Loading... आजः २० मंसिर २०७७, शनिबार
Trending:
ओझेलमा परेको जीवनको पाटो

उस्तै पेशा, भूमिका फरक : विवाद समाधानका सारथी ‘पत्रकार शुक्रऋषि’

उस्तै पेशा, भूमिका फरक : विवाद समाधानका सारथी ‘पत्रकार शुक्रऋषि’

शुक्रऋषि चौलागाई, परिचय दिइरहनुपर्ने नाम हैन । नेपालगन्जमा दुुई दशकदेखि पत्रकारितामा सक्रिय चौलागाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव एवं पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष पनि हुन् । रेडियो बागेश्वरी एफएमका स्टेशन प्रमुख चौलागाई लेखनीमा पनि उत्तिकै अब्बल मानिन्छन् । समाजमा कतिपय व्यक्ति यस्ता पनि हुन्छन्, जसको एउटा पाटो सदैव सार्वजनिक भइरहँदा अर्को पाटो ओझेलमा परिरहेको पनि हुनसक्छ । यस्तै व्यक्तित्व हुन्, चौलागाई ।

पत्रकारिताको उचाईमा रहेर पनि उनको अन्य भूमिका भनेजति चर्चा हुनुपर्ने त्यति नभएको हो की झैं लाग्छ । तथापी यहाँ चौलागाईको फरक भूमिकाका बारेमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । पत्रकारबाहेक उनी एउटा कुशल सम्वाद सहजकर्ता पनि हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । कहिलेकाहीँ सञ्चारमाध्यममा आउने विवाद समाधान (सहजीकरण)का समाचारहरुको पछाडीका नायक चौलागाई नै हुन् । सम्वाद समूह, बाँकेका सहजकर्ता चौलागाईले अहिलेसम्म दर्जनौं सवाल (विवादित)मा सहजीकरण गरिसकेका छन् ।

सम्वाद समूह, विभिन्न पेशा, वर्ग, क्षेत्रको प्रतिनिधित्व गरेका विशिष्ठ व्यक्तित्व सम्मिलित साझा र स्वतन्त्र संयन्त्र हो । चौलागाई सात वर्षदेखि सम्वादकर्ताका रुपमा क्रियाशिल छन् । सार्वजनिक सरोकार र विकास निर्माणका सवालमा सम्वाद सहजीकरण मात्र होइन चौलागाईले सहज निकास र सम्वोधनको बातावरण पनि बनाइदिएका छन् । वर्षौदेखि हल हुन नसकेका बहुसरोकारका द्वन्द्वन्मूख सवाल पनि उनले सम्वाद प्रक्रियाबाटै टुंग्याएका छन् । पछिल्लो समय नरैनापुरको विद्युतीकरण विस्तारको जस लिने होडवाजी नै चल्यो ।

नरैनापुरमा विद्युतीकरण विस्तारको आवश्यक्ता र सम्वादको सहजीकरणको पहलबारे प्रष्टयाउँदै सम्वादकर्ता शुक्रऋषि चौलागाई र सांसद कष्णा केसी ।

तर, भित्री पाटो केलाउने हो भने चौलागाईको सम्वाद सहजीकरण नै सफलताको प्रमुख आधार हो । कोरोनाको हटस्पट नरैनापुरमा कोरोना परिक्षण र उपचार लगायतका अत्यावश्कीय सेवा समेत प्रभावित भएपछि सम्वाद समूह, बाँकेले नै सम्वादको बातावरण बनाएको हो । सम्वादकर्ता चौलागाईकै सल्लाह र अग्रसरतामा सम्वाद सदस्य एवं सांसद कृष्णा केसी (नमूना) सहितको टोलीले सरोकार पक्षसँग सम्वादलाई निरन्तरता दिएको हो ।

निषेधाज्ञा जारी गरिएको अवस्थाका बीच स्थानीय प्रहरी, प्रशासन, विद्युत प्राधिकरण, ठेकेदार कम्पनी र नरैनापुर गाउँपालिकाकासँग कयौं पटक सम्वाद सहजीकरण गरेपछि विस्तारीकरणले अन्तिम रुप लियो । प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनीन्द्र ठाकुर पत्रकार चौलागाइले सरोकार पक्षबीच गरेको सहजीकरणको भूमिका महत्वपूर्ण रहेको बताउँछन् । यही लाइन विस्तारका क्रममा गत माघमा चटारमा अवरोध गरिएपछि सहजकर्ता चौलागाईकै सम्वाद सहजीकरणपछि पोल गाडीएको थियो ।

