Loading... आजः १४ माघ २०७७, बुधबार
आज २९९ औं पृथ्वी जन्मजयन्ती

पृथ्वीनारायण : नेपाल एकीकरणका प्रणेता

पृथ्वीनारायण : नेपाल एकीकरणका प्रणेता

आज पौष २७ अर्थात २९९ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस । देश फेरि अनिश्चयको भुँमरीमा फसेको छ । अब त स्थिरता होस् देशमा भन्ने कामनामाथि फेरि तुषारापात भएको छ । यस कठिन घडीमा राष्ट्रनिर्माता पृथ्वीनारायणको सम्झना झनै सशक्त भएर आउँछ । म त्यसैले पुनश्चः नेपाल एकीकरणका प्रणेता तथा राष्ट्रनिर्माता पृथ्वीनारायण तथा देश बनाउन अग्रणी भूमिका खेलेका सबैप्रति विशेष सम्झना गर्दै आगामी मार्ग सहज होस् भन्ने कामना गर्दछु । साथै हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

विक्रमाब्द १७७९ पौष २७ मा जन्मनु भएका शाह नेपाललाई गौरवान्वित तुल्याउने र समस्त नेपालीले गौरव गर्नुपर्ने व्यक्तित्व हुनुहुन्छ । विश्वभर नेपाल भनेर चिनाउने, नेपाली भनेर चिनाउने र चिनाएको सबैभन्दा बढी श्रेय उहाँलाई जान्छ । उहाँबाट नेपालको एकीकरणको अभियान प्रारम्भ नभएको भए आज हामीले शिर ठाडो पारेर हामी नेपाली, हामी गोर्खाली हौं भन्न पाउने थिएनौं । हामीले पढेका हौं, उसबखत पश्चिममा बाइसे–चौबिसे राज्यहरु थिए, पूर्वमा भोजपुर र चौदण्डी ।

साना ठूला राज्यहरु ५२ वटा राज्यहरु सबैलाई एकीकरण (पृथ्वीनारायणकै पालामा राज्य एकीकरण भएको चाहिं होइन) को जग उहाले बसाल्नु भएको थियो । एकीकरणको प्रयास गर्नु भएको थियो । नुवाकोट, लमजुङ, पाल्पा, मकवानपुर, किर्तिपुर, काठमाण्डौं, भक्तपुर, लालितपुर यी सबै राज्यहरु उहाँबाट विजित हुन् । पृथ्वीनारायणको उदय भएका बेला विभिन्न राज्यहरुमा देश छरिएको थियो । कर्णाली क्षेत्रमा २२ वटा राज्य थिए, जसलाई बाइसे राज्य भनिन्थ्यो । गण्डकी क्षेत्रमा चौबिस राज्यहरु थिए । तिनलाई चौबिसे राज्य भनिन्थ्यो ।

पूर्व, दक्षिण र दक्षिणपूर्वी क्षेत्रमा सेनहरुद्वारा राज गरिएका विभिन्न राज्यहरु थिए । मकवानपुर, चौदण्डी, विजयपुर र नेपाल उपत्यका भित्र कान्तिपुर, भक्तपुर र ललितपुर तिन वटा स्वतन्त्र राज्य थिए । यी सबै ५२ राज्यभन्दा धेरै स–साना राज्यहरुमा विभाजित नेपाललाई एकै सूत्रमा बाँध्ने कार्यको सुरुवात गरेका थिए पृथ्वीले । पछि उहाँका जेठा छोरा प्रताप सिंह शाह (जो अढाई बर्ष मात्र राजा भए) उहाँकी बुहारी रानी राज्यलक्ष्मी शाह र बहादुर शाहका पालामा राज्य विस्तार अझ व्यापक भएको थियो । पृथ्वीनारायण शाहले एकीकरणको थालनी नगर्नु भएको भए नेपाल यस रुपको हुने नै थिएन ।

गोर्खाली, पाल्पाली, स्याङ्जाली लगायत फलानो फलानो राज्यको रुपमा चिनिन्थ्यो । सिंगो राज्य, सिंगो मुलुकको रुपमा रहँदैनथ्यो । उहाँले जुन जग बसाल्नु भयो, उहाँका सन्ततिले, अनुयायीले तथा उहाँँँका कान्छा छोरा बहादुर शाह (जसलाई पृथ्वीनारायणको फोटोकपीको रुपमा हेरिन्छ ) प्रयासबाट सम्पूर्ण पूर्वमा कागडा देखि पश्चिममा टिष्टासम्मका भूभाग एकीकरण गरी सिंगो नेपाल बनाए । पछि सन् १८१६ को सुगौली सन्धिमा नेपालले आफ्नो झण्डै एकतिहाइ भूभाग गुमाउनु प¥यो । तथापि, जुन नेपाल बचेर रहेको छ, यो पृथ्वीनारायणले एकीकरण प्रारम्भ गरिदिएकै कारण बन्न सम्भव भएको हो भन्ने विषयमा किमार्थ दुई मत छैन ।

