Loading... आजः ९ मंसिर २०७७, मंगलवार
अभिव्यक्ति टिप्पणी

‘कंगाल र निकम्मा’ नागरिक होइनन्, माननीयको सोंचमै ‘दरिद्रता’ देखियो

‘कंगाल र निकम्मा’ नागरिक होइनन्, माननीयको सोंचमै ‘दरिद्रता’ देखियो

इतिहासदेखि नै धर्म, राजनीति र दैनिक जीवनको सम्बन्ध गहिरो छ । एक्काइशौँ शताब्दीको यो आधुनिक विश्वमा पनि धर्मलाई दैनिक जीवनबाट अलग नगर्ने असंख्य मानिस छन् । धर्मलाई राज्यबाट अलग गर्ननसक्ने देश धेरै नै छन् । नेपालमा पनि बहुसंख्यक जनता धर्मनिरपेक्ष होइन, सापेक्ष छन् । विश्वको एकमात्र हिन्दु राष्ट्रका रूपमा रहेको नेपाल धर्मनिरपेक्ष बन्दा समर्थन र विरोधमा उत्रनेहरू निकै थिए । अहिले पनि धर्मनिरपेक्षताबाट पुनः हिन्दुराष्ट्रमै फर्कन दबाव दिने राजनीतिक दल र समुहहरु क्रियाशिल नै छन् ।

मानिस सामान्यतः आफू र आफ्ना पूर्वजको अपमान सुन्न चाहँदैन । केही वर्षयता नेपालमा आफूलाई जन्मजात पापी र पूर्वजलाई असभ्य वा सैतान भनेर वा भनाएर लाभ लिने चलन बढे बढाएको चर्चा सुनिन्छ । त्यसका निम्ति राष्ट्रिय, सामाजिक र पारिवारिक सद्भावका तन्तु चुडाउन पराईहरू मुकाम कायम गरेर बसेको भन्ने पनि भनिन्छ । व्यक्तिमा कुण्ठा वा अरूप्रति घृणाभावको तालिम दिएर र व्यक्तिलाई पारिवारिक एवं सामाजिक रूपमा एक्लाएर दया देखाउन माफियाले भरमग्दुर प्रयास गरेका उदाहरण समेत छन् भनिन्छ ।

अरू सभ्यता, संस्कृति, सम्पदा, संस्कार र समन्वयका तन्तुमात्र होइन, राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डता समाप्त गर्न संगठित प्रयास भइरहेको कुरा प्रकाशमा आएका छन् । यी क्रियाकलाप नेपालमात्र होइन भारत, चीन, म्यान्मार, श्रीलंका, क्याम्बोडिया, भियतनामजस्ता भिन्न सभ्यता भएका मुलुकमा सञ्चालित भएको मानिन्छ । ‘अन्तर्राष्ट्रिय’को आवरणमा मन्द विषसहित आउने अधिकाधिक विदेशी गैरसरकारी संस्था शान्ति, पहिचान, अल्पसंख्यक, अधिकार, रूपान्तरण आदिको नाममा मात्र होइन, भाषा सिक्ने सिकाउने, लगानी गर्ने र स्वयंसेवकका रूपमा समेत खटिएका उदाहरण सार्वजनिक हुन थालेका छन् ।

कुनै नेता भेट्दा उसलाई सहि बाटोमा जानभन्दा उनीहरुको गलत रवैयालाई पनि सही भन्दै थपडी मार्ने चलन हाम्रो नेपाली समाजमा अझै व्याप्त छ । तर, पछिल्लो पुस्ताले भने गलतलाई सही भनेर थपडी होइन गलतलाई गलत नै भनेर थप्पड भने मार्छ । आमनागरिकले नेपालीलाई कंगाल र निकम्मा भन्ने एक जना ढोंगी माननीयको राजनैतिक चाटुकारीताले हिन्दू धर्ममाथि नै प्रहार गरेको छ । धर्मले राजनीतिलाई निर्देशित गर्छ वा राजनीति, धार्मिक सद्भावको व्यवस्थापक हो ? यो विषयमा घोत्लिँदा, महाशक्ति राष्ट्र अमेरिकाको राजनीतिले समेत धार्मिक आस्थालाई उच्च स्थान दिएको देखिन्छ ।

