Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:
चाडपर्व सुरक्षा

तिहार लक्षित बाँके प्रहरीको कठोर चेतावनी

तिहारमा पटाका पट्काउने बच्चाका अभिभावक पनि प्रहरी निगरानीमा !
तिहार लक्षित बाँके प्रहरीको कठोर चेतावनी

बाँके । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर बाँके प्रहरीले कठोर नीति अपनाउने भएको छ । बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले तिहार नजिकिँदै गर्दा विकृतिपूर्ण गतिविधिमा प्रहरी कठोर हुने चेतावनीसमेत दिए । उनले चाडवाड केन्द्रित विशेष सुरक्षा योजनालाई थप कडाइका साथ लागू गरिएको बताए ।

तिहारलाई पटाकारहित बनाउनु प्रहरीको पहिलो प्राथमिकता रहेको बताउँदै एसपी रानाले तिहारका बेला खेलिने जुवातास, लङ्गुरबुर्जा लगायतका अवान्छित गतिविधिले समाजमा विकृति फैलने, आर्थिक विचलन हुने र समाजमा आपराधिक क्रियाकलापलाई बढावा दिने भएकाले यस्ता गतिविधि नियन्त्रणमा प्रहरीले सुक्ष्म निगरानी थालेको पनि जानकारी दिए ।

सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारलाई अपराधरहित बनाउन घर वरपर कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दै एसपी रानालाई तिहारलाई ध्यानमा राखेर पटाका र जुवातास तथा अन्य विकृति रोक्ने योजना बनाइएको र सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको उल्लेख गरे ।

यसपटक यही मंसीर १ गते तिहारको भाइटीका परेको छ । तिहारको झण्डै एकसाता बाँकी रहँदा प्रहरीले शान्ति सुरक्षा कायम गर्दै पटाका र जुवातास तथा अन्य विकृति रोक्न प्रहरी परिचालन गरिसकेको एसपी रानाको भनाई छ । ‘तिहारमा जुवातास, देउसीभैलो र पटाका पड्काउने क्रम बढी हुने हुँदा उच्च सतर्कता अपनाएका छौं,’ उनले भने ।

 

यद्यपी यस बर्ष कोरोना महामारीका कारण स्थानीय प्रशासनले देउसीभैलो नखेल्न आग्रह गरिसकेको छ । तिहारका उद्देश्यले हुने कुनै पनि अपराधिक गतिविधिमा रोक लगाउने उल्लेख गर्दै एसपी रानाले भने, ‘पटाकारहित तिहार बनाउनुपर्छ, नागरिकहरुले पनि साथ दिनुपर्छ । हामी सबै जुटौँ, प्रहरीले मात्रै सबै सुरक्षा गर्न सक्तैन ।’

उनले तिहारका बेला नेपालगन्जमा हुने पटाका आतंक पूर्णरुपमा निषेध गर्न प्रहरी कडारुपमा प्रस्तुत हुने पनि बताए । ‘हामीले सीमाबाटै पटाका भित्रिन नदिन कठाई गरेका छौं । तिहारका बेला यहाँ पटाका पड्काउने बच्चा र उसका अभिभावकलाई समेत निगरानीमा राख्न थालिसकेका छौं, हामी कडा एक्सनमै जान्छौं,’ उनले भने ।

एसपी रानाले देउसीभैलो नखेल्न माइकिङ्ग गर्ने र अटेरी गर्ने समुहलाई कारबाहीको दायरामा ल्याउने समेत जानकारी दिए । उनले भने, ‘तिहारलाई कुनै पनि हालतमा पटाका र अवान्छित गतिविधिरहित बनाउछौं ।’ उनले तिहारलाई लक्षित मोटरसाइकल गस्ती र सादा पोशाक, मोवाइल गस्ती लगायतका टोली बनाएर ६५० बढी सुरक्षाकर्मीले निगरानी गरिरहेको बताए ।

तिहारमा जिल्लाभित्र हुनसक्ने चोरी, डकैती, अपराध लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्न विशेष सुरक्षा टोलीसमेत परिचालन गरिएको छ । पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्टमार्फत सुरक्षा अवस्था निगरानी गरिरहेको एसपी रानाले जनाए ।