Loading... आजः ९ मंसिर २०७७, मंगलवार
Trending:
संघर्षको कथा

दलित महिला सदस्य भन्छिन्, ‘साँच्चै घुम्टो उघारेर हेर्दा त जिन्दगी नै फरक रहेछ’

अहिले ४५ वर्ष पुगेकी रेखाको ४० वर्ष पनि यसैगरी घुम्टोभित्र रह्यो ।
दलित महिला सदस्य भन्छिन्, ‘साँच्चै घुम्टो उघारेर हेर्दा त जिन्दगी नै फरक रहेछ’

बाँके । नेपाली राम्रोसँग बोल्न आउँदैन । तर बोलेको प्रायः बुझ्छिन् । वडा कार्यालयमा आउने सेवाग्राहीसँग कुरा गर्छिन् । कार्यालयमा आउने कसैले आफ्नो जग्गा हडपेको पीडा सुनाउँछन् । कसैले घरमा बस्न नदिएको गुनासो सुनाउँछन् । घरायसी झैझगडाका कुरा पनि आइरहन्छन् ।

एकैदिन ८/९ वटा यस्तै झगडा आउँछन्, बाँकेको डुडुवा गाउँपालिका–२ को वडा कार्यालयमा । वडा कार्यालयमा यस्ता घटनाहरुको छलफल गरी मेलमिलाप गराउँछिन्, दलित महिला सदस्य रेखा खटीक । पालिकाको चुनावमा नेपाली काँग्रेसबाट निर्वाचित भएकी रेखा भन्छिन्, ‘पहिले नमस्कार गर्न पनि डर लाग्थ्यो । अहिले त दिनहुँ सेवाग्राहीसँग कुरा गर्छु ।’

उनी थप्छिन्, ‘पहिले बोल्नै डर लाग्थ्यो । अब त काठमाण्डौबाट आएका मान्छेसँग पनि कुरा गर्नसक्छु नि ! वडामै मेलमिलाप हुने घटना हामी सबै बसेर मिलाउँछौ, हामीले नसकेका गाउँपालिकामा पठाइदिन्छौँ । अहिले म त यस्तै काममा व्यस्त छु ।’

रेखाको फेरिएको दैनिकी

रेखाको अहिलेको दैनिकी पहिलेको भन्दा निकै फरक छ । पहिलेजस्तो अहिले बिहान उठेदेखि रातिसम्म घरखेतको काम गर्नुपर्दैन । बिहान उठ्ने घरको काम गर्ने । बिहान १० बजे वडा कार्यालय पुग्ने । साँझ कार्यालय बन्द भएपछि घर फर्कने रेखाको अहिलेको दैनिकी हो । त्यतिमात्र हैन कहिलेकाहीँ त घरदैलो पनि गर्नुपर्छ ।

अझ सभा, गोष्ठी, तालिम हुँदा पालिका वा त्योभन्दा बाहिर पनि जानुपर्छ । अहिलेको आफ्नो काम देखेर रेखालाई सपनाजस्तो पनि लाग्छ । ‘बिहान उठ्यो बारीको काम गर्यो, खाना खायो, फेरि काम, फेरि खाना पकायो, खायो सुत्यो । पहिले यसैगरी दिन बित्थे । अहिले त कार्यालयमा जान्छु, स्थानीय नागरिकका कुरा सुन्छु,’ रेखाले आफूले गर्ने काम सुनाइन् ।

घुम्टोभित्रको जीवन

मधेसी समुदायमा अहिले पनि घुम्टोले अनुहार छोप्ने चलन कायमै छ । गाउँघर जानहुँदैन, पुरुषसँग बोल्नहुँदैन भन्दै महिलाले घुम्टोले टाउको र अनुहार छोप्ने गर्छन् । अहिले ४५ वर्ष पुगेकी रेखाको ४० वर्ष पनि यसैगरी घुम्टोभित्र रह्यो । उनले माइती, आफ्नो घर खेतबारी भन्दा परको संसार देखेकी थिइनन् । घुम्टोभित्र रहँदा रेखालाई लाग्थ्यो, योभन्दा पर पनि केही छ र ? हाम्रो संसार यही हो ।

