Loading... आजः ९ मंसिर २०७७, मंगलवार
स्वास्थ्यमा समृद्धि

सर्जरी सेवा शुभारम्भ गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

सर्जरी सेवा शुभारम्भ गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आज शुक्रबारदेखि सर्जरी सेवा शुरु गर्ने भएको छ । सर्जरी सेवा शुभारम्भको अवसर पारेर अस्पतालले शरीरमा गाठागुठी भएका र मासु पलाएका बिरामीको निःशुल्क सर्जरी गर्ने जनाएको छ ।

निःशुल्क सर्जरीका लागी बिरामीले आफ्नो नाम दर्ता गराउनुपर्ने अस्पतालका कार्यकारी निर्देशक डा कृष्णप्रसाद आचार्यले बताए । सो अस्पतालमा बिरामीको नियमित उपचारसमेत भइरहेको छ । कोरोना महामारीले बिरामीको उपचारमा खासै प्रभााव नपरेको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका नयाँ क्यान्सरका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेको निर्देशक आचार्यले जानकारी दिए । सङ्घीय सरकारको मातहतमा रहेको सो क्यान्सर अस्पतालका लागि बाँकेको खजुरा गाउँपालिका लगायत अन्य स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासनले पनि सहयोग गरिहेको जनाइएको छ ।

२०७५ असार नौ गते तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उदघाटन गरेपछि औपचारिकरुपमा सञ्चालनमा आएको सो क्यान्सर अस्पतालले अहिलेसम्म सात हजार बढी बिरामीलाई उपचार सेवा पु¥याइसकेको छ । अस्पतालले हालका लागि वहिरङ्ग सेवाअन्तर्गत बिरामी जाँच, किमोथेरापी, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवामात्र दिन सकेको छ ।

सरकारबाट १०० श्य्याको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा प्रारम्भ गरेको थियो । यो अस्पतालको सेवा प्रारम्भ भएपछि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकलाई शुरुवाती चरणको उपचार सेवा लिन भरतपुर, काठमाडौँ जानुपर्ने बाध्यता पनि टरेको छ ।

बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अगुवाईमा करिब १७ वर्षअघि (२०६५ सालमा) खजुरावासीको यज्ञकिर्तन, मुठीदानबाट अस्पताल निर्माणका लागि सङ्कलन गरेको रकमबाट शुरुमा खजुरा प्रखर क्यान्सर अस्पताल नामाकरण गरी भवन निर्माण गरिएको थियो ।

तर, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगन थापा रहेको यसअघिको सरकारले अस्पतालको स्वामित्व ग्रहण गरी नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ नामाकरण गरेको हो ।