Loading... आजः १४ माघ २०७७, बुधबार
समाजमा पुरुषका पीडा

जब समाजले ‘जोइटिङ्ग्रे’को बिल्ला भिराउँछ

जब समाजले ‘जोइटिङ्ग्रे’को बिल्ला भिराउँछ

नेपाललाई पुरुष प्रधान मुलुकको ट्याग लागेको छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाहरु निकै सक्रिय देखिन्छन् । यी संघसस्थाहरु एकदमै जागरुक भएर अभियानमा जुट्छन् । लैङ्गिक हिंसाविरूद्ध जनचेतनामूलक सडक नाटक, गोष्ठी, अभिमुखिकरण बडो फुर्तीका साथ हुन्छन् । लाग्छ, अब नेपालमा लैङ्गिक हिंसाको अन्त्य भइसक्यो । संघसंस्थाको पहुँच पुग्ने सुविधा सम्पन्न स्थानमा यस्ता अभियानले गति लिइरहँदा विकट गाउँवस्तीमा भने लैङ्गिक हिंसाका घटना घटिरहेका थुप्रै उदाहरण छन् ।

‘महिलालाई सम्मान गरौँ, आदर्श पुरुष बनौँ, हिंसामुक्त नारी, प्रत्येक पुरुषको जिम्मेवारी, घरशान्ति नै विश्वशान्तिको आधार, महिला हिंसाविरुद्ध शून्य, सहिष्णुता कायम गरौँ’ जस्ता नाराहरु घन्किरहेका हुन्छन् । महिला हिंसाविरुद्ध आवाज उठाउने भन्दै आधिकारिकरुपमै नेपालमा धेरै संघसस्था खोलिने क्रम अहिले पनि जारी छ । जसले सरकारी तथा गैरसरकारी संघसंस्थाको हैसियतमा निरन्तर काम गरिरहेकै छन् । महिला हिंसाविरुद्ध आवाज अन्तर्राष्ट्रियरुपमा एकत्रित हुँदै आइरहेको छ ।

सञ्चारमाध्यमले पनि महिला हिंसासँग सम्बन्धीत समाचार सामाग्रीलाई बढी नै प्राथमिकताका साथ दर्शक, स्रोता तथा पाठकमाझ प्रस्तुत गर्ने गरेका छन् । आफुमाथि भएको हिंसाविरुद्ध विश्वव्यापीरुपमा महिलाहरु गोलवद्ध भइरहेको परिप्रेक्षमा वास्तविकता भने अलि भिन्दै छ । लैङ्गिक हिंसा तथा घरेलु हिंसाका कारण पीडित महिलाको सख्या बढिरहँदा त्यसको कारक अर्थात् पीडक पनि धेरैजसो महिला नै हुने गरेका छन् । जस्तै, सासुले बुहारीमाथि गर्ने हिंसा, बुहारीले सासुमाथि गर्ने हिंसा, नन्दले भाउजुमाथि अनि भाउजुले नन्दमाथि योसँगै जेठानीले देउरानी र देउरानीले जेठानीमाथि गर्ने हिंसा किन नहोस् ।

यसरी राज्यले नै महिला हिंसाको विषयमा बढी प्राथमिकता दिइरहँदा हाम्रो समाजमा दिनानुदिन पुरुषमाथि भइरहेको हिंसा भने थिचिएरै रहेका छन् । महिलामाथि हिंसा भयो, सुनिदिने थुप्रै निकाय छन् । मुलुक संघीय संचरनामा गएको छ । बस् महिलाले ‘ममाथि हिंसा भएको छ’ भन्नुमात्रै पर्छ । स्थानीय तहमा वडासम्मै महिलाको विषयमा वकालगत गर्ने संघसंस्था सक्रिय छन् । तर पुरुषमाथि हुने हिंसाको विषय हाम्रो समाज गौण छ । यस्ता विषयमा न त पुरुष नै खुलेर आउन सक्छन्, नत पुरुष अधिकारको विषयमा आवाजमा उठाउने त्यस्ता संघसंस्था नै छन् ।

‘मलाई श्रीमानले दिनहुँ कुटपिट गर्छन्’ यही वाक्य एक श्रीमतीले सजिलै भन्न सक्छिन् । तर ‘म श्रीमतीबाट दिनहुँ कुटपिट भोग्नुपरेको छ’ सामाजिक संरचनाका कारण पनि कुनै श्रीमानले बाहिर खुलेर भन्न सक्दैन । किन ? किनकी त्यसो भनिरहँदा उसलाई समाजले ‘जोइटिंग्रे’को बिल्ला भिराइदिन्छ । जसका कारण उ थप पीडितमात्रै हुनपुग्छ । न्याय पाउनु कुरो त अलि परकै । पारिवारिक भूमिका निर्वाह र पुरुषले भोग्ने पीडा पारिवारिक भूमिका निर्वाह गर्ने पुरुषले अप्रत्यक्षरुपमा कैयन पीडाहरु सहिरहेका हुन्छन् । तर त्यस्ता पर्दा पछाडीका पीडा नत समाजले बुझेको हुन्छ, नत आफ्नै परिवारका सदस्यले ।

