Loading... आजः २ माघ २०७७, शुक्रबार
सामाजिक विभेदविरुद्ध ऐतिहासिक अभियान

महिला–पुरुषबीच ‘मितेरी’, श्याम र श्यामकुमारी नेपालकै पहिलो ‘मित–मितिनी’

महिला–पुरुषबीच ‘मितेरी’, श्याम र श्यामकुमारी नेपालकै पहिलो ‘मित–मितिनी’
नेपालगन्ज–१९ कारकाँदो निवासी श्याम गिरी र राप्तीसोनारी गाउँपालिका–५, बिनौना निवासी श्यामकुमारी चौधरी २०७६ बैसाख २१ गते मितेरी लगाउँदै । फाइल तस्वीर

बाँके । थर र लिंग फरक भए पनि गत बर्ष मितेरी लगाएका श्याम गिरी र श्यामकुमारी चौधरी नेपालकै पहिलो ‘महिला–पुरुष’ हुन् । करिब ११ बर्षअघि रेडियो कार्यक्रममा बोल्दै गर्दा चिनजान भएपछि ‘मित–मितिनी’को नाता लगाउँदै उनीहरुले गत बर्ष औपचारिक कार्यक्रम गरेर मितेरी लगाएका थिए ।

महिला र पुरुषबीच मितेरी लगाएपछि श्याम र श्यामकुमारी नेपालकै पहिलो ‘मित–मितिनी’ बनेका हुन् । लैङ्गिक तथा सामाजिक विभेद अन्त्यका लागि मितेरी लगाएका श्याम र श्यामकुमारीलाई नेपालकै पहिलो ‘मित–मितिनी’ घोषणा गर्न नेपालगन्ज उपमहानगरपालिकाले पनि पहल थालेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई सिफारिसका लागि पहल गरेको जनाइएको छ । यस्तै नेपालगन्ज उपमहानगरपालिका १९ नम्बर वडा कार्यालयले पनि मितेरी सम्बन्ध कायम भएको भन्दै सिफारिस गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले नेपालकै पहिलो ‘मित–मितिनी’ घोषणा गर्नेमा आफूहरु विश्वस्त रहेको श्याम र श्यामकुमारीले बताए ।

नेपालगन्ज–१९ कारकाँदो निवासी श्याम गिरी र राप्तीसोनारी गाउँपालिका–५, बिनौना निवासी श्यामकुमारी चौधरी २०७६ बैसाख २१ गते मितेरी लगाउँदै । फाइल तस्वीर

‘सामाजिक विभेदविरुद्ध औपचारिकरुपमै मितेरी लगाएका हौं,’ श्याम र श्यामकुमारीले भने, ‘हामी ११ बर्षदेखि मित–मितिनीका रुपमा एउटै परिवार भएका छौं । यो नेपालकै पहिलो र ऐतिहासिक विषय हो । तर, यसमा हामीलाई राज्यले साथ दिएको छैन ।’ एउटै रेडियोमा उस्तै नामका दुई पात्रले फोन सम्वाद गरिरहने क्रममा चिनजान भएका श्याम र श्यामकुमारीले लैङ्गिक तथा सामाजिक विभेद अन्त्यका लागि मितेरी लगाएको प्रतिक्रिया दिए ।

नाम मिलेपछि रेडियो सम्वादकै क्रममा फोन नम्बर आदानप्रदान भएपछि आफुहरु पारिवारिकरुपमा पनि नजिकिँदै गएको उनीहरु बताउँछन् । उनीहरु भन्छन्, ‘हामीले मित र मितिनी भनेर एक अर्कालाई सम्बोधन गर्यो । यो सम्बन्ध पारिवारिकरुपमा पनि निकट भयो । हामीले आफूलाई भाग्यमानी ठानेका छौं ।’ दुई वटा परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उनीहरु खुशी व्यक्त गर्छन् ।

श्याम भन्छन्, ‘रेडियोमा नाम सुने, मेरै नाम रहेछ । मात्रै जात र लिंग फरक, तर पनि मैले उहाँसँग मितिनीको नाता लगाए । केहीले शंका गरे । मैले त्यो शंकालाई प्रष्ट्याए । हामी दुवैको एकअर्काका परिवारसँग भेटघाट आउजाउ भइरहन्छ ।’ सबैले समान लिंगबीच मितेरी लगाउँछन् । श्याम र श्यामकुमारीबीचको मितेरी सम्बन्ध नौलो र अनौठो छ । रेडियो कार्यक्रमबाट नजिक बनेका श्याम र श्यामकुमारीको मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ ।