नरैनापुरमा विद्युतीकरणपछि अनुगमनमा सम्वादकर्ता शुक्रऋषि चौलागाई ।

यस्तै लामो समयदेखिको एउटा अर्को विवाद पनि चौलागाईले सुल्झाएका छन् । नेपालगन्ज राँझास्थित आदर्श माविको डेढ दशक अघिदेखिको जग्गा विवाद पनि सम्वादमार्फत सहजकर्ता चौलागाईले नै हल गरेका हुन् । विद्यालयको नेपालगन्ज–२० गायत्रीनगरस्थित जग्गामा ८४ घरपरिवारले घर टहरा बनाएर बसेका थिए । सम्वादकर्ता चौलागाईको डेढ वर्ष लामो सम्वाद सहजीकरणपछि जग्गाको किचलो सदाका लागि साम्य भएको हो ।

अतिक्रमित जग्गा खाली गर्न गरिएको वडा र विद्यालयको हर प्रयास असफल भएपछि सम्वाद समूहले सरोकार पक्षसँग नियमित सम्वाद सहजीकरण गर्दै आएको चौलागाईले जनाए । सरोकारवालाबीच सहज बोलचालको समेत अवस्था नभएका बेला सहजीकरण प्रयास गरिएको चौलागाई सम्झिए । शुरुमा सरोकार पक्षले विश्वास नगरे पनि अन्ततः सम्वाद नै भरपर्दो विकल्प हो भन्नेमा सरोकारवालाहरु निश्चित भएको चौलागाई सुनाउँछन् । वडा र विद्यालय समेतको अग्रसरतामा अहिले करिव ५५ घरपरिवारलाई नजिकै व्यवस्थापन गरिएको छ ।

हुलाकी सडक निर्माण अवरोध हटाउने सहमतिका लागि सम्वाद सहजीकरण गर्दै सम्वादकर्ता शुक्रऋषि चौलागाई ।

वडा कार्यालय, विद्यालय र बस्तीवीचको वर्षौदेखिको विवाद सम्वादकै कारण सम्भव भएको हो । नेपालगन्जदेखि नरैनापुर कट्कुईयासम्मको हुलाकी राजमार्ग निर्माणमा देखीएको वर्षौदेखिको विवाद पनि सम्वादबाटै हल गरिएको हो । सडक निर्माण कार्य बढाइरहँदा सडक नक्सांकन र मुआव्जा विवाद उत्पन्न भएको थियो । चालु हुलाकी सडक खण्डभन्दा फरक सर्भे (उत्तर) र नापी भएपछि विवाद बढेको हो । स्थानीय जग्गाधनीले ०७५ वैशाखदेखि सडकको निर्माण कार्य अवरुद्ध गरिरहेकोमा सहजकर्ता चौलागाईले नै सहजीकरणमार्फत निकास खाजेका हुन् ।

सरोकार पक्षबीच भेटघाट, छलफल हुने बातावरण नै नभइरहेका बेला अलगअलग रुपमा चरणवद्ध सम्वाद बढाइएपछि अन्ततः सहमतीमै बाटो निर्माण बढेको हो । जग्गा धनी, गाउँपालिका, सडक आयोजना, प्रशासनबीचको विश्वासको बातावरण बनाउनै समय लागेको चौलागाईले अनुभव सुनाए । साझा धारणा बनाएर विकल्पमा जाने बातावरण सिर्जना गर्नु नै सम्वाद प्रक्रियाको मुख्य काम हुने सहजकर्ता चौलागाईको भनाई छ । निर्माण कार्यले टुंगो पाएसँगै सो बाटोमा अहिले कालोपत्रे बनिरहेको छ ।

हुलाकी सडक विस्तारमा सहमतिका लागि फिल्डमा सम्वाद टीम ।

अहिले नेपालगन्जको सदरलाइनको विस्तारित रुप भएको देख्नुभएकै होला । यो स्वरुपमा आउन पनि सम्वादकर्ता चौलागाईकै अग्रसरता र सम्वादको भूमिका छ । घरधनीको भावना र सम्पतीसँग जोडीएको संरचना भत्काउने कुरामा सम्वाद गर्नु पक्कै पनि चानचुने कुरा होइन । तर पनि अविचलीत रुपमा कहीले छुटछुटटै कहीले संयुक्त सम्वादपछि निकासको बातारण बन्दै गएको हो । सरोकारवालासँग आठ महीनाको निरन्तरको सम्वादपछि साझा बुझाइ भयो । निर्माण प्रक्रिया अघि बढ्यो र सफल भइयो, चौलागाईले विगतको सम्वाद स्मरण सुनाए ।

लकडाउनको अवधीमा प्रत्यक्ष भेटघाटको अवस्था नभएको बेला पनि सम्वाद समूहको सक्रियतामा कमी आएन । कोरोना संक्रमणको रोकथाम, नियन्त्रणका लागि सम्वादकर्ता चौलागाईले सरोकार पक्षसँग निरन्तर भर्चुअल लगायतका माध्यमबाट सम्वाद सहजीकरण गरिरहे । किट लगायतको स्वास्थ्य सामाग्री उपलव्धताका लागि सांसद, राजनीतिक दलसँग गरिएको निरन्तरको सम्वाद पनि उपलव्धीमूलक देखियो । नरैनापुरमा सहज स्वास्थ्य सेवा प्रवाहको वकालतमात्र गरिएन, सरोकारवालासँगको सम्वादलाई बढाइएपछि अन्ततः सुनुवाई पनि भएको छ ।