चलेको रीतिअनुसार अविवाहित पुरुषले विवाह गर्छ । जीवनसाथीको रुपमा उसले अर्कै परिवारकी सदस्यलाई आफ्नै जिम्मामा घर भित्र्याउँछ । जो छुट्टै परिवेश, बेग्लै किसिमको उठबस, लवाईखवाईमा हुर्केकी हुन्छे । उसलाई आफुनो परिवारमा समायोजन गर्ने पहिलो प्राथमिकता पनि तिनै पुरुषको हुन्छ । जुन काम उसका बाबु, बराजुले पनि गरेका थिए । नेपाली समाजमा दुई भिन्न दिशामा रहेका परिवार जोड्ने सेतुको काम पनि पुरुषले नै गर्छ । फरक परिवेशका परिवार मिले सबै ठिकठाक हुन्छ । तर भनेजस्तो भएन भने थप विवाद र असमझदारी बढ्दै जान्छ । आपसमा ठाकठुक हुन्छ । अनि त्यसवापत उत्पन्न हुने पीडाको सामना पनि बिचरा त्यही पुरुषले गर्न पर्छ ।

नेपाली समाजको बारेका सुक्ष्मरुपमा अध्ययन गरेकाहरु भन्छन्, ‘जति नै परिवर्तन र परिस्कृत भए पनि खासमा समाजको तितो वास्विकता यहि हो, जहाँ सासुले बुहारी र बुहारीले सासुको अस्तित्व सहजै स्वीकार्न सक्दैनन् ।’ त्यसको बीचमा रहेका असल श्रीमान् तथा छोराहरु यसको पीडा सहज बाध्य हुन्छन् । जिम्मेवार पुरुषलाई आमा र श्रीमती दुवैको कुरा सुन्न पर्छ । जो गैरजिम्मेवार छ, त्यसको कुरै नगरौ । जन्म दिने आमाको ठाउँमा आमालाई राख्न खोज्छ भने जीवनभर साथ दिन्छु भन्दै अग्नि साक्षी राखी सम्बन्ध गाँसेको जिवनसंगीनिलाई पनि उस्तै माया र सम्मान दिन पर्ने बाध्यता उसको हुन्छ । त्यो पुरुषका लागि दुवै नारीसँगको नाता अति बढी संवेदनशील हुन्छ ।

सबैलाई थाहा छ, घरमा सासुबुहारीबीच बेमेलको वातावरण सृजना हुँदा एक पुरुष अति नै असहज स्थितिबाट गुज्रिरहेको हुन्छ । कसलाई स्विकार्नु ? अनि कसलाई त्याग्नु ? आपसमा मिल्दै नमिल्नेलाई कसरी मिलाउनु ? पुरुषले भोग्ने यस्तो पिडाका बारेमा कहिंकतै आवाज उठेको छैन । बरु तीनै सासुबुहारीलाई उचालेर बाहिरी तत्वले परिवारभित्र खेल्ने गर्दछन् । जसको पीडा पनि त्यही पुरुषले भोग्नुपर्छ । वैदेशिक रोजगार र पारिवारिक बिचलनः गरिबी, बेरोजगार अनि राजनीति उतारचढावका कारण ३० लाखभन्दा बढी नेपाली युवा रोजगारका लागि अहिले विदेशमै छन् । खुसी परिवार अनि सुन्दर भविष्यको सपना कल्पदै उड्ने धेरै युवाको सपना पुरा हुँदैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देहसँगै उडेको सपनाले अवतरणसमेत गर्न पाउँदैन । जसको कथाव्यथा दर्दनाक छ । अनि त्यसबाट पनि तीनै पुरुष पीडित हुन्छन् । तर आवाज उठाइदिने कोही छैन । परिवारबाट धेरै टाढा । बिरानो मुलुक । ५० डिग्रीको घाममा लगातारको परिश्रम । श्रमको अवमुल्यन । यस्ता पीडाको बावजुद पनि नेपाली युवाहरु विदेश जान बाध्य छन् । कारण ? प्रष्टै छ, सुखी परिवार अनि सुन्दर भविष्य । पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा तीनै पुरुषहरुले पठाएको रेमिट्यान्सबाट मुलुक चलेको छ । तर मुलुकले उनिहरुको समस्या बुझ्दैन । मुलुकले त बुझेन परिवारका सदस्यले समेत उनीहरुको योगदान र समस्या नबुझ्दाको पिडा निकै कहाली लाग्दो छ ।

