Loading... आजः ५ माघ २०७७, सोमबार
विचार

सरकार ! दिनदिनै सपनाको सूची थपेर देशमा शान्ति, सुरक्षा र समृद्धि आउँछ र ?

सरकार ! दिनदिनै सपनाको सूची थपेर देशमा शान्ति, सुरक्षा र समृद्धि आउँछ र ?

प्रिय बहिनी गुलाब
पुनः एकपटक भावपूर्ण श्रद्धाञ्जली ।

बलात्कारपछि तिम्रो शव हत्या गरेर बोरामा पोका पारेर फालेको अवस्थामा सोमबार राति भेटिएको थियो । तिम्रा बा आमा आँशुमा डुबेका छन् । तिम्रो न्यायको निम्ति तिम्रा परिवार अहोरात्र भौंतारिएका छन् । तिम्रा बा आमा रूँदारूँदा सुकेर सिठ्ठो भइसक्नुभयो । हामी सबै तिम्रो शोकमा कान्तिहीन भएका छौं । तस्वीरहरूमा जब म तिम्रो ६ बर्षे कल्कलाउँदो शरीर देख्छु, निर्दोष अनुहारमा निश्चल मन्द मुस्कान हेर्छुस् तब म पागल हुन्छु । बलात्कारी हत्याराले तिम्रो स्वणिर्म सपना सधैँका लागि समाप्त गरिदियो ।

समाजमा एउटा भयानक सन्त्रास पनि रोपिदियो । साँच्चै गुलाब ! यो समाजमा खरपाखोको डढेलोझैँ फैलिरहेको बलात्कार, हत्या, महिला हिंसा देखेर हामी बाँचेका सबै नारीहरू सन्त्रस्त छौं । खासगरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिनजसो आइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तर्राष्ट्रिय नै बन्न पुग्यो । सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन ।

यस्ता दुःखद् घटनाले नेपाल र नेपालीको शीर अन्तर्राष्ट्रियरूपमै झुक्न पुगेको छ । विश्वसामु हामी नेपालीको बेइज्जत भएको छ । जताततै यस्ता महिला हिंसाका घटना भइरहेका छन् । हिंसा घट्नुको साटो बढिरहेको छ । असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका छौं । साँच्चै सम्झँदामात्र पनि मूर्छा परिएलाजस्तो हुन्छ । कहिँकतै चित्त बुझाउने ठाउँ छैन । नारी हुनुको नाताले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश र उद्योग वाणिज्य महासंघको सभापति महिला भएकोमा कति धेरै गर्व गरेकी थिएँ । अहिले पनि गर्व नै गरिरहेकी छु ।

तर, सम्माननीय राष्ट्रपतिज्यू ! बलात्कार, हत्या, एसीड आक्रमण र महिलाहिंसाको त कुरै नगरौं । यी ‘महान काम’ कहिले भएको थियो महामहिमज्यू ? रिसानी माफ होस् । यस्तो बेलामा हजुर पनि नारी हुनाको नाताले हामी नारीहरूको सुरक्षालाई कसरी सुनिश्चित गर्न सकिन्छ, त्यतातिर पो गम्भीर भएर सोच्नुपर्ने होइन र ? छाउगोठमा सुतिरहेका युवती सर्पले डसेर मृत्यु हुने क्रम अझै पनि रोकिएको छैन । तेजाब आक्रमणको आतंक पनि घटेको छैन । जताततै महिला हिंसाका घटना भइरहेका छन् ।

हिंसा घट्नुको साटो बढिरहेको छ । असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका हुन्छौं । आजकल बैदेशिक रोजगारीमा गएका महिलाहरू अपमानित भएको, लुटिएको, बलात्कृत भएको, मारिएको खबरहरू सामाजिक सन्जाल र विभिन्न सञ्चारमाध्यममा दिनहुँजसो आइरहन्छ । सम्झँदामात्र पनि मूर्छा परिएलाजस्तो हुन्छ । साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन । अहिले पनि मुटु काँपी रहेको छ ।