अब आउँ जन्मजयन्तीकै प्रसंगतर्फ

पृथ्वी नारायणको समय पछि, उहाँका उत्तराधिकारीहरुको समयमा पनि,जन्मजयन्ती मनाउने चलन थिएन । त्यस समयपछि राणकाल आयो । शाह राजाहरुको जन्मजयन्ती मनाउने प्रयत्न नै भएन । २००७ सालका प्रजातन्त्र स्थापना भयो । प्रजातन्त्र स्थापित भएको खुला परिवेशमा २००८ सालमा योगी नरहरिनाथले पृथ्वीका पहिलो पटक दिव्योपदेश प्रकाशित गरे । २०१० सालमा यो पुस्तक दोस्रो संस्करणका रुपमा पृथ्वी जयन्ती विशेष अवसरमा प्रकाशित भयो । त्यसपछि पञ्चायतकालमा यसलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन शुरु गरियो ।

२०४१÷४२ सालतिर पृथ्वीजयन्ती मनाउदा एक जना राजनीतिज्ञ र एक जना प्राध्यापकलाई विभिन्न अञ्चलका कार्यक्रममा पठाएर पृथ्वीका विषयमा बोल्न लगाइन्थ्यो । २०४६ सालमा बहुदलीय व्यवस्था आए पछि पनि जन्मजयन्ती मनाइने परम्परा कायमै थियो । तर २०६२÷६३ को परिवर्तन पछिपृथ्वी नारायणको जन्मजयन्ती किन मनाउने भनेर विभिन्न स्थानमा त्यो बेलाका माओवादीहरुले बम पड्काउने जस्ता निन्दनीय कार्य गरे । फोटो फुटाउने, विभिन्न नागरिक अगुवाहरुमाथि आक्रमण गरे । उनीहरुले पृथ्वीलाई एउटा दानवको रुपमा हेर्ने गरेका र जथाभावी नकारात्मक आलोचना पनि गरेको पाइन्छ । उनले नेपालको एकीकरण गरेका होइनन् गोर्खा राज्यको विस्तार गरेका हुन भन्ने गरेको पनि पाइन्छ ।

पृथ्वीनारायणलाई हामीले एक विशिष्ट प्रतिभा सम्पन्न व्यक्तिका रुपमा हेर्नुपर्छ । उनी दूरदर्शी थिए, यसमा दुई मत छैन । उनको दिव्योपदेशलाई हामीले निष्पक्ष रुपमा समालोचना, विवेचना गर्नु जरुरी छ । पृथ्वीनारायणले भिजन लिएर एकीकरण गरेका थिए, कम्युनिस्टहरु त्यो गहिराइमा पुग्दै पुगेनन् । फलस्वरुप, पृथ्वीसँग सम्बन्धित किताव जलाउने च्यात्ने, शालिक भत्काउने, शाहका नामाकरण गरीएका विद्यालय तथा संघसंसथाका नामाकरण हटाउने, इतिहास मेट्ने जस्ता कार्यहरु उनीहरुले अल्प ज्ञानकै कारणले गरेका हुन् । इतिहास त इतिहासै हो मेटेर मेट्न सकिदैन । कतिपय नागरिकहरु अब सचेत भइसकेका छन् ।

पृथ्वीनारायण्को विजय यात्राकै कारण नेपालीका आफ्नो भन्ने माटो छ, देश छ । उनले विजय गरेका स्थान वा क्षेत्रमा कतै पनि स्थानीय देवी देवताको अपमान गरेको पाइँदैन, बरु सम्मान गरेको देखिन्छ । स्थानीको देवीदेवता, रितिरिवाज, परम्परा, संस्कार तथा मान्यता प्रति आदरभावसहित पुज्ने गरेको पाइन्छ । नुवाकोट विजय पश्चात देवी भैरवीको दर्शन गर्नु भएको थियो । (यी देवी नुवाकोट दरवार परिसरमा रहेको र देवी समक्ष आफ्नो आयु थप्न माग गरेको भन्ने चर्चा पाइन्छ । साथै, तिब्बतीयहरुसंग युद्धको क्रममा बहादुरले विजय पश्चात छाना सुनको जलप लगाइएको थियो । कान्तिपुर विजय पश्चात कुमारीको हातबाट टीका ग्रहण गर्नु भएको थियो । त्यतिखेर कुमारी जात्रा भइरहेको थियो । उहाँले त्यसमा बाधा उत्पन्न गर्ने सोच्नुसम्म भएन । उहाँ दुनियाँले संकट बेहोर्नु नपरोस् भन्ने विषयमा सदैव सजग रहनु हुन्थ्यो र भाइ भारदारहरुलाई पनि सोही बमोजिमकै आदेश दिने गर्नु हुन्थ्यो ।

