Loading... आजः २० मंसिर २०७७, शनिबार
Trending:
पर्यटन विकासमा बेवास्ता

२२ पाटन ५२ झोता रहेको खप्तड ओझेलमा

खप्तड क्षेत्रको पर्यटन विकासका लागि प्राकृतिक विविधता र सौन्दर्य भएर मात्रै हुँदैन, कृतिम विकास पनि आवश्यक छ : संविधान सभा सदस्य ओखेडा
२२ पाटन ५२ झोता रहेको खप्तड ओझेलमा

बझाङ । भू–स्वर्गका रुपमा परिचित खप्तडमा पुगेका संविधान सभा सदस्य अफिलाल ओखेडाले खप्तड क्षेत्रको विकास सोंचेजस्ते नभएको बताएका छन् । २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात् रूखका थुम्काहरू रहेको प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तड ओझेलमा परेको संविधान सभा सदस्य ओखेडाले बताए । उनले खप्तडको पर्यटन विकासका लागि आफ्नो पहल हुने पनि संविधान सभा सदस्य ओखेडाले बताए ।

खप्तड क्षेत्रमा प्राकृतिकरुपमा रहेका संरचना तथा पाटनहरु, ढुङ्गा, खप्तड बाबाको कुटी, सहस्र लिङ्ग, खप्तड ताल, त्रिवेणीधाम मन्दिर, केदार ढुङ्गा, खापर दह र पाटनहरुमा भ्रमण गर्दै ओखेडाले खप्तडको विकास जति हुनुपर्ने हो त्यति नभएकोले पर्यटन विकासका लागि प्राकृतिक सौन्दर्य भएर मात्रै नभएर कृतिम विकास पनि आवश्यक रहेको उनले बताए । उनले यहाँको पर्यटन विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको पनि बताए ।

गंगादशहरामा त्रिवेणीधाममा नुहाएर पूजा गरे पाप पखालिन्छ भन्ने जनविश्वास रहेकोले धाममा नुहाने स्थानलाई व्यवस्थित गर्नुपर्ने उनको भनाई छ । त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ भने सरस्वती नदी गुप्त बगेको विश्वास गरिन्छ । संविधान सभा सदस्य ओखेडाले त्रिवेणीधाम मन्दिरका नयाँ संरचनाहरु बनाउनुपर्ने भएकाले ती संरचनाहरुलाई पक्की बनाउनुपर्ने आवश्यकता रहेको पनि बताए ।

संविधान सभा सदस्य अफिलाल ओखेडा

उनले नुहाउनका लागि ड्याम बाँधेर पानी जम्मा गरी तालको बीचबाट त्रिवेणी मन्दिरमा दर्शन गर्न सकिने गरी पूर्वाधारहरु बनाउन आफ्नो पहल रहने पनि प्रतिवद्वता व्यक्त गरे । प्राकृतिक स्रोतहरुलाई व्यवस्थित गर्दै कृतिम संरचनाहरु बनाएर पर्यटकहरुलाई अझै आकर्षित गर्न सकिने पनि उनको भनाई छ । बझाङ्गबाट खप्तड जान निकै सजिलो र छोटो दुरी पर्छ । संविधान सभा सदस्य ओखेडाले खप्तड क्षेत्रको पर्यटन विकासमा सरकारको ध्यान जान नसकेको पनि बताए ।

उनले भने, ‘खप्तड क्षेत्रको विकासका लागि सरकार, पर्यटन मन्त्रालय, प्रदेश सरकार, स्थानीय तहको पहल शुन्य छ । खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकहरुको जानकारी लागि पैदल मार्गहरुमा साइन बोर्डसम्म राख्न नसक्दा बाटो बिराएर हराउन सक्ने अवस्था छ । यसमा राज्यले ध्यान दिनुपर्छ ।’ खप्तड क्षेत्रमा बास बस्नको लागि होटेल तथा राष्ट्रिय निकुञ्जहरुको बासस्थान भए पनि अझै खान र बस्नको लागि भने असहज वातावरण छ ।

स्थानीय तहसँग समन्वय गरेर आवश्यक वासस्थान ब्यवस्थापनका लागि पहल गर्नेसमेत उनले बताए । संविधान सभा सदस्य ओखेडाले खप्तड क्षेत्र पर्यटन विकास समितिका अध्यक्षसँग भेटघाट तथा कुराकानी गर्दै खप्तड क्षेत्र विकास गर्न र पर्यटकलाई आकर्षित गर्न कृतिम विकासको जरुरी रहेको पनि बताए । विचित्र र पौराणीक रहेको खप्तड क्षेत्रको विकास गर्न सके राज्यको राजस्व संकलनमा समेत तेवा पुग्ने देखिन्छ ।

मनमोहक दृष्यावलोकन गर्न सकिने खप्तडमा जता गयो त्यतै मनमोहक दृश्यहरु देख्न सकिन्छ । खप्तड जीवजन्तु, जैविक विविधता, वनजंङ्गल र जडिबुटीले अत्यन्तै भरिपूर्ण छ । यसको उचित व्यवस्थापन र प्रयोग गर्न सके यसबाट राज्यलाई अथाहा नाफा हुने र पर्यटनका हिसावले अत्यन्तै ठुलो सम्भावना बोकेको ठाउँ हो । खप्तडमा सर्वप्रथम सडक यातायात पुर्याउन आवह्यक रहेको पनि उनले बताए ।

‘खप्तडको वरिपरि चार जिल्लालाई जोड्ने गरी चक्रपथ बनाउनुपर्छ । खेलकुदकका लागि पनि खप्तडले सम्भावना बोकेको छ । चिसो याममा पानी तताएर खान सक्ने उर्जाको व्यवस्थापन पनि जरुरी छ,’ संविधान सभा सदस्य ओखेडाले भने । बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल रहेको खप्तडमा रहेको खप्तड बाबाको आश्रममा खप्तड बाबाले ५० वर्ष बिताएर लेखेका विभिन्न पुस्तकहरुसमेत सुरक्षित छन् ।

साथै त्यहाँ खप्तड बाबाको मूर्ति र उनले प्रयोग गरेका केही सामानहरुसमेत संग्रहालय बनाएर राखिएको छ । एकछिनमै घाम लाग्ने, एकछिनमै सिमसिम पानी पर्ने खप्तडमा वर्षामा बादलले रुखहरुलाई ढाक्दा बिछट्ट राम्रो देखिन्छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भए पनि भौतिक पूर्वाधार अभाव र प्रचारप्रसारको कमीले खप्तड क्षेत्रले यथेष्ट महत्व पाएको देखिँदैन ।