Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:
स्थानीय सरकारको बेवास्ता

नेपालगन्जको फुटपाथ, ‘हिँड्न कि व्यापार गर्न ?’

फस्टायो फुटपाथ व्यापार, नेतादेखि सरकारी कर्मचारीसम्म फुटपाथ पसलका ग्राहक, पैदल यात्रुलाई भने जोखिम
नेपालगन्जको फुटपाथ, ‘हिँड्न कि व्यापार गर्न ?’

बाँके । साँझ पर्दै जाँदा नेपालगन्जका सडकहरुमा चहलपहल बढ्दै जान्छ । कोही गन्तव्यतर्फ लम्किरहेका हुन्छन् त कोही मनोरञ्जनका लागि टहलिन निस्कन्छन् । कोही भने यसै समयमा फुटपाथमा पसल राखेर व्यापार गर्ने ध्याउन्नमा हुन्छन् । साँझको समयमा भीडभाड बड्दै जाँदा फुटपाथमा व्यापार सुरु हुन्छ । जसका कारण साँझको समयमा नेपालगन्जको आवागमन प्रभावित हुन्छ ।

फुटपाथमा हुने यस्ता व्यापारले धेरैको गाँस र बासको व्यवस्था गरेको छ । तर पैदल यात्रु लगायत सडक प्रयोगकर्तालाई सास्ती दिएको छ भने सहरी सौन्दर्यलाई पनि असर गरेको छ । फुटपाथमा गरिने व्यापारका कारण पैदल यात्रुहरुलाई सडकमा हिँड्न समस्या भएको छ । यो कुरा नेपालगन्ज उपमहानगरपालिकालाई राम्रैसँग थाहा छ । उपमहानगरपालिकाले पटक–पटक फुटपाथ व्यापारीहरुको सामान जफत पनि गर्ने गरेको छ । तर, उनीहरुले टेरेका छैनन् ।

नेपालगन्जको मुख्य बजारका रूपमा रहेको धम्बोझी, बिपी चौक, त्रिभुवन चोक, सदरलाइन, बागेश्वरी मन्दिर क्षेत्र नयाँ सडक र सुर्खेतरोडमै यस्तो समस्या बढी देखिएको छ । सदरलाइन, त्रिभुवन चोक, बागेश्वरी मन्दिर आसपासको सडकपेटी ज्यादै साघुँरो छ । अति व्यस्त मानिने नेपालगन्जका यी स्थानमा साँझको समयमा सञ्चालनमा आउने फुटपाथ पसलका कारण पैदल यात्रु मर्कामा पर्ने गरेका छन् ।

फुटपाथ व्यापारीले कब्जा गरेपछि पैदल यात्रुहरु फुटपाथ छाडेर मूल सडकबाट हिँड्न बाध्य छन् । जसका कारण सडक दुर्घटना हुने सम्भावना समेत बढाएको छ । तर, नेपालगन्ज उपमहानगरपालिकाले यसलाई व्यवस्थापन गर्न सकिरहेको छैन । सडकमा व्यापार गर्नेहरुका कारण सडक फोहोर हुने गरेको छ । सडकमै ठेलामा खाने कुरा बेच्ने र त्यसको फोहोर सडकमै फालिँदा प्रदूषण बढेको स्थानीयहरु बताउँछन् ।

कहिलेकाँही फुटपाथ व्यवसायीलाई उठाएजस्तो गरे पनि उपमहानगरपालिका फुटपाथमा हुने व्यापार व्यवास्थानपन र नियन्त्रणका लागि भने मौन जस्तै देखिएको छ । फुटपाथमा हुने व्यापार, जथाभावी पार्किङ तथा सडकमा निर्माण सामग्री राख्नेजस्ता कार्य हुँदासमेत उपमहानगरपालिकालाई कुनै वास्ता छैन । नेपालगन्ज उपमहानगरपालिका मातहत रहेको नगर प्रहरीले पनि फुटपाथ अतिक्रमणलाई हटाउन कुनै चासो नदेखाएको स्थानीयहरु भनाई छ ।

फुटपाथ अतिक्रमण र जथाभावी हुने पार्किङलाई नियन्त्रण गर्न नगर प्रहरीले सक्रियता नदेखाएको नेपालगन्ज–१ धम्बोझीका गणेश शर्माले बताए । उनले भने, ‘नगर प्रहरी जागिर खाएर तलब मात्रै कसरी पकाउने भन्ने मानसिकताभन्दा माथि उठ्न सकेको छैन । नेपालगन्जका सडकहरु फुटपाथ व्यापारले भरिएका छन् । तर, नगर प्रहरीले फुटपाथमा हुने व्यापार नियन्त्रणका लागि कुनै चासो देखाएको छैन ।’

