Loading... आजः १४ माघ २०७७, बुधबार
गद्य कविता

राष्ट्रपिता

राष्ट्रपिता

पृथ्वीनारायण !
गर्वले छाती ढक्क फुलेको छ
भूगोलभरिको शान छ
संसारमा शिर ठाडो छ
नेपालीको पहिचान छ
स्वाभिमानले भरिएको छ
नेपाल आमाको प्राणमा छ
नेपाल आमाको ढुकढुकी बोलिरहेछ
उनै महान राष्ट्रनिर्माता
राष्ट्रपिता पृथ्वीनारायण शाह
यो भूगोलले एक सपूत जन्मायो
जसले राज्यहरु एकीकरण गरे
नेपाल आमाको नामकरण गरे
नेपालीको चिनारी दिए
सिङ्गो नेपालको सपना देखे
ती सपना यथार्थमा परिणत गरे
हटेर होइन, डटेर लडे
कति भोकै, प्यासै लडे
ससाना राज्यलाई एक सूत्रमा बाँधे
सपनालाई व्यवहारमा रुपान्तरण गरे
चार जात छत्तीस वर्णको फूलबारी
विभेदरहित समाजको निर्माण गरे
म कसरी व्याख्या गरौँ ?
शूरवीर, तेजवीर, बुद्धिमान, मिहिनेती,
साहसी ती महान् सपुतको ?
कुन शब्दावलीले सजाऊँ ?
कुन फूलले माल्यार्पण गरौँ ?
कसरी सम्मान भाव दर्शाऊँ ?
तिनै महान् सपूतलाई
जसले दिव्य उपदेश दिएर गए
नेपाल सबै जातको फूलबारी हो
घुस लिने र दिने दुवै शत्रु हुन्
स्वदेशी वस्त्र प्रयोग गर्नुपर्छ
आफ्नै माटोमा फलाउनुपर्छ
स्वदेशी संस्कृति जोगाउनुपर्छ
छिमेकी मुलुकसँग चनाखो हुनु
यी महान् वाणीहरु दिएर गए
उनको योगदानको शब्दै अपूर्ण छ
हरेक नेपालीले अनुभूति गरिरहेछन्
सदा जीवन्त छन् महान सपूत
कैयौँ योद्धा लडे, मरे
देशका लागि रगत बगाए
कैयौँ सहिद भए
ती योद्धाहरुप्रति शिर झुक्छ
जसले आफ्नो आहुति दिएर
आफ्नै बलि दिएर
सिङ्गो नेपाल बनाए
आफैँलाई श्रद्धाञ्जली दिए
वीर सहिद बने
नेपाल आमाको निर्माण गरे
नेपालका निर्माताहरुप्रति सलाम छ
सलाम छ ! सलाम छ !!