Loading... आजः १२ माघ २०७७, सोमबार
मौलायो अवैध शिकार

राप्तीपारि वन्यजन्तुको अवैध शिकार, ‘सिडियो र एसपीको किचनसम्म वन्यजन्तुको मासु’

‘दुई तीन दिनको अन्तरमा चार जनासम्मको समूह साँझपख जंगल क्षेत्रमा प्रवेश गर्ने गर्छ । उक्त टोलीमा सशस्त्र र नेपाल प्रहरीका केही व्यक्तिहरु पनि खटाइन्छ । रातभर शिकार गरेर विहानै शिकार गरेका जंगली जनावरहरुको भागवण्डा गरेर शिकारी टोली फर्किन्छ ।’
राप्तीपारि वन्यजन्तुको अवैध शिकार, ‘सिडियो र एसपीको किचनसम्म वन्यजन्तुको मासु’
‘आम नागरिकलाई कडाई गरिएको छ, ठूला तस्करहरु मालामाल भएका छन्,’ उनले भने, सशस्त्र र नेपाल प्रहरीकै संरक्षणमा जंगल क्षेत्रमा अवैध शिकार मौलाएको छ ।’

बाँके । बाँकेको राप्तीपारिका राष्ट्रिय तथा सामुदायीक बनहरुमा जंगली जनावरको अवैध शिकार मौलाएको छ । अवैध शिकारका कारण राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पर्ने बनमा जंगली जनावरहरुको संख्या निरन्तर घट्दो छ । प्रहरी प्रशासनकै मिलेमतोमा बँदेल तथा अन्य जंगली जनावरको चोरी शिकारी गरेर बेच्नेहरु खुलेआम शिकार गरिरहेका हुन्छन् ।

ती क्षेत्रमा शिकार गरी मारिएका बँदेल तथा अन्य जंगली जनावरको मासु इलाका प्रहरी कार्यालय भगवानपुर र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) नरैनापुर र गंगापुरमार्फत जिल्लाका प्रशासकहरुसम्म पुग्ने गरेको स्रोत बताउँछ । खुलेआम बन्दुक बोकेरै शिकारीहरु ती क्षेत्रका सामुदायिक बनमा गएर जंगली जनावरको शिकार गर्दै आएका छन् ।

त्यस क्षेत्रमा शिकारीहरु बँदेलको शिकार गरेर मासु विक्रीमा बर्षौदेखि सक्रिय रहेपनि प्रहरी प्रशासनसम्म मासु पुर्याउने गरेको कारण शिकारीहरुलाई कुनै कारवाही हुन नसकेको नाम नबताउने शर्तमा नरैनापुरका एक स्थानीयले सत्यपाटीलाई बताए । लाइसेन्स बिनाका बन्दुक बोकेर शिकार हुँदासमेत प्रहरी प्रशासनले उल्टै संरक्षण गरिरहेको उनले बताए ।

‘मंसीर महिनामा मात्रै नरैनापुरको चुरे क्षेत्रमा दर्जन बढी बँदेल मारिएको छ । मारिएका बँदेल तथा जंगली जनावरको मासु जिल्लाका सिडियोदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको किचेनसम्मै पुग्ने गरेको छ,’ ती स्थानीयले भने, ‘ठूलाबडाका किचेनमै जंगली जनावरको मासु पुगेपछि शिकारीलाई छुट भइहाल्यो नि ?’

सामुदायिक बनहरुमा वन्यजन्तुको चोरी तस्करी बढे पनि संरक्षणमा कसैलाई वास्ता छैन । राप्तीसोनारी र नरैनापुरका धेरैजसो जंगल क्षेत्रतिर नयाँ नयाँ शिकारीहरु जंगलभित्र क्याम्प बनाएरै बस्ने गरेको पनि ती क्षेत्रका स्थानीयहरुको दावी छ । शिकारीहरुले जंगलमा बँदेल मात्रै हाइन कालिज, बँदेल, मृग, घोरल लगायतको शिकार पनि गर्ने गरेका छन् ।

‘शिकारीहरु शिकार खेल्न बन्दुक, भाला, खुकुरी र राशनसहित लिएर जंगलभित्रै क्याम्प बनाएर बस्छन्,’ सत्यपाटीसँगको कुराकानीका क्रममा नरैनापुरका स्थानीयहरुले भने । प्रहरी प्रशासनकै संरक्षणमा ती क्षेत्रमा खुलेआम चोरी शिकारी भइरहेको स्थानीयहरु बताउँछन् । शिकार खेल्न स्थानीयवासीको समूह एक–दुई हप्तासम्म जंगलमा नै बस्ने गर्छन् ।

