Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार
मानव–वन्यजन्तु द्वन्द्व

तनावमा छ पाटेबाघ !

पाटेबाघको आक्रमण जंगल क्षेत्रको राजमार्गमा मात्रै होइन गाउँबस्तीमा अझ बढेको छ ।
तनावमा छ पाटेबाघ !
तस्वीर : बर्दिया राष्ट्रिय निकुञ्ज वार्षिक प्रतिवेदनबाट ।
भद्र र लजालु स्वभावको बाघलाई के समस्याले सताइरहेको छ ? उसको मनोविज्ञानमा किन परिवर्तन आउँदै छ ? भन्नेबारे अध्ययन हुनुपर्ने संरक्षणकर्मी बताउँछन् ।

काठमाडौं । पुस १७ गते राति पौने ९ बजे बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनी–चिसापानी सडकखण्डमा मोटरसाइकलमा सवार नन्दकला थापालाई पाटेबाघले झम्टियो । बाघले थुतेर लगिएकी लम्कीचुहा नगरपालिका–४ की ५२ वर्षीया थापाको शव अर्को दिन भेटियो । घटनामा मोटरसाइकल चलाइरहेका थापाका छोरा घाइते भए ।

लगत्तै बर्दिया राष्ट्रिय निकुञ्जले त्यस क्षेत्रमा साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म हिँड्न, साइकल र मोटरसाइकलमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ । निकुञ्जका सूचना अधिकारी अशिम थापाका अनुसार उक्त सडक मार्गमा बाघ दिनहुँजसो सडकमा देखिन थालेपछि दिउँसो पनि मोटरसाइकललाई दुईवटा गाडीको बीचमा रहेर मात्र यात्रा गर्न दिइएको छ ।

पाटेबाघको आक्रमण जंगल क्षेत्रको राजमार्गमा मात्रै होइन गाउँबस्तीमा अझ बढेको छ । बर्दियामा मात्रै चार वर्षयता पाटेबाघको आक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ । चालू वर्षमा बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । बर्दिया गेरुवा गाउँपालिका अध्यक्ष जमानसिङ केसी बाघले गाउँबस्तीमै पसेर गाईबस्तुलाई समेत आक्रमण गरिरहेको बताउँछन् ।

उनले सीमावर्ती भारतीय जंगलबाट पनि बाघ आउने गरेको बताए । उनले भने, ‘गेरुवामै दुईजनालाई मारिसक्यो ।’ जंगलभित्रै बस्ने र चारखुट्टे जनावरलाई आहारा बनाउने बाघ राजमार्ग र गाउँबस्तीमा पस्न थालेपछि चिन्ता थपिएको छ ।

बर्दिया निकुञ्ज अन्तरगत पर्ने राजमार्गमा पुस २१ दिउँसो देखिएको बाघ । तस्वीर : सञ्जीव पुन, फिल्ड अधिकृत (जेडएसएल)

बाघको मनोविज्ञान

संरक्षणकर्मीहरू अब बाघको मनोविज्ञानबारे अनुसन्धान जरुरी रहेको बताउँछन् । ‘बाघ तनावमा छ,’ राष्ट्रिय निकुञ्ज तथा आरक्षका पूर्वनिर्देशक बाबुकृष्ण कार्की भन्छन्, ‘जंगलको बीचमा सडक र अन्य भौतिक संरचना निर्माण हुनु, आहारा प्रजातिमा कमी आउनु, बासस्थान व्यवस्थापन नहुनुजस्ता कारणले बाघमा तनाव बढाउँछन् ।’

