Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार
दुखद् समाचार

सन् २०२० मा नेपालमा विपद् : झण्डै पाँच हजारको मृत्यु

सन् २०२० मा नेपालमा विपद् : झण्डै पाँच हजारको मृत्यु

काठमाडौं । नेपालमा सन् २०२० मा विभिन्न विपद्जन्य घटनाबाट चार हजार ५०४ जना मानिसको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् ।

सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड–१९ का कारण एक हजार ८५६ को मृत्यु भएको छ । पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता छन् । बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भएको प्राधिकरणले जनाएको छ ।

सर्पदंशबाट २९, आगलागीबाट ५३, चट्याङबाट ८२ जनाको मृत्यु भएको र अन्य विविध घटनाका कारण ५४ जनाले ज्यान गुमाएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त विवरण सन् २०२० को जनवरीदेखि डिसेम्बर ३१ सम्मको हो । प्राधिकरणका अनुसार कूल मानवीय क्षति मध्यसडक दुर्घटना र कोभिड–१९ बाट मात्रै ८८ प्रतिशत छ ।

कोभिड–१९ को सङ्क्रमण अझै पनि जारी रहेकाले सावधानी अपनाउन सरकारले सबैमा अनुरोध गरेको छ । यसपालि वर्षाको समयमा मुलुकका विभिन्न जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । बाढी, पहिरो आएर धेरै स्थानमा मानवीय क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए । प्रभावित अझै पनि अस्थायी टहरामा बसिरहेका छन् । अहिले सरकराले अनुदानमा आवास कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ ।