Loading... आजः २३ फाल्गुन २०७७, आइतवार
विचार

जलवायु परिवर्तन, ‘तहसनहस जीवनचक्र’

जलवायु परिवर्तन, ‘तहसनहस जीवनचक्र’

वर्तमान समयमा बढ्दो जनसंख्याका कारण यसका नकारात्मक प्रभावहरु जताततै देखिन थालेका छन् । जलवायु परिवर्तनका कारण हाम्रो प्रकृतिले आफ्नो अस्तित्व जोगाउनको लागि ठूला चुनौतिहरुको सामना गर्नु परिरहेको छ । यसवाट हामी वरपरको वातावरण पनि अछुतो रहन सकेको छैन । वातावरणमा देखिएको यस्तो नकारात्मक प्रभावका कारण बदलिदो जलवायुमा प्राकृतिक स्रोत र साधनहरुमात्र होइन समग्र मानवीय अस्तित्व जोगाउन नै गम्भीर चुनौतीका रुपमा देखापरेको छ । हामी अहिले यस्तो अवस्थामा रहेका छौ, जहाँ बाँच्नको लागि परिवर्तित जलवायुजन्य समस्याको समाधानमा लाग्नुबाहेक अरु कुनै विकल्प छैन ।

जलवायु परिवर्तन प्राकृतिक घटनाक्रम हो । यद्यपि पछिल्ला केही दशकयता असामान्य र तीव्ररुपमा बदलिदै गएको जलवायु परिवर्तनको कारण ठूलो परिमाणमा मानव सिर्जित हरितगृह ग्यासको उत्सर्गबाट भएको विश्व उष्णीकरण हो । जलवायु परिवर्तनसम्वन्धी अन्तरसरकारी मञ्च (आइपीसीसी)का अनुसार ‘मानवीय क्रियाकलाप तथा प्राकृतिक अस्थिरता कारण लामो समयावधिमा जलवायुमा हुने कुनै पनि किसिमको परिवर्तन नै जलवायु परिवर्तन हो ।’ जलवायु परिवर्तन भनेको लामो समय अवधिमा मौसमका तथ्यङ्कीय परिमाणमा परिवर्तन हुनु हो । यो दशकौदेखि हजारौ वर्षहरुमा पनि हुन सक्छ ।

त्यसैगरि जलवायु परिवर्तनका कारण औसत मौसमका घटनाहरुमा थोरै वा धेरै परिवर्तन हुनसक्छ र जलवायु परिवर्तन निश्चित क्षेत्र वा संसारभर देखिन सक्छ । जलवायु परिवर्तनका प्रभावहरु मध्ये ६० प्रतिशतभन्दा बढी जलश्रोत माथि पर्ने गरेको देखिएका छन् । हिउँ र बरफ नै स्वच्छ पानीका प्रमुख स्रोतहरु हुन् । त्यसैगरी सुख्खायाममा हाम्रा नदीनालाको प्रवाहलाई पनि हिमालयको हिउँले बचाइराखेको हुन्छ तर विश्व उष्णीकरणका कारण तीव्ररुपमा हिउँ पग्लिनाले भविष्यमा पानीको अभाव हुने देखिनुका साथै बदलिदो जलवायुका कारण वर्षाको पद्दतिमा परिवर्तन आउने हुनाले यसले भविष्यमा थप नकारात्मक प्रभावपर्ने देखिन्छ ।

जलवायु परिवर्तनका कारण पानी पर्ने परम्परागत पद्दतिमा परिवर्तन भई कतिपय स्थानहरुमा धेरै पानी पर्ने र कतिपय स्थानहरुमा पानी पर्दै नपर्ने गरेको देखिन्छ । फलस्वरुप अतिवृष्टिका कारण बाढी र पहिरो जाने र अल्पवृष्टिका कारण सुख्खा खडेरीको समस्या भोग्नुपर्ने हुन्छ । खासगरी हाम्रो क्षेत्रमा खडेरी पर्ने र अस्वभाविक वर्षा लामो समयसम्म हुने गरेको पाइन्छ । यस्ता घटनाले पानीको उपलब्धतामा कमी ल्याउनुका साथै पानीका श्रोतमा हिलो र माटो मिसिनाले पानी पिउनयोग्य हुँदैन । फोहोर या अपर्याप्त पानीका कारण धेरै क्षेत्रहरु पानीजन्य रोगहरुको चपेटामा परिरहेको छ ।

