Loading... आजः ६ माघ २०७७, मंगलवार
कोरोना कहर

कोरोना संक्रमणबाट बाँकेमा ८८ को मृत्यु, ४२ जनाको अवस्था चिन्ताजनक

५४ महिला र ७३ पुरुष गरी १२७ जना कोरोना संक्रमित होम आइसोलेसनमा
कोरोना संक्रमणबाट बाँकेमा ८८ को मृत्यु, ४२ जनाको अवस्था चिन्ताजनक
फाइल तस्वीर

बाँके । बाँकेमा हालसम्म कोरोना संक्रमणबाट ८८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाहिरी जिल्लाका संक्रमित धेरै रहेको जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका १० महिला र ४० पुरुष गरी ५० जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ । जसमा सबैभन्दा धेरै दाङ्गका २२ जना, बर्दियाका ९ जना र कैलाली र कञ्चनपुरका चार-चार जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बाँकेका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररतमध्ये मृत्यु हुनेमा सुर्खेतका तीन जना, दैलेख र अछामका दुई-दुई जना तथा रुकुम पश्चिम, रोल्पा, प्युठान र अर्घाखाँचीका एक-एक जनाको मृत्यु भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार कोरोना संक्रमणबाट बाँकेका मात्रै ३८ जनाको मृत्यु भएको छ । जसअनुसार नेपालगन्ज उपमहानगरपालिकाका नौ महिला र १५ पुरुष गरी २४ जनाको मृत्यु भएको छ ।

त्यस्तै कोहलपुर नगरपालिकाका आठ, खजुराका दुई, जानकी, बैजनाथ, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक–एक जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिकामा कोरोना संक्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु नभएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

बाँकेका दुई ठूला अस्पताल भेरी र मेडिकल कलेजमा बाँकेका साथै छिमेकी जिल्लाबाट कोरोना संक्रमित उपचारका लागि आउने गरेका छन् । श्वासप्रश्वासमा समस्या देखिएका कोरोना संक्रमितलाई मात्र आइसोलेसनमा राख्ने गरिए पनि उपचारकै क्रममा मृत्यु हुने गरेको छ ।

आइसोलेसनमा रहेका ४२ जनाको अवस्था चिन्ताजनक

बाँकेका दुईवटा अस्पतालको कोरोना आइसोलेसनमा ८७ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । तीमध्ये ५१ जना बाहिरी जिल्लाका कोरोना संक्रमित रहेका छन् । उपचाररत संक्रमितमध्ये ३९ जना कोरोना संक्रमितको अवस्था चिन्ताजनक रहेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार नेपालगन्जस्थित भेरी अस्पतालको आइसोलेसनमा रहेका १७ महिला र ३६ पुरुष गरी ५३ जनामध्ये २६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने २७ जनाको अवस्था मध्यम रहेको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर आइसोलेसनमा रहेका ७ महिला र २७ पुरुष गरी ३४ जना संक्रमितमध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ भने १५ जना मध्यम र ६ जनाको अवस्था सामान्य रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

होम आइसोलेसनमा १२७ जना

बाँकेमा ५४ महिला र ७३ पुरुष गरी १२७ जना कोरोना संक्रमित होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । जसमा सबैभन्दा धेरै नेपालगन्ज र कोहलपुरका कोरोना संक्रमित होम आइसोलेसनमा रहेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगन्जका १८ महिला र ३५ पुरुष गरी ५३ जना, कोहलपुरका १९ महिला र २५ पुरुष गरी ४४, राप्तीसोनारीका ६ महिला र ६ पुरुष गरी १२ जना, खजुराका ६ महिला र ३ पुरुष गरी ९ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै बैजनाथका ३ महिला र २ पुरुष गरी ५ जना, जानकीका २ महिला र ३ पुरुष गरी ४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन भने नरैनापुर र डुडुवामा संक्रमितको संख्या शुन्य देखिएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।