नेपालगन्ज उपमहानगरपालिका मातहत रहेको नगर प्रहरीका इन्स्पेक्टर सूर्य बोगटीले फुटपाथ अतिक्रमण नियन्त्रणमा लागिपरेको बताए । उनले फुटपाथमा हुने व्यापार नियन्त्रणका लागि पनि छलफल भइरहेको बताउँदै नेपाल प्रहरीसँग पनि यस विषयमा समन्वय भइरहेको जानकारी दिए । ‘हामीले फुटपाथ हटाइरहेका छौं, यसका लागि जनपथ प्रहरीसँग पनि समन्वय गरिरहेका छौं,’ इन्स्पेक्टर बोगटीले भने ।

उनले जथाभावी हुने पार्किङलाई समेत नियन्त्रण गर्न ट्राफिक प्रहरीसँग समन्वय र सहकार्यसमेत भइरहेको बताए । विगतमा सामान जफत गर्ने लगायतका काम गर्दा पनि नरोकिएकाले अब नयाँ योजना बनाउने तयारी भइरहेको उनको भनाइ छ । ‘फुटपाथमा कुनै पनि किसिमको व्यापार, पार्किङ तथा सामान राख्न पाइँदैन,’ उनले भने, ‘हामी पुटपाथ नियन्त्रणका लागि कडाईका साथ लागिपरेका छौं ।’

फस्टायो फुटपाथ व्यापार

फुटपाथ व्यवसालाई नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थित गर्न नसक्दा नेपालगन्जका मुख्य सडकका सडकपेटीमा फुटपाथ व्यापार फस्टाउँदो क्रममा छ । नेपालगन्ज–कोहलपुर सडक खण्डको कारकाँदो चोकदेखि गणेशमान चोकसम्मका मुख्य–मुख्य क्षेत्रमा पुटपाथ व्यवसाय निकै फस्टाएको छ । ‘ग्राहकलाई किनमेलमा त सहज होला, दुर्घटनाको जोखिम भने निकै छ,’ नेपालगन्ज–१८ कारकाँदोका श्याम वलीले भने ।

फुटपाथ पसलले सडकपेटी बन्दजस्तै हुँदा पैदलयात्रुलाई भने असहज भएको छ । फुटपाथ पसलहरुमा ग्राहकको दैनिक बाक्लो भीड हुन्छ । कोरोना कहरका बेला खुला ठाउँमा व्यापारीहरूले पसल थाप्न थाल्दासमेत उपमहानगरपालिका मौन छ । फुटपाथ व्यवसायीले सडकपेटीमै फिँजाएर तरकारी मात्रै नभएर लत्ताकपडादेखि जुत्ताचप्पलसम्म ग्राहकलाई बेच्दै आए पनि नगर प्रहरी मौन बसेको स्थानीयहरुको आरोप छ ।

नेतादेखि सरकारी कर्मचारीसम्म ग्राहक

फुटपाथमै सामान राखेर बिक्री गर्दा अहिले धेरैलाई किनमेल गर्न सजिलो छ । सटरमा राखिने महङ्गो सामानका आइटमभन्दा फुटपाथमा राखिएका आइटमहरु सस्तो हुनाले किनमेल गर्न ग्राहकको भीडभाड हुन थालेको छ । फुटपाथ पसलमा सर्वसाधारण मात्रै होइनन्, नीति बनाउने नेतादेखि नीति कार्यान्वयन गर्ने सरकारी कर्मचारीहरूसम्म ग्राहक बनेर आउने गर्छन् । उनीहरु दैनिकजसो किनमेल गर्न फुटपाथकै पसलमा पुग्ने गर्छन् ।

नेकपाका एक जना जिल्ला तहका नेताले नाम नछाप्ने शर्तमा दैनिक जरुरी सामान किन्न फुटपाथ पसलले सहज गराएको तर्क गरे । बिपी चौकस्थित उपमहानगरपालिकाकै अगाडी छरपष्ट राखिएका फुटपाथ पसलमा सामान किन्दै गरेका उनले भने, ‘फुटपाथ व्यवसायका कारण ग्राहकलाई केही सस्तो र सहज त बनाएको छ । तर, सडक दुर्घटनाको जोखिम उस्तै छ । उपहानगरपालिकाले फुटपाथलाई व्यवस्थित गर्न जरुरी छ ।’

बिहीबार तरकारी किनमेल गर्न बिपी चौकको फुटपाथ पसलमा पुग्ने उनीमात्रै होइनन्, उपमहानगरपालिकाकै कर्मचारीदेखि सामाजिकरुपमा प्रतिष्ठित व्यक्तिहरुसमेत ग्राहक बनेर फुटपाथ पसलमै पुग्ने गर्छन् । उपमहानगरपालिकाकै एक जना कर्मचारी पनि फुटपाथे पसलमै सामान किन्दै थिए । उनले नाम नछाप्नुहोला भन्दै सस्तो दर र सहजरुपमा किनमेल गर्न सकिने हुँदा आफू फुटपाथ पसलमै किनमेलका लागि आएको बताए ।

