राजनीतिक स्वार्थ कमजोर हुँदा मात्र सम्झनुपर्ने व्यापारको साधन हो ? कमरेड, निर्लज्ज हुनुको सीमा हुँदैन ? अस्ति पेरिसडाँडाबाट लखेटिएका सिपाही हेरेर बबरमहलस्थित बाबुराम भट्टराईको मुख्यालयले गरेको हाँसो र ठट्टा देख्दा सुन्दा अनुभव गर्दा पनि नउम्लिएको रगत उमाल्ने गरी आएको अहिलेको याचना घृणायोग्य छ, खेदपूर्ण छ ।

हिमालमा, पहाडमा, तराईमा, अरबमा, खाडीमा, झाडीमा रहेका पूर्वजनमुक्ति सेनाको एकाध व्यक्ति र कमाण्डर संकलन गरेर सबै हाम्रो भन्ने दाबी कसैले नगर्दा हुन्छ । हामीलाई बेचेको मूल्यमा केही वर्ष सत्ताको स्वाद लिएका नेतृत्वहरूले हेक्का राख्दा हुन्छ, सत्ता स्थायी होइन । हामी संगठित र एकत्रित भएको बेलामा तिम्रा नेतृत्व पनि स्थायी नहुन सक्छन् । प्रिय कमाण्डरहरू ! अपहेलना र अवमूल्यनको मूल्य तिम्रो आँतमा प्राण भर्नु मात्र होइन भनेर सबैले बुझ्नुपर्छ । कमाण्डरहरू दास हुँदैमा सबै सिपाही दास हुनुपर्छ भनेर कुनै शास्त्रमा नलेखिएको पनि हुन सक्छ ।

सहयोद्धा कमरेडहरू !
छद्यभेषी कमाण्डर र नेतृत्वबाट सतर्क रहौं, सावधान रहौं ।
एकपटक त बेचियौं, पटकपटक आफूलाई नबेचौं ।