जंगलमा गएर भरुवा बन्दुकको प्रयोग तथा अन्य पासोको समेत प्रयोग गरेर जनावर मारिन्छ । कसैले कुकुरहरू प्रयोग गरेर मृगको शिकार गर्ने गरेका छन् । वन्यजन्तुको शिकार गरी जिल्लाका प्रकाशकहरुलाई पुर्याउनेदेखि नेपालगन्जका केही होटल तथा रेष्टुरेण्टहरुमा बँदेलको मासु विक्री गर्ने गरेको पाइएको छ ।

त्यस्तै बँदेल, मृग, घोरलको प्रतिकेजी ८ सयदेखि १२ सय रुपैँयासम्ममा खरीद गरेर प्रतिप्लेट २५० देखि ३०० रुपैयाँसम्ममा ग्राहकलाई खुवाउने गरेको नेपालगन्जका एक जना कटेजका मालिकले बताए । राप्तीपारिका जंगलमा विशेषतः बँदेल, चित्तल, मृग, रतुवा, जरायो लगायतका जंगली जनावरहरुको शिकार हुने गरेको छ ।

जंगली जनावर हिँड्ने गौडामा पासो वा जाल थापेर मार्ने, खाल्डो खनेर खाल्डोमा पार्ने, भरुवा बन्दुकले मार्ने, शिकारी कुकुर प्रयोग गर्ने, लखेटेर मार्ने लगायतका तरिका शिकारीले अपनाइरहेको स्थानीयहरू बताउँछन् । त्यसैगरी, जंगली पंक्षी मयूर, वन कुखुराको शिकार भइरहेको छ । लकडाउनको कारण शिकारको क्रम थप मौलाएको छ ।

लकडाउनको समयमा राप्तीसोनारी र नरैनापुरका सामुदायिक तथा राष्ट्रिय बनमा वन्यजन्तुको चोरी शिकार बढे पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षण रहेकाले शिकारीहरुले निर्धक्कका साथ शिकार गर्ने गरेको स्थानीयहरु बताउँछन् । पुस पहिलो साता तीन वटा बँदेलको शिकार गरिएको नरैनापुर गाउँपालिका–४ का एक जना स्थानीयबासीले बताए ।

उनले भने, ‘शिकारीले मारेका तीन वटामध्ये बँदेलमध्ये एउटा सशस्त्र प्रहरीको गंगापुर बेस क्याम्पमा छाडिएको, एउटा इलाका प्रहरी कार्यालय भगवानपुरमार्फत सिडियो र एसपीलाई पुर्याइएको थियो । एउटा भने शिकारीहरु आफैले लिएर गएका थिए ।’ दुई तीन दिनको फरकमा शिकार भइरहेको पनि उनले बताए ।

उनले भने, ‘दुई तीन दिनको अन्तरमा चार जनासम्मको समूह साँझपख जंगल क्षेत्रमा प्रवेश गर्ने गर्छ । उक्त टोलीमा सशस्त्र र नेपाल प्रहरीका केही व्यक्तिहरु पनि खटाइन्छ । रातभर शिकार गरेर विहानै शिकार गरेका जंगली जनावरहरुको भागवण्डा गरेर शिकारी टोली फर्किन्छ ।’ नरैनापुरको खोदवादेखि सुइँयासम्मको जंगल क्षेत्रमा शिकार हुँदै आएको छ ।

नेपालगन्जबाट जुवेद अन्सारीको नेतृत्वमा शिकारीहरु नरैनापुरको जंगल क्षेत्रमा जाने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । जुवेद अन्सारी नगर भवनमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । उनकै नेतृत्वमा विभिन्न समुहरु नरैनापुरका जंगल क्षेत्रमा पुग्ने गरेका छन् । जुवेद अन्सारी एक महिनामा पाँच पटकसम्म शिकारका लागि ती जंगल क्षेत्रमा पुग्ने गरेको बुझिएको छ ।

‘राष्ट्रिय वनमा बँदेल, मृग, चितल शिकारीहरुले मारेर सुकुटी बनाएर जिल्लाका प्रशासकदेखि पत्रकारहरुसम्म पुर्याउँदै आएका छन्,’ यादव थरका एक जना स्थानीयले भने, ‘सबैतिर मिलाएर बचेको सुकुटी तथा मासु जिल्लाका केही रेष्टुरेण्ट तथा कटेजहरुमा विक्री गर्छन् भने घर परिवारका लागि केही मासु आफ्नो घर लैजान्छन् ।

इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले खोदवादेखि सुइँयासम्मको जंगल क्षेत्रमा शिकार हुने गरेको स्वीकार गरे । उनले भने, ‘खोदवा–सुइँया जंगल क्षेत्र शिकार खेल्ने क्षेत्र हो । यहाँ शिकार खेल्छन् भन्ने सूचना आउँछ । हामी टोली पठाउँछौं, तर शिकारीलाई समात्न सकिएको छैन ।’

उनले सूचना आएपछि बेलाबेलामा टोली पठाउने गरे पनि शिकारीलाई पक्राउ गर्न नसकिएको बताए । उनले प्रहरीको मिलेमतो वा संरक्षण रहेको भन्ने हल्लामात्रै भएको बताए । ‘प्रहरीले गलत कामलाई संरक्षण दिन्छ भन्नु निराधार र आरोप मात्रै हो,’ उनले भने, ‘कसैले प्रहरीको बदनाम गर्ने उद्देश्यले लगाएको आरोप मात्रै हो ।’

सशस्त्र प्रहरीको गंगापुर बिओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्रबहादुर जिसीको फोन उठेन भने नरैनापुर बिओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक नरेश बाटाले जंगल क्षेत्रमा पटक पटक फाइरिङ्ग भएको आवाज आए पनि बन्दुक पड्काउँदा वा पटाका पट्काउँदा एकै प्रकारको आवाज आउने भएकाले छुट्टयाउनै गाह्रो भएको बताए ।

उनले भने, ‘बन्दुक पड्काउँदा र पटाका पड्काउँदा एकै प्रकारको आवाज आउँछ । फाइरिङ्ग भएको आवाज आइरहन्छ, हामी टोलीसमेत पठाउँछौं, टोलीले बिहेमा पटाका पड्काएको फेला पारेको थियो । अझै पनि हामी चोरी शिकारी नियन्त्रणका लागि गस्ती गरिरहेका छौं । हाम्रो संरक्षणमा चोरी शिकारी भएको भन्ने कुरा गलत हो ।’

बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले आफूसँग दुई महिना पहिले नै यस विषयमा जानकारी आए पनि नियन्त्रण गर्न नसकिएको बताए । उनले भने, ‘दुई महिना पहिले नै मलाई राष्ट्रिय अनुसन्धानले चोरी शिकार भइरहेको जानकारी दिएको थियो । तर सशस्त्र र नेपाल प्रहरीको आपसी द्वन्द्वका कारण नियन्त्रण चुनौतिपूर्ण भएको छ ।’

उनले आफूले दुई महिनादेखि नियन्त्रण गर्न खोजे पनि सुरक्षा निकायको साथ नपाएको बताए । नरैनापुर निवासी पत्रकार विनय दिक्षितले वन्यजन्तुको चोरी शिकार नियमितजस्तै भएको बताए । ‘आम नागरिकलाई कडाई गरिएको छ, ठूला तस्करहरु मालामाल भएका छन्,’ उनले भने, सशस्त्र र नेपाल प्रहरीकै संरक्षणमा जंगल क्षेत्रमा अवैध शिकार मौलाएको छ ।’

पत्रकार दिक्षितका अनुसार यस क्षेत्रमा प्रहरी प्रशासनकै संरक्षणमा वन्यजन्तु तस्करीमात्रै नभएर नुनदेखि सुनसम्म तस्करी हुने गरेको छ । ‘प्रहरी तस्करका भरियालाई तर्साएर खास तस्करसँग सेटिङ्ग मिलाउने गर्दै आएको छ । सशस्त्रको नरैनापुर बिओपीको टोलीले मासिक बुझाउनेलाई छुट र नबुझाएमा सामान नियन्त्रणमा लिएर भन्सार बुझाउँछ,’ पत्रकार दिक्षितले भने ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुभाष खड्कासँगको अफिसियल नम्बरमा सम्पर्क गर्न खोज्दा नउठेपछि यस विषयमा कुराकानी हुन सकेन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित पंक्षी तथा वन्यजन्तुको शिकार गर्नेलाई पाँचदेखि १५ वर्षसम्म कैद र नगद ५० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।