नरैनापुरमा कोरोना संक्रमणपछिको अवस्थाबारे विश्लेषण, समिक्षा र सम्वाद तयारीबारे गाउँपालिका अध्यक्षसँग छलफल गरिँदै ।

चिकित्सकको पदपूर्तिका लागि गरिएको सम्वाद सहजीकरणपछि अहिले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट चीकीत्सा सेवा शुरु भएको छ । बहुसरोकार, जटिल र सम्वेदनशील सवालमा पनि सम्वादको माध्यमबाट हल गरिएका थुप्र्रै उदाहरणहरु उनीसँग छन् । हुन त एकल पहलले मात्र सम्भव हुने विषय हैनन्, तथापी इच्छाशक्ति जागृत गराउने, सरोकारबीच साझाधारणा बनाउने र सहज बातावरण बनाई दिने भूमिकामा भने सम्वादकै भूमिका देखिन्छ । समस्यामै समाधान पनि हुुन्छ भन्ने मान्यताका आधारमा सम्वाद शुरु गरिनुपर्ने चौलागाईको भनाई छ ।

उचित सवाल, समयमै सरोकारको पहिचान र निरन्तर सम्वादले निकास दिदो रहेछ भन्ने अनुभव सुनाउँछन्, चौलागाई । जहाँ विवाद, द्वन्द्व हुन्छ त्यहीं सम्वादको आवश्यक्ता हुन्छ, तथापी सबै खाले विवादमा भने हात हाल्न नहुने पत्रकार चौलागाईको ठम्याइ छ । सम्वाद समूह बाँकले विशेषतः राजनीतिक, सामाजिक र जनसरोकारका विषयमा सम्वाद गरिरहेको छ । सम्वादकर्ता हुनुअघि पनि पत्रकार चौलागाईले एक प्रकारको सम्वादको भूमिका निर्वााह नगरेका भने हैनन् ।

नेपालगन्जस्थित भेरी अस्पतालमा आइसोलेशन निर्माणबारे सरोकारसँग सम्वाद गरिँदै ।

नेपालगन्जमा रहेको अन्तरधार्मीक, सामाजिक सदभाव मञ्चको अवधारणा ल्याउने व्यक्ति नै चौलागाई रहेछन् । अलग अलग धर्म र पृष्ठभूमिका गुरुहरुलाई एउटै ठाउँमा ल्याउनु पनि चानचुने कुरा थिएन । मानव रक्षा नै पहिलो धर्म हो भन्ने मान्यताका साथ चौलागाईले आज भन्दा १५ वर्षअघि धर्मगुरुलाई संगठीत गरिदिएका हुन् । मञ्च गठनमा अग्रसरता देखाउने चौलागाईजस्ता व्यक्ति अहिले छायाँ (ओझेल)मा देखिए पनि धर्मगुरुहरु भने शान्ति, सदभावका हरेक अभियानमा सक्रिय छन् । सम्वाद समूहका तर्फबाट अहिले पनि केही सवालमा सम्वाद जारी छ ।

राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाबीचको सीमा विवाद, भेरी अस्पतालमा आइशोलेशन निर्माण, नरैनापुरको इलाका प्रशासन स्थापनाको विषयलाई पनि सहजीकरण गरिँदैछ । कुनै पनि घटना र विषयमा समयमै सम्वाद गरिएमा विवाद र द्वन्द्वाट बच्न र बचाउन सकीने चौलागाईको भनाई छ । सम्वादकर्ता चौलागाईका अनुसार, कुराकानीको प्रक्रिया नै सम्वाद हो । तथापी सम्वाद एक भावनात्मक प्रक्रिया पनि हो । विवादित या सरोकार पक्षलाई समान रुपमा बोल्ने दिइने अवसर पनि सम्वाद हो ।

व्यक्ति, प्रक्रिया र समस्याहरूलाई मसिनो गरी चिरफार गर्ने विधि नै सम्वाद प्रक्रिया हो । सम्वाद के कसरी गरिँदोरहेछ भन्ने प्रश्नमा चौलागाई भन्छन्, सम्भावित विवाद तथा द्वन्द्वको आंकलन र विश्लेषण, आवश्यक्ताअनुसार सरोकारवालासँग नियमित सम्वाद र सहजीकरण । विवादित पक्षहरु स्वस्फुर्त सम्वाद समूहको सम्पर्कमा पनि आउन थालेका छन् । सम्वाद प्रक्रियाप्रति आम जनताको विश्वास बढदो छ भने यसको आवश्यक्ता र महत्व पनि चुलीदै गएको छ । सम्वाद प्रक्रियाले सवाललाई सम्बोधन गर्ने मात्र नभई यसले सम्वादको संस्कृति निर्माणमा जोडदिने चौलागाईको भनाई छ ।