सन् १७८७ जुनतिर फिलाडेल्फियामा घोषित अमेरिकी संविधानको पहिलो धाराले नै धर्ममाथि संघीय सरकारको भूमिका र प्रभावलाई शून्यमा सीमित पारे पनि अहिलेसम्मको व्यवहार र रवैयाले धर्मलाई सर्वोपरी ठानेको छ । अहिले पनि विभिन्न खाले संकटमा संविधानमा धर्मनिरपेक्षता घोषणा गरिँदाको बेथितिका रूपमा व्याख्या गर्ने प्रचलन छ । संविधानमा क्रिस्चियन (प्रोटेस्टेन्ट) शब्दावली समावेश नगर्दा सन् १८६० मा गृहयुद्व नै मच्चिएको थियो । फलतः अमेरिकी मुद्रा र सिक्कामा पहिलोपटक लेखियो, ‘इन गड वी ट्रस्ट’ अर्थात् भगवानमा हाम्रो विश्वास छ । अमेरिकी मुद्रामा अहिले पनि त्यो देख्न सकिन्छ ।

‘सेप्टेम्बर ११’को आतंकवादी हमलापछिको अमेरकिामा धर्म र राजनीतिको गठबन्धन झनै कसिलो देखिन्छ । ‘टी पार्टी’को उदय यसको ज्वलन्त उदाहरण हो । सामान्य बेला राजनीतिमा धर्मको खासै भूमिका नभए पनि मुलुकमा संकट गहिरिँदै जाँदा यसको प्रभावकारतिा र उद्दण्डतालाई नजरअन्दाज गर्न सकिँदैन । किनभने, धर्म–संस्कृति, पहिचान र अस्तित्वसँग जोडिएर आउने गर्छ । भलै पहिलो संविधानसभाले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिसकेको पृष्ठभूमिमा कतिलाई यो बहस वाहियात पनि लाग्न सक्छ । तथापि, यसले धेरैको सरोकारलाई प्रतिविम्ब गर्छ ।

धर्म व्यक्तिगत सरोकारको पक्ष हो वा सार्वजनिक रुचिको विषय, यो विवाद सदियौँ पुरानो हो । धर्मनिरपेक्षता पक्षधर दाबी गर्छन्, ‘आस्था, भगवान् र मानिसबीचको नितान्त व्यक्तिगत विषय हो, यसले जनताको नीतिसँग सरोकार राख्दैन । धार्मिक आस्था वकालतको विषय पनि होइन । किनभने, धर्ममा विविधता छ ।’ अर्काेतर्फ, धार्मिक आस्थालाई नैतिक शिक्षा र सामाजिक संस्कारको कडीका रूपमा हेरिने मानवीय सभ्यताको परम्परागत प्रचलन पनि छ । चाहे पश्चिम होस् या पूर्वीय दर्शन, व्यक्तिको चरत्रि र नैतिक विकासमा धर्मको भूमिका हुन्छ । त्यसैले राजनीति र धर्मबीच सम्बन्धै हुन सक्दैन भन्नु बेतुकको तर्क हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका अध्यक्षसमेत रहेका लुम्बिनी प्रदेश सभाका सदस्य इन्द्रप्रसाद खरेल (आइपी खरेल)ले ट्वीटरमा दिएको अभिव्यक्तिले हिन्दू धर्म मान्ने आम नागरिकहरुको आस्थामाथि धावा बोल्नु हुन्थ्यो कि हुँदैनथ्यो ? त्यो उनले जान्ने विषय होला । हिजो ब्रुजुवा शिक्षा पढ्नुहुँदैन भनेर जनताका छोराछोरीलाई जबरजस्त बन्दुक समाउन लगाएर नरसंहार मच्चाउनेहरु आज धर्म विरोधी गतिविधिमा सक्रिय हुँदा कुन तत्वबाट परिचालित भइरहेका छन् भन्ने विषयको खोजी गर्नुपर्छ । प्रदेश सभाका सदस्य खरेलको अभिव्यक्ति छ, ‘लक्ष्मी पुजा नगरेका देश चन्द्रमा पुगे, हामी लक्ष्मी पुजा गर्ने नेपाली कंगाल छौं । पुजा गरेर शुखी होइन्छ भन्ने निक्ममा चेतना कहिले सकिएला हाम्रो ?’

