Loading... आजः ६ माघ २०७७, मंगलवार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाईते

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाईते

काठमाडौं । मोरङको बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा सोमबार साँझ भएको फरक फरक सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर छ।

बेलबारी नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा मोटरसाइकल साँझ साढे पाँच बजेतिर ठोक्किएर दुर्घटना हुँदा बेलबारी ७ का ३७ वर्षीय नवीन पौडेलको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १ –०२–०४२ प ४२१६ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको को ३९ प ३८०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार मृतक पौडेल को ३९ प ३८०१ नम्बरको मोटरसाइकलका चालक हुुन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा साँझ करिब सवा सात बजे विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको जानकारी ढकालले दिए।

त्यस्तै पथरीशनिश्चरे नगरपालिका २ जय चोकस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ८ प ६३७७ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको को १ ख ६८३१ नम्बरको बसले साँझ ६ः४० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको मेचीनगर नगरपालिका ९ का ३२ वर्षीय मुकेशप्रसाद पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए।

त्यस्तै उर्लाबारी नगरपालिका८ स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका ५ का ३५ वर्षीय भोजकुमार खड्का र पछाडि सवार ३४ वर्षीय प्रकाश माझी घाइते भएका छन्।

घाइतेमध्ये खड्काको अवस्था गम्भीर छ। दुवै घाइतेको गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ।  दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको अटो टेम्पोले दक्षिणतर्फ जाँदै गरेको को १२ प १२५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोमबार राति दुर्घटना भएको हो।

44311 -->