Loading... आजः २० मंसिर २०७७, शनिबार
Trending:
बेतिथिले बिनास

एसियाकै पहिलो हाते कागज उद्योग धरासायी, करोडको लगानी बालुवामा पानी

एसियाकै पहिलो हाते कागज उद्योग धरासायी, करोडको लगानी बालुवामा पानी

बझाङ । दिगो वन व्यवस्थापन सम्बन्धी प्रमाण दिने अन्तर्राष्ट्रिय संस्था फरेस्ट स्टेवार्ड सीप काउन्सील (एफएससी)बाट प्रमाणित एसियाकै पहिलो सामुदायिक उद्योग धरासायी भएको छ । बझाङको जयपृथ्वी नगरपालिकामा रहेको मालिका हाते कागज उद्योग व्यवस्थापनको लापरवाहीका कारण दुई वर्षदेखि बन्द अवस्थामा रहेको छ ।

उद्योग बन्द भएपछि यहाँ रहेका संरचना र उपकरणहरु पनि अलपत्र परेका छन् । उद्योगको भवनको वरिपरी झार पलाएको छ । गाउँबाट करिब ३ किलोमिटर टाढा हमरसैन भन्ने ठाउँमा रहेको उद्योग भवनमा प्रयोग भएका काठहरु पनि स्थानीयले चोरेर लगेका कारण भवन समेत भत्किने अवस्थामा पुगेको छ ।

हाते कागज बनाउँदा पानी जम्मा गर्ने पोखरीहरु भत्किएका छन् । कागज बनाउने काठका फ्रेमहरु स्थानीयले दाउरा बनाएर प्रयोग गरेका छन् । लाखौं मुल्य पर्ने विटर (कागज बनाउन प्रयोग गरिने लोक्ता फिट्ने) मेसिनहरु खिया लागेका छन् भने मेसिनका महत्वपूर्ण उपकरणहरु चोरी भएको स्थानीयले बताएका छन् ।

यस्तै उद्योग भवनमा रहेका खानेपानीका पाइप, लोक्ता पकाउने ड्रम, कागज बनाउँदा प्रयोग गरिने काष्टिक सोडा, नुरी लगायतका रसायनहरुसमेत चोरी भएका छन् । कुनै बेला स्थानीयको रोजगारीको केन्द्रको रुपमा रहेको हाते कागज उद्योगको जमीनमा लगाएको घेराबारहरु भत्किएर अहिले गौचरनमा परिणत भएको छ ।

उद्योग भवन ग्वाला, गोठालाहरुको शौच गर्ने शौचालयका रुपमा परिणत भएको छ । उद्योग बन्द हुँदा झण्डै एक करोड बराबरको स्थानीय समुदाय र विभिन्न दातृ संस्थाहरुको लगानी पनि खेर गएको छ । २०५६ सालमा साविक कैलास गाविसका स्थानीय र अन्र्तराष्ट्रिय गैर सरकारी संस्था एन्सावको पहलमा यो उद्योगको स्थापना भएको थियो ।

कैलासमा रहेको विनायक पिमिडाँडा सामुदायीक वनमा आवद्ध २५० परिवारको शेयर रहेको उद्योगलाई एन्सावले त्यतिबेला पाँच लाख रुपैयाँ बराबरको उपकरण र प्रविधीमा अनुदान सहयोग गरेको थियो । त्यसयता यस उद्योगको सञ्चालन, प्राविधिक क्षमता विकास, बजार व्यवस्थापन, पूर्वाधार निर्माण र नविनतम प्रविधिका उपकरण खरिद गर्नका लागि विभिन्न संघ संस्थाले एक करोड बराबरको सहयोग गरिसकेका छन् ।

उद्योग खुलेपछि जिल्लाको दुर्गम तथा आर्थिक हिसाबले समेत पिछडिएको पिमिगाउँका स्थानीयलाई उद्योगले ठुलो आर्थिक टेवा दिएको थियो । दिगो व्यवस्थापनसहित वन पैदावार प्रयोग गरी सञ्चालन गरिएको एसियाकै पहिलो सामुदायीक उद्योगको रुपमा एफएससीले २०६४ मा प्रमाणिकरण गरेपछि यसको चर्चा संसारभर चुलिएको थियो ।

सफल सामुदायिक उद्योगको रुपमा चर्चा पाएको यो उद्योग हेर्न र सिक्नका लागि जिल्लाभित्र मात्रै नभएर हुम्ला, मुगु, जुम्ला, डोल्पा, दोलखा जिल्लाका उद्योगीहरु यहाँ पुगेका थिए । उद्योगको प्रचार गर्न नेपाल, अमेरिका लगायतका देशबाट व्यापारी तथा पत्रकारहरुले पनि पटक पटक उद्योगको भ्रमण गरेका थिए ।

