Loading... आजः ६ माघ २०७७, मंगलवार
क्यान्सर उपचारमा सहज

सुशील कोइराला क्यान्सर अस्पताल, ‘प्रभावकारी सेवासँगै थपिँदै पूर्वाधार’

सुशील कोइराला क्यान्सर अस्पताल, ‘प्रभावकारी सेवासँगै थपिँदै पूर्वाधार’

बाँके । गत सातादेखि सर्जरी सेवा सुरु गरेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरुका लागि आवास गृह निर्माण सुरु भएको छ । सर्जरी सेवाको सुरुवातसँगै छिट्टै पूर्ण क्षमतामा सञ्चालनको तयारीमा रहेको अस्पतालमा कार्यरत डाक्टरहरुका लागि आवास गृह निर्माण गर्न लागिएको हो ।

अस्पतालका संस्थापक अध्यक्षसमेत रहेका खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बुधबार शिलान्यास गरेको आवास गृह पाँच परिवारका लागि साढे दुई तलाको हुनेछ । उपभोक्त समितिमार्फत निर्माण हुन लागेको आवास गृह ६ महिनाभित्र सक्ने गरी फास्ट ट्रयाकमार्फत काम भइरहेको संस्थापक अध्यक्ष कक्षपतिले जानकारी दिए ।

जनस्तरबाट सामूहिक पहलस्वरुप बनेको क्यान्सर अस्पताललाई पूर्वाधारसँगै स्तरीय सेवाबाट पनि प्रभावकारी बनाउन लागिएको अध्यक्ष कक्षपतिले बताए । ‘अस्पताल दिने सेवा वृद्धि र प्रभावकारितासँगै पूर्वाधार निर्माण कार्यलाई पनि सँगसँगै अगाडि बढाउन लागिपरेका छौं,’ अध्यक्ष कक्षपतिले भने, ‘प्रयाप्त पूर्वाधार भएमा सेवा पनि विस्तार गर्दै जानेछौं ।’

जनसहभागितामा सुरु भई सरकारलाई हस्तान्तरण गरेको यो नेपालकै पहिलो क्यान्सर अस्पताल हो । अध्यक्ष कक्षपति भन्छन्, ‘जनताको प्रत्यक्ष सहभागितामा निर्माण भएको अस्पतालको विकासका लागि अझै धेरै कामहरु गर्न बाँकी छन् । हामी ती कामहरु पुरा गरेर सुविधा सम्पन्न अस्पतालका रूपमा नागरिकलाई सर्वसुभल सेवा दिनका लागि अग्रसर भइरहेका छौं ।’

अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा भक्तबहादुर केसीको र निर्देशकमा डा.कृष्णप्रसाद आचार्य नियुक्त भएर आएसँगै क्यान्सर अस्पतालले दिने सेवा तथा पूर्वाधार विकासले गति लिन थालेको खजुराबासी बताउँछन् । अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि पश्चिम नेपालका कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका क्यान्सर रोगीले थप सहुलियत सेवा पाउने छन् ।

कोरोना महामारीले बिरामीको उपचारमा खासै प्रभाव नपरेको अस्पतालले मेडिकल अफिसरदेखि स्वास्थ्यकर्मीसम्मका दक्ष जनशक्ति भर्ना गर्ने कार्य पनि अगाडि बढाइसकेको छ । यसै साताबाट सर्जरी सेवा पनि सुरु गरेको क्यान्सर अस्पतालले छिट्टै पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने गरी काम भइरहेको संस्थापक अध्यक्ष कक्षपतिले बताए ।