दिव्योपदेशबाट के थाहा पाइन्छ भने कान्तिपुर उपत्यका विजय गर्नका लागि निकै संघर्ष गर्नु परेको थियो भन्ने बुझिन्छ । चन्द्रागिरी डाँडाबाट नेपाल उपत्यका देखिन्थ्यो । त्यस्तै किसिमले विजय गर्ने क्रममा बंगाली, अग्रेजहरुसंग लडाई गर्नु परेको वर्णन गरेको पाइन्छ । दोश्रो भागमा अब उप्रान्त के गर्ने भन्ने बारे वर्णन गरेको पाइन्छ । दिव्यपदेश २५० बर्ष पहिले बोलेका कुरा अहिले पनि त्यसका कतिपय विषय अहिले पनि उत्तिकै सान्र्दभिक रहेको छ । तिनमा भएका एक एक कुरा हुनुपर्छ भन्ने पनि होइन, तैपनि केही तथ्यहरु आज पनि उत्तिकै महत्व छन् ।

जस्तै : यो राज्य दुई ढुंगा बिचको तरुल

उत्तरमा चीन र दक्षिणमा भारत छ । सीमाना विवाद ठूलो राष्ट्र बिचमा परेको दुःख हो । नेपालीले सहनु परेको छ । लिपुलेकको सन्दर्भमा दुई राष्ट्रले सम्झौता गरे तर नेपाललाई वास्ता गरेनन् । जबकि पृथ्वीनारायणले आफ्नो रणनीतिक तथा कूटनीतिक कौशललाई प्रामिकतामा राखेर सन्तुलनको राजनीति गर्न सिकाउनु भएको सम्झनु आज पनि उत्तिकै सान्दर्भिक छ । अर्थात् हामीले यी दुई ठूला राष्ट्रहरुससँग मित्रवत व्यवहार गर्दै देशको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्नु पर्छ ।

चार जात छत्तिस वर्णको फूलबारी

हामी समावेशिताका कुरा गरिरहेका छौं । सबै जातको फूलबारी भनेकै समावेशिता त हो ।

आत्मनिर्भरता

विदेशी ब्यापारीहरुलाई जथाभावी गर्न नदिनु, सबै सम्पत्ति बाहिर जान्छ भन्नु भएको छ पृथ्वीनारायणले । त्यस्तै विदेशी संस्कृतिको निर्बाध प्रवेशका विरुद्ध भएको पनि प्रस्टिन्छ, उहाँको भनाइमा । उहाँले भन्नु भएको थियो, आफ्नै संस्कृति अपार रहेको छ । पृथ्वी आफू र उनका सहयोगी हुन आएकाहरुले अत्यन्त दुःखपूर्वक खडा गरेको राज्यलाई बलियो र सशक्त राष्ट्रका रुपमा देख्न चाहनु हुन्थ्यो । त्यही जगमा उभिएको हो हाम्रो स्वतन्त्रता । यसलाई कसैले नकार्न सक्दैन ।

………

म आफू ऐतिहासिक अर्थात पृथ्वीनारायण शाहको कर्मभूमि नुवाकोटमा जन्मेको नाताले यो भूमिप्रति हमेशा ऋणी छु र रहन्छु । मेरो समाजले कहिले पनि हामीलाई पृथ्वीनारायण शाहले हराएको हो त्यसकारण हामी जन्मजयन्ती मनाउदैनौ कहिले सुनेको छैन । नुवाकोट पृथ्वीले जितेको असोज १५ लाई नि उल्लासमय तरिकाले नागरिक मुल समारोह स्थापित गरि स्थानीय तथा बिभिन्न संघसंस्था मिलेर मनाउने गरेका छौं । पोहोर साल २९८ औं जन्मोजयन्ती बिदुर नगरपालिकाको संयोजनमा भव्यतापूर्वक कार्यक्रम गरी मनाएको थियो ।

अन्त्यमा, आज एउटा राजाको जन्मदिन मात्र होइन । नेपाल राष्ट्रको जग बसाल्ने दूरदर्शी ऐतिहासिक पुरुषलाई सम्झने पावन पर्व पनि हो । पृथ्वीको सम्मान गर्नु प्रत्येक नेपालीको कर्तव्य हो । उहाँको सम्मान तथा सम्झना गर्नु कुनै राजा वा राजावादीको गुनगान होइन । पृथ्वी नारायण ऐतिहासिक धरोहर हुनुहुन्छ, उहाँले नेपाल नामको लालपुर्जा हामिलाई थमाएर जानु भएको छ । यसको रक्षा गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु हाम्रो धर्म हो ।

मेरा साना दुषले आज्र्याको मुलुक होइन,
सबै जातको फूलबारी हो, सबैलाई चेतना भया ।