यसैगरी तटीय क्षेत्रको स्वच्छ पानीमा विभिन्न लवणहरु मिसिनाले पानी नुनिलो हुने र पिउनका लागि समेत अयोग्य हुन्छ । नेपालमा बर्षायामको सुरु जेष्ठ, असारमा हुन्छ र संसारका अन्य भागमा पनि खास महिना र समयमा बर्षाको सुरुवात हुन्छ तर वर्षाको पछिल्लो प्रवृतिलाई हेर्दा पानी पर्ने समय र पद्दतिमा परिवर्तन आएको छ । पानी चाहिने मौसममा नपर्ने र अनावश्यक समयमा पानी पर्ने गरेको देखिन्छ । नेपालमा करिव ३ हजार २५२ हिमनदी र २ हजार ३२३ हिमताल छन्, जुन दक्षिण एसियाका १ दशमलव ३ अर्बभन्दा बढी जनसंख्याको लागि स्वच्छ पानीको स्रोत हो ।

त्यसैले हिमाली क्षेत्रलाई एसियाको जलस्तम्भ पनि भनिन्छ तर तीव्र उष्णीकरणले हिमालयको अस्तित्व नै संकट्मा परेको छ । यसले गर्दा पानीको अभाव यस क्षेत्रको मुख्य समस्या हुने देखिन्छ । जलवायु परिवर्तको हिसावले कृषि क्षेत्र एकदमै संकटको क्षेत्रमा पर्दैछ । तापक्रममा वृद्घि, अस्थिर, वर्षा, समुद्रीसतहमा वृद्घि र अन्य जलवायुजन्य घटनाको तीव्रता र बारम्बारताले विश्वको कृषि उत्पादन र व्यवसायमा समेत नराम्रो प्रभाव पार्दै गएको छ । नेपालको ३९ प्रतिशत भू–भाग वनजंगललले ढाकेको छ । आर्थिक र वातावरणीय दुवैरुपमा वनजंगलको महत्वपूर्ण भूमिका रहन्छ ।

आफ्नो खाना बनाउने प्रकृयामा कार्वनडाइअक्साइड सोस्ने हुनाले यसले कार्वन भण्डारको रुपमा काम गर्छ । फलस्वरुप केहि मात्रामा जलवायु परिवर्तनको प्रभावलाई कम गर्न मद्दत गर्दछ । जलवायु परिवर्तनका कारण करिव २४ प्रतिशत प्रजातिहरु लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तन एउटा गम्भीर विषय हो, जसले सम्पूर्ण क्षेत्र र हाम्रो जीवनको प्रत्येक पक्षलाई प्रभाव पार्दै गएको छ । यसको प्रभाव दीर्घकालिनसम्म पर्ने देखिन्छ । हामी अत्यन्तै संकटासन्न अवस्थामा छौ । त्यसैले परिवर्तित जलवायुलाई पहिलेकै अवस्थामा ल्याउन नसके पनि हाम्रा केही सकरात्मक प्रयासहरुले परिवर्तन भने अवश्य ल्याउन सक्छौ ।

नेपाल जलवायुको क्षेत्रमा चौथो अति प्रभावित मुलुक हो । यहाँको औसत बार्षिक तापक्रम बृद्धि विश्वको औसतभन्दा धेरै माथि छ । नेपालको जनसंख्या विश्व जनसंख्याको ०.४ प्रतिशतभन्दा कम छ र नेपालले विश्व उत्सर्जनको ०.०२५५ मात्र हरित गृह ग्यास उत्सर्जज गर्छ तर पनि नेपालको तापक्रम वार्षिक ०.०६० सेन्टिग्रेडले बृद्धि भइरहेको छ । नेपालमा हुने वर्षामा प्रतिवर्ष १.३ मिलिमिटरको दरले बृद्धि भई राखेको छ तथापि पानी पर्ने दिनहरुमा ०.०८ दिन प्रतिवर्षको दरले घटिरहेको छ । नेपालमा सबै प्रकारका जलवायु पाइन्छन् । नेपालका पहाडहरु भिराला र कोमल छन् । हाम्रो जीविका प्रकृतिमा र कृषिमा निर्भर छ, आकाशे खेतीको वाहुल्यता छ ।

तसर्थ कृषि उत्पादनमा आउने कुनैपनि समस्या देशका लागि बिपत्ती हुनसक्छ । आर्थिक अवस्था कमजोर छ । हाम्रो मानवीय श्रोत पनि कमजोर छ । जलवायु परिवर्तनलाई सम्बोधन गर्ने सन्दर्भमा नेपालले ठोस योजना तयार पारेको देखिँदैन । पृथ्वीको तापक्रममा आउने परिवर्तनका कारण हिमाली क्षेत्रको हिउँ पग्लिने हुँदा समुद्रको सतह बढ्न जान्छ भने हिमतालहरूमा पानीको तह बढ्न गई ताल विस्फोट हुने सम्भावना रहन्छ जसको प्रत्यक्ष असर तल्लो क्षेत्रमा पर्न जान्छ । वर्षाको प्रकृतिमा आउने परिवर्तनका कारण बाढी पहिरो, खडेरी, अतिवृष्टी जस्ता समस्या देखापर्दछन जसले जैविक विविधतामा ठूलो असर पुर्याउँछ ।