अस्पतालले गत शुक्रबारदेखि सर्जरी सेवा शुभारम्भ गरेर शरीरमा गाठागुठी भएका र मासु पलाएका बिरामीको निःशुल्क सर्जरी गरिरहेको छ । निःशुल्क सर्जरीका लागि बिरामीले आफ्नो नाम दर्ता गराउनुपर्ने अस्पतालका कार्यकारी निर्देशक डा.आचार्यले बताए । क्यान्सर अस्पतालमा बिरामीको नियमित उपचारसमेत भइरहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका नयाँ क्यान्सरका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेको निर्देशक आचार्यले जानकारी दिए । सङ्घीय सरकारको मातहतमा रहेको सो क्यान्सर अस्पतालका लागि बाँकेको खजुरा गाउँपालिका लगायत अन्य स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासनले पनि सहयोग गरिरहेको जनाइएको छ ।

२०७५ असार नौ गते तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उदघाटन गरेपछि औपचारिकरुपमा सञ्चालनमा आएको सो क्यान्सर अस्पतालले अहिलेसम्म सात हजार बढी बिरामीलाई उपचार सेवा पु¥याइसकेको छ । अस्पतालले हालका लागि वहिरङ्ग सेवाअन्तर्गत बिरामी जाँच, किमोथेरापी, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवामात्र दिन सकेको छ ।

सरकारबाट १०० श्य्याको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा प्रारम्भ गरेको थियो । यो अस्पतालको सेवा प्रारम्भ भएपछि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकलाई शुरुवाती चरणको उपचार सेवा लिन भरतपुर, काठमाडौँ जानुपर्ने बाध्यता पनि टरेको छ ।

बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अगुवाईमा करिब १७ वर्षअघि (२०६५ सालमा) खजुरावासीको यज्ञकिर्तन, मुठीदानबाट अस्पताल निर्माणका लागि सङ्कलन गरिएको रकमबाट शुरुमा खजुरा प्रखर परोपकार क्यान्सर अस्पताल नामाकरण गरी भवन निर्माण गरिएको थियो ।

तर, स्वास्थ्यमन्त्री गगन थापा रहेको तत्कालिन सरकारले अस्पतालको स्वामित्व ग्रहण गरी नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ नामाकरण गरेको थियो । बाँकेको खजुरामा क्यान्सर अस्पतालले आफ्नो सेवा शुरु गरेपछि पश्चिम नेपालका क्यान्सरका बिरामीहरुलाई निकै सहज भएको छ ।

अस्पतालमा पश्चिम नेपालका जिल्लाका बिरामीहरुको चाप बढेको छ । ठूला अस्पतालसरहको प्रविधि र जनशक्तिसहित अस्पताल सञ्चालन भएपछि बिरामीहरुलाई सहज भएको छ । बैजनाथ गाउँपालिका–४, की रोइनीदेवी वली भन्छिन्, ‘क्यान्सरको शङ्का लागेपछि म भरतपुर अस्पतालमा पुगेर अप्रेशन गरेँ, यहाँ अस्पताल सञ्चालनमा आएपछि बाँकी उपचार यतै गरिरहेकी छु ।’

श्रीमतीको स्तनमा समस्या देखिएपछि क्यान्सर हुनसक्ने आशङ्कामा अस्पताल पुगेका कोहलपुर नगरपालिका–२ का धर्मराज श्रेष्ठले नजिकै अस्पताल हुँदा उपचारमा सहज भएको बताए । उनले भने, ‘चितवन, काठमाडौँ जाँदा धेरै खर्च हुन्थ्यो, यहाँ अस्पताल सञ्चालन हुँदा निकै सहज भएको छ । खर्च जोगिएको छ । घरबाटै अस्पतालसम्म आउन जान सहज भएको छ ।’

अत्याधुनिक प्रविधिसहित सञ्चालनमा आएको क्यान्सर अस्पतालमा साबिकका मध्य तथा सुदूरपश्चिमका २२ जिल्लाका बिरामीहरु आउने गर्छन् । अस्पतालबाट हालसम्म एक हजारभन्दा बढीले सेवा लिइसकेको अस्पतालले जनाएको छ । अहिले पनि दैनिक ३० देखि ४० जनासम्म बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

44491 -->