यो हिन्दू धर्मावलम्बीहरुको आस्थामाथि प्रहार गर्दै दिइएको यो अभिव्यक्तिले सिंगो हिन्दू धर्म मान्ने नेपालीहरुको आस्थामाथि चोट परेको छ । राजनीतिक लाभका लागि गरिने धर्म केन्द्रित सभा, जुलुसमा आगामी दिनमा लुम्बिनी प्रदेश सभाका सदस्य इन्द्रप्रसाद खरेल (आइपी खरेल)ले यही कुरा बोल्ने हिक्मत राख्लान् कि नराख्लान् ? निहित राजनीतिक स्वार्थमा लिप्त यस्ता व्यक्ति र समूहहरु धर्मलाई उचाल्दै धार्मिक हिंसा भड्काउने कुचेष्टा गरिरहेका छन् । तर, धार्मिक आस्था केही राजनीतिक दलहरूले समर्थन वा विरोध गर्दैमा प्रभावित हुने विषय होइन । यो मानवीय अस्तित्व र संस्कृतिसँग सम्बन्धित पक्ष हो । समाज अनि मुलुकको परिचय हो ।

यी र यस्तै चेत नखुलेका माननीयरुले यो कुरा गम्भीररुपमा बुझ्न जरुरी छ । अग्रगमन या समावेशी एवं सन्तुलित समाजका नाममा केही राजनीतिक दलहरू हिन्दुत्वको प्रभावलाई क्षीण बनाउन उद्यत रहेको प्रष्ट छ । संविधानमा धर्मको भूमिका निषेध गर्दैमा धार्मिक आस्था कमजोर हुन्छ वा अल्पसंख्यकको उत्थान हुन्छ भन्ने तर्क राजनीतिक लाभको जोडघटाउमा आधारित विश्लेषण मात्र हो । धर्मले सामाजिक ऐक्यबद्धतालाई एक ढिक्का पार्छ र समाज रहुन्जेल कुनै खाले राजनीतिक शक्तिले धर्मलाई नष्ट गर्न सक्दैन । अन्तर्राष्ट्रिय परिदृश्य, आर्थिक उदार नीति, मानवअधिकार एवं अल्पसंख्यकप्रति व्यवहार एवं नीतिको पर्यायवाची हो, धर्म निरपेक्षता ।

उदारवादी प्रजातान्त्रिक शासन पद्धति अँगालेका मुलुकमा धर्म निरपेक्षता चलन चल्तीमा छ । धर्म निरपेक्षतावादीको नजरमा नैतिकताको अर्थ मानवता हो र त्यसले धर्मसँग कुनै सरोकार राख्दैन । खुला समाजमा राज्य एक निश्चित धर्मको पृष्ठपोषक बन्न सक्दैन । यसमा धेरैको विमति नहोला । तथापि, नेपालको परिदृश्यमा धर्म निरपेक्षतासँग जोडेर अग्रगमनको बाधक तत्त्वका रूपमा हिन्दु धर्मलाई गतल र सङ्क्रिण सोंच भएका माननीयहरु परिभाषित गर्दैछन् । यो मूलतः अल्पसंख्यकलाई अधिकार दिने नाममा बहुमतमाथिको जबर्जस्ती नियन्त्रणजस्तो हो । नेपालको हकमा हिन्दु धर्मले उदारता र सहिष्णुता प्रदर्शित गरेको विगत साक्षी छ ।

दर्शनशास्त्री कार्ल माक्र्सले भनेका छन्, ‘सामाजिक र ऐतिहासिक परिवर्तनको मुख्य कारक तत्व आर्थिक संघर्ष हो, धर्म होइन ।’ तसर्थ, धर्म र समाजबीचको गलत व्याख्या मुलुकको राजनीतिका लागि प्रत्युत्पादक हुन सक्छ । जब राजनीतिले मुलुकको संस्कृति र संस्कारलाई सम्बोधन गर्न सक्दैन, तब त्यसले वैधानिकता गुमाउँछ । केही प्रमुख राजनीतिक घटकहरूको जातीय, क्षेत्रीय एवं साम्प्रदायिक पक्षपोषणले हिन्दुवादीलाई प्रहार गरेर धार्मिक द्वन्द्व निम्त्याउन खोजिरहेको प्रष्ट छ । लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रप्रसाद खरेल (आइपी खरेल)ले ट्वीटरमार्फत दिएको अभिव्यक्ति यसकै उदारहण स्वरुप आएको हो ।