यसले गर्दा नदी नालाको पानीको वहावमा आउने परिवर्तनले सिमसार क्षेत्रको जैविक विविधतामा असर पार्छ । तल्लो भागमा रहेका जलासयहरूमा माथिल्लो क्षेत्रबाट बगाएर ल्याएको वालुवा र अन्य जैविक पदार्थ जम्नाले सिमसार क्षेत्र घाँसै मैदान वा वन क्षेत्रमा परिणत हुन जान्छ । पानीको माटोको तापक्रममा आएको परिवर्तनका कारण कृषि क्षेत्रको जैविक विविधतामा नराम्रो असर पर्ने हुन्छ । अर्कोतर्फ जलवायु परिवर्तनले मानव जीवनमा पार्ने असरले गर्दा मानवीय आवश्यकता परिपूर्तिका लागि हाम्रो जस्तो विकासोन्मुख मुलुकमा जैविक विविधतामै दोहन हुने गरेको छ ।

बाढी पहिरोका कारण, खडेरीका कारण विस्थापित बस्तीहरू वन क्षेत्रतर्फ आकर्षित हुने र दैनिक गुजाराका लागि समेत वन स्रोतमा भरपर्ने हुँदा धेरै जीवजन्तु र वनस्पतिको बासस्थान विनास हुने, परिवर्तन हुने र खण्डिकृत हुने गर्दछ । आगो र आँधीवेरीका घटनामा वृद्धि हुने हुँदा यसलाई थप उर्जा दिन्छ । तापक्रम वृद्धिका साथै वर्षातको चक्रमा परिवर्तन हुने जस्तैः लामो समयसम्म पानी परिरहने, पानीको तीब्रता बढी हुने, मनसुनको शुरुवात र अन्त्य हुने समयमा फरक पर्ने, खडेरी पर्ने जस्ता कारणले प्रजातीभित्र निहित गुणमा परिवर्तन आउँछ । एक अध्ययन अनुसार प्रजातीहरूमा लगभग ८० प्रतिशत प्रजातिको वंश विस्तारको शुरु र अन्त्य बसाई सराई, वितरण र शरीरको आकारमा समेत परिवर्तन भएको पाइएको छ ।

गर्भाधान र आहारजन्य वनस्पतिको फल लाग्ने मौसममा परेको फरकले कतिपय प्रजातिको चरालाई आहारको कमी भएको पनि अध्ययनमा पाइएको छ । तापक्रममा भएको वृद्धिकै कारण धेरै प्रजातिहरूका वासस्थान उचाईतर्फ सर्दै गएको पाइएको छ । हरेक प्राणीलाई बदलिंदो तापक्रम, वर्षा र नयाँ रोगसंग संर्घष गर्दै आफ्नो अनुकूल वनाएर बाँच्न गाह्रो हुन्छ । यसले कुनै कुनै प्रजातिको संख्यामा कमी हुने तथा खण्डिकरण हुनेहुन्छ जसले सम्पदाको विविधकरणमा नकारात्मक असर पुर्याउछ । कुनै एक क्षेत्रमा मात्र नभएर सिंगो जीवन चक्रलाई नै तहसनहस पार्ने भय मडारिइरहेको जलवायु परिवर्तनको मुद्दालाई यसबाट सबैभन्दा बढी पीडित हुने मुलुकमा परेको नेपालमा अझै पनि सामना गर्ने उपायहरूको अवलम्बन गर्न सकिरहेको छैन ।

दिगो र प्रभावकारी उपायहरूको अवलम्बन गरेर वन क्षेत्रको विस्तार, नदी संरक्षण, हिमाल संरक्षण तथा ताल तलैया र सिमसार क्षेत्रको संरक्षण गरेर ‘कार्बन व्यापार’बाट आर्थिक लाभ लिने र सो रकम प्रभावित क्षेत्रमा उपयोग गर्ने योजना बन्न सकेको पाइँदैन । नाराका लागि नारा घन्काएर विदेश भ्रमण गर्ने, गोष्ठी, सेमिनामा भाषण मात्र छाँटेर यस समस्याबाट मुक्ति पाउन सकिंदैन । कमजोर आर्थिक अवस्था र बढीभन्दा बढी जनता प्राकृतिक स्रोत साधनमै निर्भर हुनुपरेको अवस्थामा जैविक विविधतामा पर्ने प्रभावले आगामी दिनमा अकल्पनीय संकट निम्त्याउँदैन भन्न सकिन्न । समय छँदै उपयुक्त रणनीति र योजना बनाएर त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नु नै अहिलेको एकमात्र विकल्प हो ।