Loading... आजः १२ माघ २०७७, सोमबार

आकाश खुलेपछि फेरि चिसो बढ्यो : कर्णाली र सुदूरपश्चिम प्रदेशमा माैसम बद्ली

आकाश खुलेपछि फेरि चिसो बढ्यो : कर्णाली र सुदूरपश्चिम प्रदेशमा माैसम बद्ली

काठमाडौं । आकाश खुलेपछि फेरि चिसो बढ्न थालेको छ । सोमबार र मंगलबार बादल लागेको बेला काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेकोमा हिजोदेखि फेरि तापक्रम घट्न थालेको हो ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस थियो । आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आकाश खुलेकाले न्यूनतम तापक्रम घट्दै र चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् । हिजोदेखि मौसम खुलेकाले न्यूनतम तापक्रम हिजोभन्दा आज घट्न सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आजदेखि अबको १, २ दिन न्यूनतम तापक्रम घट्दै जाने सम्भावना छ । काठमाण्डौ उपत्यकाबाहिर पनि चिसो बढ्ने मौसमविद्को भनाइ छ । अघिल्लो हप्तासम्म माइनसबाट ओरालो लागेको उच्च पहाडी तथा हिमाली क्षेत्रको तामपक्रम अस्ति बादल लागेपछि बढेको थियो । तर आकाश खुलेपछि फेरि तापक्रम घट्न थालेको छ ।

हिजो दिपायलको न्यूनतम तापक्रम ९ दशमलव ९ डिग्री सेल्सियस, डडेल्धुराको ७ दशमलव १ डिग्री सेल्सियस, जुम्लाको शून्य दशमलव ५, पोखराको ८ दशमलव २, ताप्लेजुङको ८ दशमलव ७,  धनकुटाको १० दशमलव ८, जिरीको २ दशमलव ४ डिग्री सेल्सियस र जोमसोमको शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजदेखि यी ठाउँहरुमा पनि निरन्तर तापक्रम घट्दै जाने मौसमविद् कँडेलले बताउनुभयो । यसैबीच आज पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा राम्रोसँग आकाश खुल्ने सम्भावना छैन । यी प्रदेशमा आज राति हल्का हिमपातको सम्भावना छ ।

तराईमा बिहान कुहिरो लागे पनि दिउँसो घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् कँडेलले जानकारी दिनुभयो ।