Loading... आजः २८ बैशाख २०७८, मंगलवार
मन्त्रीले नियम मिचेपछि टकराव

सचिवद्वारा मन्त्रीको कार्यक्रम बहिष्कार !

सचिवद्वारा मन्त्रीको कार्यक्रम बहिष्कार !

काठमाडौं । कुनै समय वन मुद्धामा मुछिएका प्रेम आलेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेटमा वनमन्त्री बनेका छन् । मन्त्रालयमा उनको चुरीफुरी बेग्लै छ । नियम कानुन विपरित उनले दश जना सल्लाहकार तथा सचिवालय सदस्यहरुको भीड त्यहाँ थुपारेका छन् ।

त्यहाँ बोर्ड नै टाँसेर रविनकुमार ग्यालन (नीजि सचिव), हेमन्त रेग्मी (उपस्वकीय सचिव), यमबहादुर बम सल्लाहकार (विज्ञ), सोमबहादुर थापा (राजनीतिक सल्लाहकार), विमल विष्ट (प्रेस सल्लाहकार) बनाइएको छ । नियमानुसार मन्त्रीले सात जनासम्म सचिवालय सदस्य नियुक्त गर्न पाउँछन् ।

त्यसमध्ये उपसचिव तहको एक जना, अधिकृत तहको एक जना, सुब्बा तहको एक जना, सवारी चालक दुई जना र कार्यालय सहयोगी दुई जना मन्त्रीले राख्न पाउँछन् । तर नियम मिचेर अरु तीन जनालाई सल्लाकारको भूमिका राखेका छन् । जसमध्ये यमबहादुर बम, विमल विष्ट, सोमबहादुर थापा ।

यिनै विवाद्स्पद् चरित्रका मन्त्री आलेलाई अहिले मन्त्रालयका कर्मचारीहरुले टेर्न छाडेका छन् । गत बुधबार आलेले मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम राखेका थिए । कार्यक्रम सञ्चालन वनमन्त्रीका राजनीतिक सल्लाहकार सोमबहादुर थापाले गरेका थिए । नियम अनुसार मन्त्रीले राजनीतिक सल्लाहकार नियुक्त गर्न पाउँदैनन् ।

मन्त्रालयमै चलेको सो कार्यक्रम वनसचिव विश्वनाथ ओलीले बहिष्कार गरे । कार्यक्रममा सचिवका लागि कुर्सी छुट्टाइएको भए पनि खाली नै रह्यो । मन्त्रीले आयोजना गर्ने पत्रकार सम्मेलनमा सचिव, सम्बन्धित महाशाखा र विभागका प्रमुखसमेत सहभागी हुने प्रचलन छ । बरू सचिव ओलीले प्रशासन महाशाखा प्रमुख नवराज ढुंगानालाई पठाएका थिए ।

सचिव ओली आफ्नो ३०३ नम्बर कार्यकक्षमै थिए । कार्यक्रम सकिने समयमा मात्र सहसचिव प्रकाश लम्साल त्यहाँ पुगेको देखिन्थ्यो । यो घटनाले मन्त्री र सचिवबीचको सम्बन्धमा मीठास नरहेको चर्चा मन्त्रालयतिर चल्न थालेको छ ।