Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार

खजुरामा प्रदेशस्तरीय किसान कल सेन्टर

खजुरामा प्रदेशस्तरीय किसान कल सेन्टर

बाँके । लुम्बिनी प्रदेशभरिका किसानलाई लक्षित गरेर बाँकेको खजुरामा किसान कल सेन्टर सञ्चालनमा ल्याइएको छ । लुम्बिनी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालनमा ल्याएको सो कल सेन्टरको हालै कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रमुख अमरबहादुर पुनले उद्घाटन गरे । उनले एक जना किसानको फोन उठाएर किसानले मागेको सुझाव दिइ कल सेन्टरको सुरु गरेका हुन् ।

प्रमुख पुनले कृषकको सङ्ख्या बढी र कृषि प्रावधिक सोको अनुपातमा धेरै कम रहेकाले किसानको समस्या समाधान गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको बताए । एकै स्थानबाट प्रदेशभरिका कृषकलाई टेलिफोनको माध्यमबाट विज्ञहरू जोड्ने र प्रावधिक ज्ञान प्रदान गर्ने कार्य किसान कल सेन्टरले गर्ने उनको भनाइ थियो । आइतबार, मङ्गलबार र बिहीबार किसान कल सेन्टर सञ्चालन हुनेछ ।

खजुरामा रहेको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा सञ्चालनमा ल्याइएको प्रदेशस्तरीय किसान कल सेन्टरबाट निःशुल्क फोन नम्बरमा फोन गरेर किसानले आफ्नो समस्या राख्न सक्नेछन् । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख अमरराज शर्मा घिमिरेले किसानका हरेक समस्या समाधानका उपाय जानकारी गराउन यस्तो सुरुवात गरिएको बताए ।