Loading... आजः २४ फाल्गुन २०७७, सोमबार

रोल्पामा ट्याङ्कर दुर्घटना, नेपालगन्जका हरबजनको मृत्यु

रोल्पामा ट्याङ्कर दुर्घटना, नेपालगन्जका हरबजनको मृत्यु
फाइल तस्वीर

रोल्पा । रोल्पामा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याङ्कर चालक बाँके नेपालगन्ज घर भएका ४५ वर्षीय हरबजन सिंह रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । विहीवार दिउँसो करिब १ बजेतिर रोल्पा नगरपालिका १ भदौरे मन्दिरको घुम्ति नजिकै ट्याङ्कर दुर्घटना भएको हो । दुर्घटनामा परि भारत रुपैडियाका सहचालक १९ वर्षीय सुनिल शंकर सामान्य घाइते भएका छन् ।

उनको निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एवं प्रहरी निरीक्षक सन्तोष केसीले जनाकारी दिए । ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडकदेखि करिव ५० मिटर तल खसेको प्रहरीले बताएको छ । ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमा रहेको २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल नष्ट भएको छ ।