पहिले पहाडी क्षेत्रमा नदेखिने पाटेबाघ डडेल्धुरा, इलामजस्ता पहाडी क्षेत्रमा पुगेको, कतिपय सडकमा निस्कँदा गाडीसँग ठोक्किएका छन्, कोही मोटरसाइकलबाट मान्छे थुत्न थालेका छन् । आचार्य भन्छन्, ‘भद्र र लजालु स्वभावको बाघलाई के समस्याले सताइरहेको छ र उसको मनोविज्ञानमा किन परिवर्तन आउँदैछ भन्नेबारे अध्ययन हुनुपर्छ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त प्रमुख तथा पारिस्थितिकीयविद् हरिभद्र आचार्य पनि कार्कीको कुरामा सहमति जनाउँछन् । ‘बाघले डिस्टर्बेन्स रुचाउँदैन,’ उनी भन्छन्, ‘जब डिस्टर्बेन्स हुन्छ, त्यहाँ मानव–वन्यजन्तु द्वन्द्व सुरु हुन्छ ।’ उनले बाघको मनोवैज्ञानिक अनुसन्धान हुनुपर्ने आवश्यकता रहेको पनि बताए ।

हुन पनि बाघ सडकमै ढुकेर बस्नु र गाउँबस्ती नजिक आएर मान्छे तथा घरपालुवा पशुलाई आक्रमण गर्नुले ऊ तनावमा छ कि भन्ने संकेत गर्छ । किनभने उसको स्वभाव प्राकृतिकरूपमा यस्तो होइन । घनाजंगलमा बस्न रुचाउने बाघ किन मानव बस्ती नजिक आइपुग्छ त ? पारिस्थितिकीयविद् आचार्यका अनुसार डमरु माउसँग करिब अढाई वर्षसम्म सँगै बस्छ । त्यसपछि उसले आफ्नै नयाँ क्षेत्र बनाउँछ ।

त्यस क्रममा पहिलेदेखि नै आफ्नो क्षेत्र बनाएर बसेको बाघसँग झगडा हुन्छ । जित्नेले त्यहाँ आफ्नो स्थान बनाउँछ भने हारेको बाघ मध्यवर्ती क्षेत्रतिर आउँछ । त्यो भनेको मानव बस्ती नजिक हो । ‘मध्यवर्ती क्षेत्रतिर आएका बाघहरू नै हुन् चौपाया र मान्छेलाई आक्रमण गर्ने,’ उनी भन्छन्, ‘बाघ बूढो भयो, घाइते भयो वा कुनै कारणवश सिकार गर्न सक्ने अवस्था भएन भने सजिलै उपलब्ध हुने आहारातिर आकर्षित हुन्छ ।’

तस्वीर : बर्दिया राष्ट्रिय निकुञ्ज वार्षिक प्रतिवेदनबाट ।

बाघलाई ठाउँ नपुगेकै हो त ? चितवनमा पनि मान्छेमाथि बाघको आक्रमण बढ्दै गएपछि संरक्षणकर्मीलाई लागेको थियो, बाघलाई ठाउँ पुगेन । त्यसपछि चितवन–पर्सा निकुञ्ज क्षेत्रमा बाघको बासस्थानमा इकोलोजिकल क्यारिङ क्यापासिटी अध्ययन गरिएको थियो । तर, सो अध्ययनबाट संरक्षणकर्मीको अनुमान गलत साबित भयो ।

चितवन निकुञ्जले १३६ र पर्सा निकुञ्जले ३९ वटा बाघसम्म थेग्न सक्छ भन्ने अध्ययनको निष्कर्ष आयो । उक्त अध्ययनलाई आधार मान्दा ९५२.६३ वर्गाकिलोमिटर क्षेत्रफलमा फैलिएको चितवन निकुञ्जभन्दा केही ठूलो बर्दिया निकुञ्ज (९६८ वर्गकिलोमिटर) मा अझै धेरै बाघका लागि बासस्थान छ भन्ने अनुमान गर्न सकिन्छ । तर, बाघको बासस्थान कति हुने भन्ने आहारा प्रजातिको उपलब्धताले निर्धारण गर्छ ।

‘कुनै बाघको टेरिटोरी १०–१२ वर्ग किलोमिटर पनि हुन सक्छ, कुनैको ५०–६० वर्ग किलोमिटर पनि,’ आचार्य भन्छन्, ‘आहारा प्रजाति धेरै र नजिकै भए बाघ टाढाटाढासम्म जानै पर्दैन ।’ त्यसो भए बर्दिया निकुञ्जमा आहारा प्रजातिको कमी भएर पो बाघ बाहिर निस्किएका हुन् कि ? बर्दिया निकुञ्जका सूचना अधिकारी अशिम थापा भने यो मान्न तयार छैनन् ।

उनका अनुसार बर्दियामा पहिलेको भन्दा आहारा प्रजाति बढेका छन् । तैपनि बाघको ‘क्यारिङ क्यापासिटी’ अध्ययन गर्ने कि भन्नेबारे छलफल चलिरहेको उनको भनाइ छ । सन् २०१८ मा गरिएको गणनाअनुसार चितवन निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ बाघ भेटिएका थिए ।

बाघले किन आक्रमण गर्छ ?