‘हाम्रा सोंचहरु अझै नकारात्मक विकारहरुले भरिएका छन् । हामी अरुलाई राम्रो होइन, शंकाको दृष्टिले हेर्छौ । हाम्रा सोंचहरुकै कारण समाज अझै पनि पछाडि परिरहेको छ,’ श्यामकुमारी भन्छिन्, ‘हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ । मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रुपमा मानिरहेकी छु ।’ महिला र पुरुषबीच भएको मितेरी सम्बन्ध दुनियाँमै पहिलो भएको उनीहरुको दावी छ ।

श्यामकुमारी भन्छिन्, ‘सकारात्मकरुपमा हामी दुई परिवार एक भएका छौं । मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन । हामी पारिवारिक रुपमा एउटा परिवार भएका छौं । महिला र पुरुषहरुबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो । सामाजिक विभेदको अन्त्य आफैबाट सुरु गर्नुपर्छ ।’ उनीहरुबीचको मितेरी सम्बन्ध सबैका लागि प्रेरणादायीसमेत बनेको छ ।

क्याप्चर ए सिसिएल चेञ्ज इन एक्सन फोटो विधामा सामाजिक तस्वीर सम्बन्धी प्रतिश्पर्धामा नेपालगन्जका श्याम र राप्तीसोनारी गाउँपालिकाकी श्यामकुमारीको मितेरी जोडी फोटो पुरस्कृतसमेत भएको छ । देशभरबाट प्राप्त ३० वटा विभिन्न सामाजिक काम र विकाससँग सम्बन्धीत फोटोमध्ये मित–मितिनीको फोटो उत्कृष्ट भएको थियो । अन्तिम प्रतिश्पर्धाका लागि आठ वटा फोटोमध्ये मित श्याम र मितिनी श्यामकुमारीको फोटो उत्कृष्ट भएको थियो ।

यसरी भएको थियो चिनजान

श्याम गिरी उनलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन सम्वाद कार्यक्रममा उनी सम्वाद गर्न भ्याइहाल्छन् । आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्ने ४९ बर्षिय श्याम नेपाल आयल निगम नेपालगन्जमा कार्यरत कर्मचारी छन् । साथीभाईहरुसँग सहजै निकटता बनाउन सक्ने उनको खुबी हो । उनी नयाँ साथीहरुसँग छिट्टै नजिक बन्नुहुन्छ र सक्ने सहयोग गर्न तयार हुन्छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१९ निवासी श्यामले यहाँका विभिन्न एफएम स्टेशनहरुले चलाउने फोन संवाद कार्यक्रमहरुमा उहाँले फोन गरेर अन्तरक्रिया गरिरहन्छन् । नेपालगन्जका प्रायः सबैजसो एफएम स्टेशनका साङ्गीतिक कार्यक्रमहरुमा फोन सम्वाद गरिरहने श्यामले रेडियोबाटै रेडियोप्रमीको परिचय बनाए । रेडियोमा प्रशारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उनको फोन सम्वाद भइरहन्थ्यो ।

बाँके बैजापुरकी श्यामकुमारी चौधरीको रेडियो मोह पनि उस्तै छ । उनी पनि रेडियो हिमालका सबै कार्यक्रमहरुमा फोन सम्वाद गरिरहन्थिन् । राप्तीसोनारी गाउँपालिका–५, बिनौना निवासी ३० बर्षिया श्यामकुमारी स्थानीय अगुवाका रुपमा परिचित छन् । पढाईमा स्नातक उनले विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेकी छन् । रेडियो कार्यक्रममा हुने त्यही फोन संवादमार्फत उनीहरुले मित–मितिनीको नाता गाँसे ।

स्नातकसम्मको पढाई पुरा गरेकी श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षित मध्येमा गनिन्छिन् । सामाजिक विभेदविरुद्धका अभियानमा उनको सहभागिता छुट्दैन । गाउँमा हुने सामाजिक विभेदविरुद्धका काममा अग्रसर रहने सोंच सकारात्मक भए परिवर्तन सम्भव भएको ठान्छिन् । श्याम गिरी र श्यामकुमारी चौधरीको उमेर अन्तर करिब १९ बर्ष छ ।