पैदल यात्रुलाई जोखिम

त्यसो नेपालगन्ज उपमहानगरपालिकाका अधिकांश सडकपेटी पैदल यात्रुमैत्री छैनन् । जोखिम मोलेर यात्रुले मुख्य सडकबाटै हिड्नुपर्ने बाध्यता छ । निर्माण भएका सडकपेटीमा व्यवसायीले सामान राखेर हिड्नै नमिल्ने बनाउने गरेका छन् । यसतर्फ भने नेपालगन्ज उपमहानगरपालिकाको प्रभावकारी ध्यान जान नसक्दा पैदल यात्रुको जीउज्यान नै जोखिममा पर्ने गरेको स्थानीहरु बताउँछन् ।

नेपालगन्जको मुख्य बजारका रूपमा रहेको धम्बोझी, बिपी चौक, त्रिभुवन चोक, सदरलाइन, बागेश्वरी मन्दिर क्षेत्र नयाँ सडक र सुर्खेतरोडमै यस्तो समस्या बढी देखिएको छ । सदरलाइन, त्रिभुवन चोक, बागेश्वरी मन्दिर आसपासको सडकपेटी ज्यादै साघुँरो छ । दुई पैदलयात्रु क्रस हुन मुस्किल पर्ने गरेको छ । त्यसैमाथि स्थानीय व्यवसायीले सडकपेटीमै पसल राख्ने गरेपछि झनै समस्या बढेको छ ।

विपरीत दिशाबाट आउँदै गरेकालाई पालो दिएरमात्रै आफू अघि बढ्ने संरचना छन् । बाटो काट्न र गन्तव्य पुग्ने संरचना मापदण्ड अनुसार नहुँदा सवारी चालकले पनि दिनहुँ समस्या झेल्नुपर्ने बाध्यता रहेको सवारी चालक इश्वरी शर्मा बताउँछन् । सडक मापदण्ड, २०७० अनुसार १५ मिनेटमा सडकपेटीमा ५०० जना पैदल यात्रु हिँड्ने भएमा १ दशमलव ५ मिटरको चौडाइ भएको फुटपाथको व्यवस्था गरिनुपर्ने प्रावधान छ ।

एक हजार ५०० सम्म पैदल यात्रु हिँड्ने भएमा दुई मिटर र २५ सयसम्म यात्रु हिँड्ने भएमा साढे दुई मिटरको हुनुपर्ने व्यवस्था छ । ३५ सयसम्म यात्रुको ओहोरदोहोर हुने सडकपेटीको चौडाइ तीन मिटरको हुनुपर्छ । तर, बाँकेको नेपालगन्जमा यस्तो मापदण्ड अनुसार सडकपेटी बनेका छैनन् । बनाउँने तर्फपनि कसैले चासो देखाएका छैनन् । सदरलाइन, पासाङ ल्हामुमार्ग, फुलटेक्रा जाने सडकमा त प्रभावकारी सडकपेटी नै छैन ।

भएका पनि अतिक्रमणमा परेर पैदल यात्रुले हिड्न त के हेर्नसमेत नसकिने अवस्थामा छन् । अधिकांश पेटी साँघुरो भएकाले एकजनासमेत हिँड्न मिल्दैन । पछिल्लो समयममा स्तरोनन्ति गरिएको सुर्खेतरोडमा समेत व्यवसायीले अतिक्रमण बढाएका छन् । ‘मापदण्ड अनुसार सडकपेटी नभएको सत्य हो,’ उपमहानगरपालिकाका स्रोतले भन्यो, ‘सडक विस्तार गर्ने बेलामा सवारी गुड्ने संरचनालाई प्राथमिकतामा दिँदा समस्या बढ्न थालेको हो ।’

उनकाअनुसार बढ्दो जनघनत्वले नेपालगन्जमा यस्तो समस्या आएको हो । सडकपेटीमा यात्रुले पहिलो प्राथमिकता पाउनुपर्ने भए पनि विद्युत र टेलिफोनका पोलसँगै बोट विरूवा रोप्दा समस्या बढ्ने गरेको छ । सडकपेटी ओगटेर मोटरसाइकल र सवारी पार्किङ गर्ने र सार्वजनिक सेवा प्रदायक निकायले सवारी पार्किङको सुविधा उपलब्ध नगराउँदा समस्या बढिरहेको छ । बेमौसमी रूपमा उपमहानगरपालिकाले सडकपेटी खाली गर्न लगाए पनि दिर्घकालिन समस्या समाधान भने हुन सकेको देखिदैन ।