बाघ विज्ञ डा. चिरञ्जीवी पोखरेलका अनुसार डमरु साथमा भएको अवस्थामा, सिकार गर्न लागेको वा खान लागेका बेला, एकआपसमा जुधिरहेका बेला, भाले लाग्ने समयमा, बूढो, घाइते वा बिरामी भई भोको भएको अवस्थामा मात्र बाघले मान्छेमाथि आक्रमण गर्ने सम्भावना हुन्छ ।

त्यस्तै बघिनीले डमरु लुकाएको ठाउँमा अचानक पुगेमा, जम्काभेट भएर बाघले भाग्ने ठाउँ नपाएमा, मानिसलाई खाने बानी परेमा र बासस्थान कम भएको खण्डमा पनि बाघले आक्रमण गर्ने सम्भावना हुने उनी बताउँछन् ।

बाघले कसरी आक्रमण गर्छ ?

बाघले झाडीमा वा अग्लो घाँसमा लुकेर सिकारलाई झम्टन्छ । त्यस्तै डमरुलाई खाना खुवाइरहेको बेला मान्छे देख्यो भने कराएर एक्कासि झम्टन्छ । मान्छे खाने बानी परेको बाघ भने मान्छे देख्नेबित्तिकै जंगलभित्र लुसुक्क पस्छ र फेरि आएर आक्रमण गर्छ ।

आक्रमण गर्नुअघि बाघले पुच्छर ठाडो पार्छ, हल्लाउँछ र भुइँमा लुपुक्क टाँसिएर आवाज निकाल्छ । आक्रमण गर्दा बाघले चारवटै पञ्जा फुलाएर नंग्रा निकालेर मुख र पञ्जाले घाँटीमा आक्रमण गर्ने बाघ विज्ञ बताउँछन् ।

तस्वीर : बर्दिया राष्ट्रिय निकुञ्जको वेबसाइटबाट ।

कसरी बच्ने ?

जंगलमा बाघ देखियो भने नजिक नजाने र टाढैबाट भए पनि नजिस्काउने । बाघको हिँडेको पाइलाको डोब ताजा देखिएमा त्यो बाटो नहिँड्ने, बाघ सुतेको अवस्था वा सिकार खान वा खुवाउन लागेको अवस्थामा पटक्कै हल्ला नगर्ने, अचानक बाघसँग जम्काभेट भएका सम्भव भए रुख चढ्ने त्यसो नभए चुप लागेर नचलिकन बाघलाई हेरी आँखा जुधाउँदै बिस्तारै पछिपछि सर्दै सुरक्षित ठाउँमा जाने ।

बाघबाट बच्न पानीमा हाम फाल्न हुँदैन किनभने बाघ आफैं पनि राम्रो पौडी खेल्न सक्छ । जंगलमा हिँड्दा अन्य जनावरको संकेत याद गर्ने, समूहमा जंगलमा भएका बेला बाघले आक्रमण गर्ने स्थिति देखिएमा एकै ठाउँमा भेला हुने र थपडी मारी बेस्सरी हल्ला गर्ने, जंगलको छेउछाउमा बसोबास गर्ने मानिसले आफ्नो वरिपरिको झाडी सफा गर्ने र साँझ परेपछि सुरक्षित स्थानमा बस्नुपर्ने वन्यजन्तुविद्हरु बताउँछन् ।

कसरी बन्छ बाघ नरभक्षी ?