तर, बिडम्बना ! देशका राष्ट्रपति, प्रधानमन्त्रीले चाहिँ महारानी र महाराज, साँच्चै आफूलाई राजा, रानी नै ठानेका हुन् कि ? मानौं देशमा केही भएको छैन । निर्मलाहरूले न्याय पाइसके ? सब ठीकठाक भइसक्यो ? हाय ! कति क्रुर हुँदोरहेछ मन ? आफ्नै सन्तानको हत्यामा पनि नदुख्ने रहेछ मुटु । नरसाउने रहेछन् आँखा । शासक हुनु भनेको मानवता गुमाउनु हो र ? कि अझ बढी मानवतावादी हुनु हो ? गुलाब, नेपालकी नाइटिंगेल हुन सक्थिन् । मदर टेरेसा बन्न सक्थिन् । विश्वविख्यात भिञ्ची हुन सक्थिन्, पिकासो बन्न सक्थिन् ।

सरकार ! गुलाब अर्थात् नानीहरू देशका भविश्य हुन् । भविश्यको सुन्दर संसार श्रृष्टि गर्ने सर्जक हुन् । उनीहरूको सुरक्षा गर सरकार । उनीहरू बलात्कृत हुनबाट बचाऊ । उनीहरू अपहरण हुनबाट बचाउ । उनीहरू मारिनबाट रोक । उनीहरूमाथि एसिड आक्रमण हुन नदेऊ । सरकार ! नारी हिंसा हद भयो । नारी हिंसा रोक । प्रधानमन्त्रीज्यू ! यो न्याय र अन्यायको लडाईं हो । निर्मला एउटी पात्र हुन् । समाजमा अन्यायमा पिल्सिरहेका हजारौं लाखौं निर्मलाहरू छन् । उनीहरूले राज्यबाट न्याय पाउनैपर्छ ।

तपाईंले दिनदिनै सपनाको सूची थपेर देश समृद्ध हुँदैन । देशमा शान्ति सुरक्षा आउँदैन । कृपया, अहिले रेल र पानीजहाजको कुरा छाडिदिनुस् । घरघरमा ग्यास पाइपको कुरा पनि बन्द गर्नुस् । सबभन्दा पहिला कम्तिमा ढुक्कसँग बाँच्न त दिनुस् । त्यसपछि बाँकी कुरा गर्दै गरौंला । हरेक दिन एकपछि अर्का यस्ता खालका घटना आइरहदा देशकै बेइज्जत भएको छ । अब राज्य गम्भीर बन्ने बेला भएको छ, बलात्कारबिरुद्ध सम्बन्धित सबै निकाए कठोर बनेर कडा कदम चाल्नु आवश्यक छ ।

धर्म, संस्कृति र परम्पराको नाममा इतिहासदेखि वर्तमानसम्म हजारौं होइन, लाखौं नेपाली चेलीहरूले ज्यान गुमाइसकेका छन् । अनि राज्य र शासकहरू यहि समाजको पक्षमा वकालत गरिरहेका छन् । दुधे बालिकादेखि वृद्धासम्म नछाड्ने यौन पिपासुहरूलाई फाँसी दिने कानुन बनाएर नारीहरूको रक्षा गर्न किन हिचकिचाउँछ सरकार ? हाम्रो देशको कानुन कार्यान्वयन गर्ने र नियमन गर्ने निकाय यति कमजोर छ कि अपराधीहरू सजिलै छुट्न सक्छन् । यस्ता घटनाहरू बारम्बार दोहोरिँदै आएका छन् ।

यो त हदैसम्मको अत्याचार भयो । म सरकारसँग जोडदार माँग गर्दछु । जनताको धैर्यताको बाँध फुट्नु अगावै शीघ्र अपराधीलाई कानुन अनुसार हदैसम्मको कार्बाही होस् । म यसै लेखमार्फत सरकारलाई खबरदारी गर्न चाहन्छु । अन्तमा, नागरिकहरू सधैँ निम्छरो बनिरहँदैनन् अब । न्याय पाउनु पर्छ । राज्यले नागरिकलाई न्याय दिनैपर्छ । हाम्रो सुरक्षा र न्यायको निम्ति हामी घर बाहिर निस्किसकेका छौं । हामी मैदानमा छौं । (लेखकको फेसबुकबाट साभार)