Loading... आजः ९ मंसिर २०७७, मंगलवार
छाउपडी प्रथा

थारु समुदायभित्रको समानता, ‘न छुवाछुत, न छाउप्रथा’

थारु समुदायभित्रको समानता, ‘न छुवाछुत, न छाउप्रथा’

बाँके । पश्चिम नेपालका जिल्लाहरुमा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपी विभिन्न समयमा छाउपडी मुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडी मुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन । योसँगै महिनावारी भएर छाउगोठमा सुतेकी महिलाले मृत्युवरण गरेका समाचारहरु आउने क्रम पनि उस्तै छ ।

छाउगोठमा सुतेका बेला बलात्कृत हुनु, सर्पले डस्नुजस्ता घटनाहरु भइरहेका छन् । खासगरी महिनावारी भएका महिलालाई भान्सा कोठामा जान नदिने, खाना बनाउन नदिने, देवीदवताको पुजापाठ गर्नुहुँदैन भन्ने गलत मान्यताका कारण उनीहरुलाई घरभन्दा अलग गोठ (छाउगोठ) बनाएर सात दिनसम्म बस्न बाध्य पारिन्छ ।

महिनावारी भएका महिलाले छुँदा, सँगै बसेर खाँदा वा बस्दा देउता रिसाउने, अनिष्ट हुने जस्ता आरोप लगाइन्छ । तर पश्चिम नेपालको थारु समुदायका महिलाहरुले महिनावारी बार्दैनन् । पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा रहेको थारु समुदायमा यो छाउप्रथा चल्दैन । थारु समुदायका महिलाले अहिलेसम्म महिनावारी बार्ने गरेका छैनन् ।

महिनावारी हुँदा नुहाइ धुवाइ गर्छन्, खाना पकाउँछन्, पाहुना तथा घरका अन्य सदस्यलाई खुवाउँछन् र आफू पनि खान्छन् । उनीहरुलाई घरको कुनै कोठामा जान रोकटोक हुँदैन । थारु महिलालाई महिनावारी भएको बेला आफू हेपिएको र दुव्र्यवहार भएको अहिलेसम्म थाहा छैन । महिनावारी हुँदा र नहुँदा पनि परिवारको व्यवहार समान हुन्छ ।

त्यसैले पनि थारु महिलाहरु आफू हेपिएको वा फरक व्यवहार भएको ठान्दैनन् । बाँके बैजनाथ गाउँपालिका–१ की थारु महिला अस्मिता चौधरी भन्छिन्, ‘हामीलाई महिनावारीसँगै कुनै मतलब हुँदैन । महिनावारी हुँदा सरसफाईमा ध्यान दिन्छौं । हामीलाई परिवारबाट पनि कुनै प्रकारको रोकटोक हुँदैन ।’

महिनावारी हुँदा परिवारसँगै बसेर खानपानका साथै अन्य कामहरु गर्ने गरेको अस्मिताले बताइन् । उनले भनिन्, ‘छुवाछुत नमान्ने भएकोले महिनावारी भएका बेला पनि थारु महिलाहरु नुहाइ धुवाइ, सफासुग्घर भएर कुल देवता भएको कोठामा पनि जान्छन् । देवताको पुजा गर्छन्, यसमा रोकावट हुँदैन ।’

महिनावारी भएको बेलासमेत परिवारका सदस्यले समान व्यवहार गर्ने भएकोले अन्य दिनभन्दा कुनै फरक नपाएको बैजनाथ गाउँपालिका–१ कै जयन्ती चौधरीको भनाई छ । ‘अन्य समुदायजस्तो थारु समुदायमा महिनावारी बार्नुपर्दैन । महिनावारी बार्ने क्रममा जघन्य अपराध र मृत्युका घटनाले मलाई झस्काउँछ,’ उनी भन्छिन् ।

महिनावारी भएदेखि एकदिन पनि बार्न नपरेको बताउँदै उनले थारु समुदायले महिनावारीलाई सामान्यरुपमा लिने गरेको बताइन् । उनले भनिन्, ‘अन्य समुदायले पनि महिनावारी बार्नुहुँदैन ।’ थारु समुदाय प्रकृति पुजक भएकोले महिनावारीलाई प्रकृतिको वरदानको रुपमा लिएर यसलाई सामान्य रुपमा लिएको उनको भनाई छ ।

मानव अधिकारकर्मी सुशील चौधरीले थारु समुदायमा महिनावारी बार्ने चलन पहिलेदेखि नै नभएको बताए । हाल आएर अन्य समुदायको सिको गर्दै यदाकदारुपमा बार्ने चलन सुरु हुन थालेको उनको भनाई छ । उनले भने, ‘अहिले अन्य समुदायको सिको गर्न थालिएको छ । आमरुपमा थारु समुदायमा महिनावारी बार्ने चलन नै छैन । गलत परम्पराको सिको गर्नुहुँदैन ।’

अधिकारकर्मी चौधरीका अनुसार परिवारमा आमा, सासु वा महिला अभिभावकलाई मात्रै छोरी बुहारीको महिनावारी हुने समयबारे जानकारी राख्ने गर्छन् । ‘थारु समुदाय महिला प्रधान भएकाले पनि त्यसो भएको हुनसक्छ,’ उनले भने । महिनावारीको समयको हेक्का घरमुली महिलालाई मात्रै जानकारी हुन्छ ।

महिनावारी भएका महिलाको पोषणमा ख्याल गर्ने तथा उनीहरुलाई गह्रुँगो भारी बोक्न दिइँदैन । यो समुदायमा जातिय छुवाछुत पनि भेटिँदैन । यो समुदायमा तल्लो, उपल्लो, दलितजस्ता वर्गहरु छैनन् । राणा प्रधानमन्त्री जंगबहादुर राणाका पालामा ल्याएको मुलुकी ऐन १९१० मा मासिन्या (मतवाली) अर्थात् छोइछिटो लाउनु नपर्ने व्यस्वस्था गरिएको थियो ।

त्यसैको प्रभाव पनि हुनसक्छ, थारु समुदायभित्र छुवाछुत प्रथा छैन । थारु समुदायमा विवाह गर्दा पनि जात हेरिँदैन । जसले जुन जातसँग विहे गरे पनि स्वीकारयोग्य हुन्छ । कसले कुन जातको केटा वा केटीसँग विवाह गर्ने भन्ने नै हुँदैन । अधिकारकर्मी चौधरी भन्छन्, ‘अन्य समुदायभित्रको विवाहलाई पनि थारु समुदायले सहजै स्वीकार गर्छ ।’

पश्चिम नेपालमा छाउप्रथा कायमै रहेकोले तराईका आदिवासी थारु समुदायबाट अन्य समुदायले महिनावारी र जातिय छुवाछुतका बारेमा जान्नैपर्छ । ‘महिनावारीकै कारण धेरै किशोरी तथा महिलाले अकालमै ज्यान गुमाएका छन् । महिनावारीकै कारण बाँच्न पाउने अधिकार कुण्ठित गरिएको छ,’ ’ अधिकारकर्मी चौधरीले भने । मानिसले प्रकृतिले दिएजसरी नै स्वतन्त्ररुपमा बाँच्न पाउनुपर्ने उनको तर्क छ ।