बाघ नरभक्षी हुनलाई कम्तीमा दुईपटक भन्दा बढी मान्छे मारेको हुनुपर्छ । एकपटक मान्छेलाई आक्रमण गरेपछि पुनः मान्छेकै मासु खान पल्किन्छ कि भन्ने डर हुने बाघ विज्ञ डा. पोखरेल बताउँछन् । बर्दियामा हेर्ने हो भने प्रायः मानिस घाँस काटिरहेका बेला, खरखडाइ, गाईगोरु चराउन गएका बेला बाघको आक्रमणमा परेको देखिन्छ । यस्तो अवस्थामा सो बाघले फेरि मान्छेलाई आक्रमण गर्छ कि भन्ने डर हुन्छ ।

त्यो बाघले फेरिफेरि मान्छेलाई आफ्नो सिकार बनायो भने त्यस्तो बाघलाई नरभक्षी भनिन्छ । यस्तोमा सो बाघलाई नियन्त्रणमा लिनुपर्छ । पुस १७ मा मोटरसाइकलबाटै झम्टेर मार्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिने पहल थालेको छ । तर, सो बाघलाई हालसम्म पहिचान गर्न भने सकिएको छैन । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठका अनुसार क्यामरा ट्रयाप राखेर निगरानी थालिएको छ ।

‘अहिलेसम्म आक्रमण गर्ने बाघ यही हो भनेर किटान गर्न सकिएको छैन,’ उनले भने, ‘त्यो क्षेत्रमा तीन–चारवटा बाघ देखिएको छ । सबै बाघलाई नियन्त्रणमा लिन सम्भव पनि हुँदैन ।’ लकडाउनका समयमा गरिएको क्यामरा ट्रयापमा ६ वटा वयस्क बाघ सडक वरपर देखिएका थिए । अम्रेनी–चिसापानी खण्डमा तीनवटा जति बाघको टेरिटोरी हुन सक्ने उनी बताउँछन् ।

उपाय के त ?

पूर्वपश्चिम राजमार्ग बर्दिया निकुञ्जको कोर एरियालाई चिर्दै निस्केको छ । जहाँ तीनवटा बाघको टेरिटोरी भएको अनुमान गरिन्छ । साथै अन्य बाघ पनि सोही सडक भएर वारपार गर्छन् । पुस १८ गते बिहान बाराको पथलैयामा गाडीको ठक्करबाट मरेको पोथी बाघ पनि राति सिकार गरेर बिहानीपख आफ्नो बासस्थान फर्कन लागेको अनुमान गरिएको छ । त्यसैले कोर एरियामा बनेका यस्ता सडकहरू बन्द नै गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

वन्यजन्तु विभागका पारिस्थितिकीयविद् हरिभद्र आचार्यले बर्दियाको हकमा सो राजमार्ग बन्द गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘कोठियाघाट क्षेत्रबाट बाटो बनिसकेकाले सो सडकलाई विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘समग्रमा भन्नुपर्दा वन्यजन्तु पूर्वाधारमैत्री संरचना बनाउने, बस्ती बसाउँदा एकीकृत बस्ती बसायो भने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण हुन सक्छ ।’ बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले पनि वैकल्पिक सडक प्रयोग गर्ने कि भन्ने छलफल भइरहेको बताए ।

गुलरिया–कोठियाघाट–राजापुर हुँदै टीकापुर हुलाकी सडक छ । त्यसलाई प्रयोग गर्न सकिने श्रेष्ठको भनाइ छ । त्यस्तै राजमार्गमा अन्डरपास, ओभरपास, फ्लाइओभर, गति नियन्त्रण जस्ता व्यवस्थापन गरियो भने धेरै हदसम्म मानव र वन्यजन्तुबीचको द्वन्द्व कम हुन्छ । संरक्षणकर्मी बाबुकृष्ण कार्कीका अनुसार जंगल क्षेत्रमा डमी पोस्ट र डमी गार्ड पनि राख्नुपर्छ । साथै जंगलको बीचबीचमा अस्थायी पोस्ट, अस्थायी चेक प्वाइन्टहरू अनिवार्य गरेर सुरक्षाको प्रत्याभूति दिनुपर्ने उनको भनाइ छ । –केशव राना/नेपाल समय