‘वैदेशिक रोजगारले नेपालीको जिवनस्तर उकासिएको छ,’ समाजशास्त्री भन्छन्, ‘तर पारिवारिक विचलनको अवस्था भने डर लाग्दो छ ।’ एउटा पुरुष विदेश जान्छ । दिनरात नभनी काम गर्छ । कमाएको पैसा श्रीमतीको नाममा पठाउँछ । साहुको ऋण तिर्ने । ठाउँमा घर किन्ने । छोराछोरीलाई राम्रो बिद्यालयमा पठाउने । केहि वर्ष विदेश बसेर बाँकी समय परिवारका साथ हाँसीखुसी रमाउने । यस्तै त हुन्छ नी उड्दै गर्दा उसको मस्तिष्कमा कल्पना गरिएको बाँकी जिन्दगी । तर सबैको जिन्दगी कल्पना गरेजस्तो हुँदैन । उसले बर्षौ रगत पसिना बगाएर कमाएको सम्पत्तीसँगै उसकी प्राणभन्दा प्यारी श्रीमती नै गायब हुन्छे, त्यो पनि स्वदेश फर्केपछि मात्रै उसलाई थाहा हुन्छ । अनि त्यो पुरुषले भोग्ने पीडा के अहिले बजारमा भन्ने गरिएको महिला हिंसाभन्दा कम छ ?

वास्तविकता के पनि हो भने, ‘विवाहको केहिदिनमै श्रीमान् विदेश उडेपछि जवान ती महिलाको शारीरिक आवश्यकता कसले पुरा गर्ने ?’ अध्ययन अनुसार धेरै महिलाहरु शारीरिक आवश्यकता पुरा गर्नका लागि परपुरुषसँग सम्बन्ध राख्न पुग्छन् । तर क्षणीकरुपमा राखिएको सम्बन्धले कालान्तरमा परिवारमै बिचलन ल्याउँछ । यस्ता घटनामा पनि महिलाकै जित हुन्छ । महिला अधिकारकर्मीलाई प्रश्न, ‘अधिकारका चर्काचर्का नारा लगाउँदै गर्दा यस्ता विषयमा महिलालाई संवेदनशित बनाउने जिम्मेवारी कसको हो ?’ जानकारहरु भन्छन्, ‘अधिकारकै नाममा धेरै महिला अधिकारकर्मीको घरपरिवार नै बिग्रेको छ ।’ माथि उल्लेख गरेजस्तै गरी सबैको अवस्था उस्तै भने होइन ।

वैदेशिक रोजगारीकै कारण धेरैको भविष्य उज्जवल पनि भएको छ । जसको श्रीमतीसँगै घरपरिवारका सदस्यले विदेशमा बगाएको खुन र पसिनाको सदुपयोग गरेका छन् । बिधुर (एकल) पुरुष र वास्तविकताः कारणवश श्रीमतीको निधन भयो भने तुरुन्तै पुरुषले अर्को विवाह गर्छन् भन्ने मान्यता छ । तर सबैको हकमा त्यो लागु हुँदैन । संविधानले नै एकल महिलाको लागि विशेष व्यवस्था गरिदिएको छ । उनीहरुलाई सरकारले भत्तासमेत दिने गरेको छ । अधिकारकर्मीहरु पनि एकल महिलाको लागि जोडतोडका साथ आवाज उठाउँछन् । तर एकल पुरुषको अवस्था के छ ? उनीहरुले कस्तो समस्या भोग्नुपरेको छ ? छोराबुहारीले पालेका छन् छैनन् ? यता कसैको ध्यान पुगेको छैन ।

एकल महिलालाई जस्तै समस्या एकल पुरुषलाई पनि होला भन्ने यर्थाथ अधिकारकर्मीहरुले सोच्न आवश्यक छ । उनीहरुको एक्लोपनको संवोधन पनि हुन पर्छ । सबैको ध्यान पुगोस् जीवनको उत्तरार्धमा एक महिला जस्तै एकल पुरुषलाई पनि समस्या पर्छ । अतः महिला अधिकारका विषयमा राज्य संवेदनशील छ । पुरुषको अधिकार खोइ ? सबैको चाहान हो समाजमा पुरुष होस् वा महिला कोही पनि दुःखी हुन नपरोस् । राज्यको नीति नियम पनि त्यसै अनुसार बनोस् । अनि बल्ल पुरा हुन्छ, ‘महिलालाई सम्मान गरौँ, आदर्श पुरुष बनौँ, हिंसामुक्त नारी, प्रत्येक पुरुषको जिम्मेवारी, घरशान्ति नै विश्वशान्तिको आधार, महिलाहिंसा विरुद्ध शून्य, सहिष्णुता कायम गरौँ’ भन्ने विश्वव्यापी नारा ।