Loading... आजः १४ मंसिर २०७७, आइतवार
Trending:

तीन दिनभित्र आत्मसमर्पण गर्न विद्रोहीलाई इथियोपिया सरकारको अल्टिमेटम

तीन दिनभित्र आत्मसमर्पण गर्न विद्रोहीलाई इथियोपिया सरकारको अल्टिमेटम

काठमाडौं । इथियोपियाले उत्तरी तिग्रे क्षेत्रमा रहेका तिग्रे पीपुल्स लिबरेसन फ्रन्ट (टिपीएलएफ) का विद्रोहीहरुलाई तीन दिनभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ ।

प्रधानमन्त्री अबी अहमदले उत्तरी तिग्रेमा विद्रोहीको नियन्त्रणमा रहेका मेकेलेन शहरमा कारवाही गर्नुअघि नै आत्मसमर्पण गर्न अल्टिमेटम दिनुभएको हो ।

विद्रोहीले गैरकानुनी ढंगबाट उक्त क्षेत्रमा गतिविधि सञ्चालन गरेको भन्दै प्रधानमन्त्री अहमदले सेनाले कारवाही थाल्नुअघि नै आत्मसमर्पण गर्न चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्रीको चेतावनीविरुद्ध टिपीएलएफले कुनै प्रतिक्रिया दिएको छैन । प्रधानमन्त्रीको घोषणालगत्तै सरकारी सेनाले विद्रोहीविरुद्धको कारवाहीका लागि तयार रहेको बताएको छ ।

तीन सातादेखि जारी झडप अन्त्यका लागि विद्रोहीमाथि आक्रमणको विकल्प नरहेको सरकारी सेनाको ठहर छ । सैन्य अधिकारीहले उक्त क्षेत्रका सर्वसाधारणलाई केही समय सुरक्षित स्थानमा रहन आग्रहसमेत गरेका छन् ।

विद्रोहीको कब्जामा रहेको राजधानीबाट ६० किलोमिटरको दूरीमा रहेको इदागा हमस शहरमा आक्रमण गरी फिर्ता ल्याएको सरकारी सेनाले जनाएको छ । लामो समयदेखिको युद्धका कारण हजारौं सर्वसाधारणको मृत्यु हुनुका साथै घाइते भएका छन् ।

त्यसैगरी युद्धकै कारण सोही संख्यामा सर्वसाधारणहरु विस्थापित भएर छिमेकी देशका शहरहरुमा शरणार्थी भएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।(एजेन्सी)