Loading... आजः २० मंसिर २०७७, शनिबार
Trending:
माइक्रोप्लास्टिक प्रदूषण

‘सगरमाथा बाँकी थियो, त्यो पनि जोगिएन’

‘सगरमाथा बाँकी थियो, त्यो पनि जोगिएन’

काठमाडौं । विश्वको सर्वोच्च हिमाल सगरमाथाको शिखर नजिकै माइक्रोप्लास्टिक प्रदूषण भेटिएको छ । यसअघि सन् २०१८ मा पृथ्वीको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्चमा पनि प्लाष्टिकको फोहर भेटिएको थियो । सगरमाथामा समेत प्रदूषण भेटिएसँगै मानिसले अब पृथ्वीमा प्रदूषित गर्न कुनै पनि ठाउँ बाँकी रहेन ।

सगरमाथाको शिखरको १०० मिटरको दायरामा प्लाष्टिक फाइबरहरु भेटिएका हुन् । सगरमाथाको यो स्थानलाई बाल्कोनी भनेर चिनिन्छ । द गार्डियनको रिपोर्टअनुसार सगरमाथाको ५ हजार ३ सय मिटरको उचाइदेखि ८ हजार ४ सय ४० मिटरको उचाइसम्म ११ स्थानबाट हिउँको नमूना लिइएकोमा सबै नमूनामा प्लाष्टिक पाइएको छ ।

माइक्रोप्लाष्टिकको सबैभन्दा ठूलो मात्रा बेस क्याम्पमा पाइएको छ । यहाँ पर्वतारोही र ट्रेकरहरुले सबैभन्दा धेरै समय बिताउँछन् । यी प्लाष्टिक फाइबरहरु पर्वतारोहीले प्रयोग गर्ने कपडा, पाल र डोरीबाट आएको अनुमान गरिएको वैज्ञानिकले बताएका छन् । ‘मैले विश्लेषण गरेका हरेक हिउँको नमूनामा प्लाष्टिक पाइँदा म आफैं अचम्ममा परेको छु,’ युनिभर्सिटी अफ प्लेमाउथका वैत्रानिक इमोजेन नेप्परले भनिन् ।

उनले अगाडी थप्दै भनिन्, ‘सगरमाथालाई मैले सधैं अत्यन्थै दुर्गम र पुरानो स्थान ठान्थें । हामीले विश्वको सर्वोच्च शिखरको नजिकै प्रदूषण गरिरहेका छौं भन्ने खुलासा हामीलाई सचेत बनाउने कुरा हो । हाम्रो वातावरणमा प्रशस्तै माइक्रोप्लाष्टिक भेटिन थालेकोले अब सही वातावरणीय समाधानको खोजी गर्ने बेला भएको छ ।’ नेप्पर यो अनुसन्धानकी नेतृत्वकर्ता हुन् ।