‘काम गर्दा, खाना पकाउँदा, खाना खाँदा घुम्टोले अनुहार छोप्नैपर्ने । जेठाजू, ससूरालाई त अनुहार नै देखाउन नमिल्ने । यसरी सबैसँग बोलचाल गर्न र घुम्टो उघारेर हिँड्न पाउनु त भाग्यको कुरा हो नि,’ मुसुक्क हाँस्दै उनले भनिन्, ‘टाउकोमा घुम्टो म अहिले पनि राख्छु । मलाई सहज लाग्छ । तर अनुहार नै छोपेर घरभित्रै बस्दिनँ ।’

 

घुम्टो उघारी हेर्दा…

घुम्टोभित्र अल्झिएकी रेखालाई गाउँकै नेता बन्ने आँट आफैं आएको हैन । स्याक नेपाल बाँके र अक्सफामले डुडुवा गाउँपालिका–२ मा महिला तथा बालिकामाथि हुने हिंसाविरुद्धको अभियान अन्तरगत सामुदायिक छलफल केन्द्र सञ्चालनमा ल्यायो । २०७३ सालमा सञ्चालनमा आएको छलफल केन्द्रमा महिलालाई भेला गरेर एकअर्कामा बोल्न सिकाउन थालियो ।

गाउँटोलमा हुने सभा, समारोहमा महिलाले पनि जानुपर्छ, आफूलाई लागेको कुरा भन्नुपर्छ भन्नेबारे सिकाइयो । घुम्टो बाहिरको जीवनबारे सिकाइयो । महिलाका अधिकार के हुन्, आफूमाथि अन्याय भए के गर्ने, महिला हिंसा के हो, बालविवाह गरे के हुन्छ भन्नेबारे पनि थाहा पाए । सामुदायिक छलफल केन्द्रमा जान थालेपछि रेखाले घुम्टो उघारेर हेर्न थालिन् । गाउँमा परिवारभित्रैबाट पीडामा परेका थुप्रै महिलाहरुको पीडा सुन्न थालिन् ।

गाउँमा झैझगडा हुँदा उनले आफैं सम्झाउन थालिन । सुरुमा घरघर जान चुनौती भए पनि रेखाले सम्झाउने काम छोडिनन् । छलफल केन्द्रमा सिकेका कुरा श्रीमानलाई सिकाउन थालिन् । रेखा भन्छिन्, ‘त्योभन्दा पहिले मलाई केही थाहा थिएन । घुम्टोभित्र रहेकी मैले सामुदायिक छलफल केन्द्रमा जान थालेपछि धेरै कुरा सिकेँ । साँच्चै घुम्टो उघारेर हेर्दा त जिन्दगी नै फरक रहेछ ।’

सहयोगी श्रीमान

रेखा कार्यालय जाँदा उनका श्रीमान चेतराम बारीको काम गर्छन् । दिनभरि खेतबारीको काम गरेर पसल पनि हेर्छन् । साँझ बिहानको काम भने रेखा र चेतराम दुवैजना मिलेर गर्छन् । ‘अहिले म महिला पनि अघि बढ्नुपर्छ, छोरीहरुलाई पनि पढाउनुपर्छ भन्दै समाजका मान्छेलाई सिकाउँछु पनि । यहाँसम्म पुग्न श्रीमानको साथ महत्वपूर्ण छ,’ रेखाले भनिन् ।

रेखा र चेतरामका दुई छोरा र दुई छोरी छन् । श्रीमती वडा सदस्य भएकोमा रेखाका श्रीमान चेतराम पनि निकै खुसी छन् । ‘श्रीमती झोला बोकेर कार्यालय जान्छिन्, म कोदाली समातेर बारीमा जान्छु । घरको काम मिलेर गर्छौं । निकै खुसी छौँ’ चेतरामले भने । मधेसी समुदायमा अझै पनि धेरै कुसंस्कारहरु रहेको पनि चेतरामले बताए ।