युद्धको अग्रपंक्तिमा होम्नका लागि बहादुर भन्ने वा प्रलोभनमा पारी सभ्यता नष्ट गर्न इमानदार भन्ने, नेपालको अखण्डता समाप्त गर्न क्षेत्रीयतामा लगानी गर्ने, सामाजिक सद्भाव समाप्त पार्न घृणाको स्कुलिङ चलाउने र व्यक्तिलाई एक्लो पार्न कुण्ठाका सूत्र बाँड्ने काम अहिलेमात्र प्रायोजित र संगठित भएको होइन, विगतबाट नै त्यसमा लगानी थियो भन्ने कुरा दलका नेताहरुबाटै पुष्टि हुन्छ । राजनीतिमै यस्ता गलत सोंच र प्रवृत्ति भएका व्यक्तिहरुको प्रवेशले नेपाली राजनीति, नेपाल र नेपाली नागरिक बदनाममात्र भएका छैनन्, अपमानितसमेत बनेका छन् ।

लालचको घुम्टोले यो अपमान कति दिन छोप्ने ? अझ कति घोडा चढ्न दिने अब कति अपमान सहने ? धर्मको राजनीति गर्ने समुह सानै भए पनि यसले अकल्पनीय परिणाम ननिम्त्याउला भन्न चाहिँ सकिँदैन । विश्वमा हाल चलिरहेका अधिकांशः द्वन्द्वको जरो धार्मिक विषयसँग जोडिएको छ । धार्मिक भिडन्तहरू प्रारम्भमा सानासाना अहमबाट उब्जिएका र पछि विकराल बन्दै गएका हुन् । विश्वका धेरै देशमा धर्मका नाममा युद्ध र द्वन्द्व भएका छन् । धार्मिक द्वन्द्वले कहिल्यै प्रश्रय नपाएको देश नेपालमा अहिले केही धार्मिक अतिवादीले खेल्ने मौका खोजिरहेका छन् । त्यसैको उपजस्वरुप राजनीतिक दलकै जिम्मेवारी नेताहरुबाट धर्ममाथि बेला बेलामा प्रहार पनि भइरहेको छ ।

धार्मिक आस्थामाथि औंला ठड्याउने यस्ता बेधर्मी राजनीतिज्ञलाई चारपाटा मुडेर कालोमोसो दल्दै नगर परिक्रमा नगराएसम्म अब चेत खुल्नेवाला छैन । यदि उनको आस्थामाथि तपाईले यसरी अभद्र टिप्पणी गरेको भए अहिलेसम्म उनी हुल ल्याएर तपाईको घरमा ढुङ्गामुडा र आगजनी गर्न आइसक्ने थिए । हिन्दु शब्दको नाम राखेर हिन्दु धर्मलाई नै अपमान गर्ने यस्ता परचक्रीहरुलाई दण्डित गर्न नसक्नु नै हिन्दुहरुको सबैभन्दा ठूलो कमजोरी हो । देश, नागरिक र सामाजिक एकतालाई बदनाम र अपमानित गर्ने यस्ता बदमास कुपुत्रहरुलाई सामाजिकरुपमै बहिस्कार गर्न आमनागरिकहरु ब्यूझिनैपर्छ ।

झूठको खेती गरेर सत्ता हातमा पार्ने र खेती फलिफाप हुन्जेल शासन चलाउन भ्रम, झुट र आक्षेप लगाउँदै अरुको आस्थामाथि खेल्ने यी प्रवृत्तिले अन्ततः सबै धर्मलाई दूषित बनाइरहेका छन् । धर्मको नाममा अनेकथरी अफवाह फैलाउने तत्वहरू धार्मिक सम्प्रदायभित्रै देखिन थालेका छन् । एकतामा बाँधिएको समाजभित्र विभाजन, घृणा र कुण्ठाको खेती गर्नेहरु होसियार बन्नुपर्छ । सांसद खरेल ज्यू कंगाल र निकम्मा नेपाली नागरिक होइनन्, माननीयको सोंचमै दरिद्रता देखियो । आफ्नो देश, धर्म, सस्कृति, आफ्ना पूर्वज, आफ्ना राष्ट्रिय व्यक्तित्व र नेपालीको अपमान गरेको अब सह्य हुनेवाला छैन । विदेशीको लालचमा फसेर विदेशीले भनेका कुरालाई ध्रुवसत्य मान्नेहरुलाई अब सामाजिक रुपमै बहिस्कार गर्नुपर्छ ।