प्रत्यक्ष र अप्रत्यक्ष गरी ३०० भन्दा बढीलाई रोजगारी दिइरहेको उद्योग बन्द भएपछि लगानीसँगै रोजगारी पनि खोसिएको स्थानीयले बताए । करोड बढी लगानी भएको उद्योग सञ्चालनमा व्यवस्थापनको लापरवाहीले उद्योग धरासायी भएको उद्योगको स्थापना कालमा कर्मचारीको रुपमा काम गरेका स्थानिय गोविन्द कामीले बताए ।

‘यस उद्योगले स्थानीयलाई रोजगारी मात्रै दिएको थिएन, देशकै अर्थतन्त्रमा टेवा उर्याउँदै जिल्ला र देशकै इज्जतसमेत बढाएको थियो,’ उनले भने । उनले उद्योगमा आएको अनुदानमा आँखा गाड्ने, उत्पादनको हिसाबकिताव स्पष्ट नगर्ने र समुदायभन्दा पनि सिमित व्यक्तिले मनोमानी फाइदा लिने प्रवृतिका कारण उद्योग धरासायी भएको बताए ।

उद्योग सञ्चालन भएदेखि हालसम्म एन्सावले विभिन्न शिर्षकमा ५० लाख, जडिबुटी व्यवस्थापनमा काम गर्ने अमेरिकी कम्पनी अवेदाले १० लाख, नेपालमै जडिबुटी कारोबार गर्ने कम्पनी हिमालयन बायोट्रेड लिमिटेडले पाँच लाख, बहुसरोकारवाला वन कार्यक्रमले १३ लाख र स्थानीयको श्रमदान गरी एक करोडभन्दा बढी रकम उद्योगमा लगानी भइसकेको छ ।

उद्योग सञ्चालनमा हुँदा १० जनाले उद्योगमा प्रत्यक्ष रोजगारी पाएको, पुरुषहरु विदेशमा भएका महिलाहरुले लोक्ता संकलन गरेर दैनिक ५०० रुपैयाँ कमाउने गरेको उद्योगका अर्का संस्थापक कर्मचारी विजय सिंहले बताए । उनले सिंगै गाउँको आयस्रोतको रुपमा रहेको उद्योग अहिले केही व्यक्तिको मागी खाने भाँडोजस्तो भएपछि बन्द हुने अवस्थामा पुगेको बताए ।

लोक्ता तथा कागज ढुवानी गर्ने, दाउरा विक्री गर्ने लगायतका कामबाट यहाँका ३०० भन्दा बढी स्थानीयले आयआर्जन गर्ने गरे भए पनि उद्योग बन्द हुँदा सिंगै गाउँको आयआर्जनको मुख्य बाटो बन्द भएको सिंहले बताए । कतैबाट अनुदान आएपछि रकम पचाउन केही दिन उद्योग चलाएजस्तो गर्ने र अनुदान सकिएपछि बन्द गर्ने गरिएको स्थानीयहरु बताउँछन् ।

यहाँ उत्पादित नेपाली हाते कागज जापान, कोरिया, जर्मनी लगायत तेस्रो मुलकमा निर्यात हुने गरेको थियो । कागज विक्रीबाट भएको नाफा शेयर सदस्य घरधुरीलाई प्रत्येक बर्ष वितरण गर्ने नियम भए पनि एकपटक मात्रै त्यसो गरिएको स्थानीयहरुको भनाई छ । सञ्चालन भएको दुई वर्षपछि एकपटक मात्रै शेयर वितरण गरिएको स्थानीयहरु बताउँछन् ।

स्थानीयहरुका अनुसार दुई वर्षपछि एकपटक मात्रै शेयरका आधारमा प्रतिपरिवार १ हजारदेखि १० हजारसम्म रकम बाँडिएको थियो । एक जना शेयर सदस्य ध्वजबहादुर सिंहले भने, ‘त्यसपछि जसले जिम्मा पाए उसैले खाए । समुदायलाई एक सुक्को पनि दिएका छैनन् । अहिले त उद्योग नै बाँझो भैसक्यो ।’

उद्योगका प्रवन्ध सञ्चालकसमेत रहेका जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष गगनबहादुर सिंहले पनि व्यवस्थापनले ध्यान दिन नसकेका कारण उद्योग धरासायी भएको स्वीकार गरे । ‘म वडाध्यक्ष भएपछि त्यता ध्यान दिन पाइएन, जिम्मा दिएका साथीहरुले इमान्दारीपूर्वक काम नगर्दा उद्योग बन्द भयो ।’ उनले उद्योग सञ्चालनका लागि पहल भइरहेको पनि बताए ।