Loading... आजः १४ मंसिर २०७७, आइतवार
Trending:

ट्रम्पलाई ओबामाको चेतावनी, ‘ह्वाइट हाउसबाट सेना लगाएर निकालिन्छ’

ट्रम्पलाई ओबामाको चेतावनी, ‘ह्वाइट हाउसबाट सेना लगाएर निकालिन्छ’

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय)बाट निकालिने चेतावनी दिएका छन । आफ्नो संस्मरण ‘अ प्रमिस्ड ल्यान्ड’का विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओबामाले पत्रकारले गरेको प्रश्नमा त्यस्तो जवाफ दिएका हुन् ।

अन्तर्वार्ताकार जिमी किममेलले ट्रम्पलाई इंगित गर्दै ओबामासँग प्रश्न गरेका थिए, ‘तपाईंले त ह्वाइट हाउसमा ८ वर्ष बिताउनुभएको छ, त्यहाँ त्यस्ता कुनै ठाउँ छन्, जहाँ कोही लुकेर बस्न सकोस् ? सिबिएस न्युजका अनुसार यो व्यंग्यात्मक प्रश्नमा हाँस्दै ओबामाले जवाफ दिए, ‘त्यसरी ह्वाइट हाउसमा लुक्ने व्यक्तिलाई हामी नेभी सिल (अमेरिकाको विशेष सैन्य टोली) परिचालन गरेर निकाल्छौं ।’

यही नोभम्बर ३ तारिख अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन डेमोक्रेटिक पार्टीका जो बाइडेनले जितिसकेका छन् । ओबामा पनि डेमोक्रेट पार्टीकै नेता हुन् तर, वर्तमान राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेर जितेको भन्दै आफ्नो हार अझै स्वीकार गरेका छैनन् । बरु धाँधलीविरुद्ध अदालतमा मुद्दा हालेका छन् । जर्जियामा पुनः मत गणना गर्दा पनि बाइडेन नै विजयी भएका छन् ।

बाइडेनले राष्ट्रपतिको चुनाव जित्न आवश्यक २ सय ७० भन्दा बढी इलोक्टोरल भोट ल्याइसकेका छन् । अब बाइडेन आगामी जनवरी २० मा औपचारिक रूपमा अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा ह्वाउट हाउस प्रवेश गर्नुपर्ने हुन्छ । तर ट्रम्पले सजिलै सत्ता नछाड्ने अडान लिइरहेकाले परिस्थिति कस्तो बन्छ भन्ने अन्योल देखिएको छ । यसै सन्दर्भमा ओबामाले माथि उल्लिखित चेतावनी दिएका हुन् ।